मुद्दाको सुनुवाई भइरहँदा ‘सिद्धबाबा’ भने सुटुक्क भारतमा

माघ ९, विराटनगर । उच्च अदालत विराटनगरमा मुद्दाको सुनुवाई भइरहेकै बेला ‘सिद्धबाबा’ भनिने कृष्णबहादुर गिरी सुटुक्क भारततर्फ लागेका छन् । आफ्नी अनुयायीलाई बलात्कार गरेको आरोप लागेका सिद्धबाबाविरुद्ध उच्च अदालत विराटनगरमा मुद्दाको सुनुवाइ जारी छ ।   

बिहीबार उनीविरुद्धको मुद्दाको पेसी उच्च अदालत विराटनगरमा मुख्य न्यायाधीश तिलप्रसाद श्रेष्ठ र न्यायाधीश हरिप्रसाद बगालेको इजलासमा चलिरहेका बेला गिरी आफुसंग रहेका सुरक्षा गार्डलाई फिर्ता गरेर भारत पुगेका हुन् । 

सुनसरी चतरास्थित आश्रमबाट विराटनगर जाने भन्दै हिडेका गिरीमाथि प्रहरीले सामान्य निगरानी राखेको थियो । उनको सुरक्षाका लागि जिल्ला प्रहरी कार्यालय सुनसरीले एक हवल्दारलाई खटाएको छ । 

हवल्दारसहित सीमावर्ती क्षेत्र रानीबाट भारतीय बजार जोगवनी पुगेका गिरीले सुरक्षाकर्मीलाई फिर्ता पठाएर भारततर्फ लागेका बताइएको छ ।   

उनले नाकाबाट सुरक्षागार्ड नेपाल प्रहरीका हवल्दार मुकेश साहलाई फिर्ता पठाएका थिए । जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार उनी दिउँसो करिब १ बजे भारततर्फ लागेका हुन् । रानीबाट दक्षिणतर्फ लागेका सिद्धबाबा कहाँ गए भन्ने केही जानकारी नभएको मोरङ प्रहरीले बताएको छ ।   

सिद्धबाबाका अनुयायीहरुले भने सिद्धबाबा उपचारका लागि दिल्ली गएको बताएका छन् । विराट नर्सिङहोमबाट रेफरपूर्जी बनाएर उनी थप उपचारका लागि दिल्ली लागेको स्रोतले बताएको छ । रामानन्द आचार्य सेवा पीठका अध्यक्ष गणेश विरहीले पनि सिद्धबाबा दिल्लीतर्फ गएको जानकारी दिएका छन् ।   

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *