सूर्तीजन्य पदार्थका विरुद्ध ऐन–२०६८ कडाईका साथ लागु गर्न माग

जेठ १ काठमाडौं । सूर्तीजन्य पदार्थका विरुद्ध ऐन–२०६८ लागु गर्न सकिए हजारौं मानिसलाई क्यान्सरलगायत नसर्ने रोगबाट बचाउन सकिने सरोकारवालाहरुले बताएका छन् । बुधबार ललितपुरस्थित क्वेष्ट ईन्टरनेश्नल कलेजमा क्यान्सर काउन्सिल नेपालले आयोजना गरेको ‘सुर्तीजन्य पदार्थ रोकथाम तथा जनचेतनामूलक’ कार्यक्रममा बोल्दै बरिष्ठ क्यान्सर रोग विशेषज्ञ प्रा.डा. बिष्णुदत्त पौडेलले सरकारले कडाईका साथ उक्त ऐन कार्यान्वयन गर्नुपर्नेमा जोड दिएका हुन् । 

उनकाअनुसार नेपालमा प्रत्येक वर्ष ३५ हजारले सुर्तीजन्य पदार्थको सेवनको कारणले अकालमा ज्यान गुमाउनु परेको छ । त्यस्तै, लाखौं रुपैयाँ क्यान्सर तथा नसर्ने रोगहरुको उपचारमा खर्चिनु परेको पनि बाध्यतात्मक अवस्था डा. पौडेलले सुनाए । 

‘दिनदिनै सुर्तीजन्य पदार्थको उपयोग बढिरहेको विभिन्न अध्ययन तथा अनुशन्धानले देखाएको छ। यो अत्यन्तै दुःखदायी कुरा हो ।’ उनले भने–‘यसप्रति सरकार सचेत हुनुपर्छ । पर्याप्त ज्ञानको अभावका कारण र साथीहरुको गलत संगतले गर्दा किशोरकिशोरीहरु सुर्तीजन्य पदार्थको सेवनको लतमा लागेका छन् ।’ 

null

 

कार्यक्रममा काउन्सिलका अध्यक्ष रुद्रलाल कडरियाले क्यान्सरलगायत नसर्ने रोगहरुको रोकथामको लागि जनचेतनामूलक कार्यक्रम सञ्चालनका लागि जोड दिनुपर्ने बताए । उनले सुर्तीजन्य पदार्थ रोकथामको लागि नागरिकस्तरबाटै सशक्त अभियानको रुपमा विभिन्न प्रभावकारी कार्यक्रमहरु चलाउनुपर्ने पनि जोड दिए । ‘यस्ता कार्यक्रममार्फत मुटु र क्यान्सरलगायत नसर्ने रोगहरुको उपचारमा लाग्ने खर्चसमेत न्यूनीकरण गर्न सकिन्छ ।’ उनले भने । 

कार्यक्रममा ग्लोबल आईएमई बैंकका बजार प्रबन्धक सुदर्शनराज गुरुङले वित्तिय साक्षरताको बारेमा प्रकाश पारेका थिए । उनले प्रत्येक नेपाली वित्तिय रुपमा सवल बन्नुपर्नेमा जोड दिए । 

त्यस्तै, गुरुङले सुर्तीजन्य पदार्थको सेवन गर्नुको साटो बचत गर्ने बानी बसाल्नतर्फपनि युवा पुस्तालाई प्रोत्साहन गरेका थिए । उनले क्यान्सर काउन्सिल नेपालले सञ्चालन गर्दै आएको जनचेतनामूलक कार्यक्रमप्रति आफूहरुको ऐक्यबद्धता रहेको र आगामी दिनमा पनि सहकार्य गर्दै अघि बढ्ने विश्वास दिलाए । 

काउन्सिलले पवित्र उद्देश्य राखी सञ्चालन गर्दै आएको कार्यक्रम विशुद्ध सामाजिक कार्य भएकोले आगामी दिनमा अझै यस्ता कार्यक्रमलाई बढिभन्दा बढि जनताका बीचमा लैजानुपर्ने पनि उनले सुझाए । 

सरकारले अघि सारेको ‘समृद्ध नेपाल, सुखी नेपाली’ को अभियानलाई पनि यस्ता खाले कार्यक्रमले टेवा पुग्ने उनको विश्वास थियो । आयोजकका अनुसार आजको कार्यक्रमको प्रायोजन भने ग्लोबल आईएमई बैंकले गरेको हो । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *