चन्द्रागिरिमा बृहद राष्ट्रशान्ति कोटी हवन महायज्ञ हुँदै, सरकारको प्राथमिकतामा धार्मिक पर्यटन: मन्त्री भट्टराई

माघ ४, काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री योगेश कुमार भट्टराईले भिजिट नेपाल–२०२० अभियान सफलतार्फ उन्मुख रहेको बताएका छन् ।   

उनले सरकारले नेपाल भ्रमण वर्षलाई सफल तुल्याउनको लागि धार्मिक पर्यटनको विकासमा समेत विशेष ध्यान दिएको सुनाए । ‘नेपालमा रहेका प्राकृतिक सम्पदा हेर्नको लागि विश्वभरिका पर्यटकहरु आउनेमा हामी विश्वस्त छौं ।’–उनले भने । उनले धार्मिक पर्यटनले भ्रमण वर्ष–२०२० सफल बनाउन टेवा पुग्ने स्पष्ट पारे । 

शनिबार बृहद् राष्ट्र शान्ति कोटी हवन महायज्ञ एवं चन्द्रागिरी धार्मिक पर्यटन वर्ष महोत्सव–२०७६ मूल समारोह समितिले आयोजना गरेको पत्रकार सम्मेलनमा प्रमुख अतिथिको रुपमा सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले नेपाल हिन्दू र बौद्धिष्ट दुवैको आस्था केन्द्रको रुपमा विश्वमै परिचित रहेको सुनाए ।   

‘अहिले विभिन्न देशहरुमा जातीय तथा धार्मिक द्वन्द्व भैरहेका छन्, तर नेपाल यसबाट सुरक्षित छ ।’–उनले भने, ‘हाम्रो देश सानो देश भएपनि सांस्कृतिक, सामाजिक र धार्मिक रुपमा हामी धनी छौं । हामीसँग विभिन्न जातजाति छन्, तर जातीय रुपमा विविधिता भएपनि हामीभित्र एकता छ ।’ 

उनले नेपालमा सबै धर्मले एकैसाथ पूजा गर्ने स्थलपनि रहेको उल्लेख गरे । मन्त्रालयले धार्मिकस्थल र तिनीहरुको संरक्षणको लागि बजेट छुट्याएको उनले जानकारी दिए । विश्वभरिबाट नेपालको धार्मिक यात्रामा आउने विभिन्न धर्मका मानिसहरु यहाँ सुरक्षित हुनेपनि उनले विश्वास दिलाए । ‘र, सहज ढंगले आवातजावत गर्न सकेका छन् ।’–मन्त्री भट्टराईले थपे ।   

उनले वर्तमान सरकारले हरेक किसिमका आलोचना सहेर अघि बढिरहेको पनि सुनाए । तर, बाहिर आलोचना भएपनि सरकारले विकास र समृद्धिको लागि द्रुत गतिमा काम गरिरहेको उनको जिकिर थियो । ‘भ्रमण वर्षको सुरुवातकै दिनमा हामीले १ सय ८ शंख फुकेका थियौं । यो भ्रमण वर्षलाई सफल पार्न पशुपति क्षेत्र विकास कोष र लुम्बिनी विकास कोषले राम्रोसँग काम गरिरहेका छन् ।’  

उनले आगामी फागुन १ गतेदेखि फागुन ९ गतेसम्म चन्द्रागिरि नगरपालिकाकै ऐतिहासिक बृहद् राष्ट्र शान्ति कोटी हवन महायज्ञ एवं चन्द्रागिरि धार्मिक पर्यटन वर्ष महोत्सवलाई पूर्ण रुपमा सफल बनाउनको लागि सहयोग गर्नेपनि घोषणा गरे ।   

त्यस्तै, उनले शिवरात्री पनि नजिकिँदै गरेको सुनाउँदै यसलाई भव्य रुपमा सफल पार्न र मनाउनको लागि सरकार अहिलेदेखि नै लागिपरेको सुनाए ।   

कार्यक्रममा ज्योतिष डा. रुद्रनाथ अधिकारीले नेपाल भ्रमण वर्ष–२०२० लाई सफल तुल्याउनको लागि पनि राज्यले धार्मिक पर्यटनको विकासमा विशेष ध्यान पुर्याउनुपर्नेमा जोड दिए । ‘नेपालमा सबैभन्दा बढि सम्भावना भएको क्षेत्र पर्यटन र जलस्रोत भनिँदै आएको छ । तर, यसको विकासको लागि यो क्षेत्रलाई प्रभावकारी बनाउनको राज्यले ध्यान दिएको छजस्तो मलाई लाग्दैन् । भ्रमण वर्षलाई सफल तुल्याउनको लागि पनि धार्मिक पर्यटन आवश्यक छ ।’  उनले भने । 

उनले नेपाल धार्मिक र जैविक विविधिता भएको देश भएकोले आफूहरुसँग राज्यले धर्म पर्यटनबारे छलफल नगरेकोमा भने दुःख व्यक्त गरे । ‘यो धार्मिक पर्यटनको देश हो । सरकारले यसलाई समावेश गरेर लैजानुपर्छ । अनिमात्रै भ्रमण वर्ष सफल हुन्छ ।’–उनले थपे ।   

चन्द्रागिरी नगरपालिका काठमाडौंभित्र रहेको सबैभन्दा महत्वपूर्ण धार्मिक तथा पर्यटनको महत्व बोकेको क्षेत्र भएको पनि अधिकारीको भनाई छ । ‘यो क्षेत्रको विकास हुनुपर्छ । यो आजको आवश्यकत्ता हो । यसप्रति सरकारको ध्यान जाओस् । हामी यो महायज्ञमा भ्रमण वर्षसँग जोडेर हवन गर्नेछौं।’ 

कार्यक्रममा श्री १००८ स्वामी भागवत आचार्यले नेपाल भ्रमण वर्षलाई आफूहरुले आयोजना गर्न लागेको यज्ञले सहयोग पुर्याउँने विश्वास दिलाए । ‘यो धार्मिक कार्यमा सम्बन्धित मन्त्रालयले यसमा आर्थिक सहयोग र योगदान पुर्याओस भनेर आग्रह र अपेक्षा राखेका छौं ।’–उनले भने ।   

उनले उक्त यज्ञमा भारत उत्तरप्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथलाई पनि आमन्त्रण गरेको सुनाए । त्यतिमात्रै नभएर भारतका विभिन्न मठ, मन्दिरका पीठाधिश, मठाधिशलाई पनि निमन्त्रणा गरिएको उनले जानकार दिए ।   

  

समितिका अध्यक्ष राजाराम थापाले भ्रमण वर्षलाई नै टेवा पुर्याउनेगरि आफूहरुले उक्त महायज्ञ तथा पर्यटन महोत्सवको आयोजना गर्न लागेको सुनाए ।   

  

  

समितिका अनुसार दैनिक कोटी हवन विहान ७ बजेदेखि मध्यान्ह १२ बजेसम्म र अपरान्ह २ बजेदेखि ५ बजेसम्म रहेको छ । उक्त महायज्ञमा एक करोड दीप प्रज्वलन गरिनेछ भने कथा वाचन विहान ११ देखि अपरान्ह ४ बजेसम्म हुनेछ ।   

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *