आकासियो कुखुराको मासुको मुल्य

माघ २४, चितवन । करिब एक महिना अघिसम्म २ सय ६० रुपैयाँमा बिक्री भइरहेको ब्रोइलर कुखुराको मासुको मूल्य अहिले प्रतिकिलो ४ सय रुपैयाँसम्म पुगेको छ । उत्पादकले भने जिउँदो कुखुरा प्रति केजी २ सय ३५ रुपैयाँमा बिक्री गर्ने गरेका छन् ।   

बिचौलियाको दलदलमा फस्दै आएको पोल्ट्रीजन्य बस्तुको बजार यतिखेर नियन्त्रण बाहिर छ । बिचौलियाहरुले विभिन्न वहानामा मासु तथा अण्डाको मूल्यलाई तल माथि पु¥याइरहन्छन् । यस कारण हुन्छ, कहिले बजार अभाव त कहिले उत्पादन बढी ।   

बजारमा कुखुराको मासुको मूल्यमा चरम वृद्धि भइरहँदा उत्पादकहरुले भने लागत भन्दा करिब १४ रुपैयाँ मात्रै बढी मूल्य पाएका छन् । कुखुरा पालक संघका अध्यक्ष झनक पौडेल एक किलोग्राम मासु उत्पादन गर्न २ सय २६ रुपैयाँ खर्च हुने बताउँछन् । उनका अनुसार प्रायः उत्पादकले केही महिना यता प्रति केजी २ सय ३५ रुपैयाँ पाइरहेका छन् । “विगतमा लागत उठाउनै नसकेर धेरै किसानहरु पलायन भए”, उनले भने, “केही समय देखि लागत पाउन थालेका छन् । तैपनी यतिले पुगेको छैन ।” बिचौलियाले बजारमा अस्वभाविक मूल्यवृद्धि गराउँदा यसको दोष किसानलाई आउने गरेको उनले गुनासो गरे । 

सरकारले मूल्य निर्धारण गरेर कार्यान्वयनमा नल्याउँदासम्म यो अवस्था रहिरहने उनी बताउँछन् । “कुखुरा पालक किसानहरुलाई ह्याचरी, दाना उद्योग र सप्लायर्सहरु सबैले धरासयी बनाउँदैछन्”, उनी भन्छन्, “यति लापरबाही हुँदा पनि राज्यले केही गर्दैन ।” बजारमा मूल्य बढ्नुमा सबै दोष ह्याचरी, दाना उद्योग र सप्लायर्सहरुको रहेको उनले बताए । 

पोल्ट्री व्यवसायी मदन पोखरेल भने मूल्यवृद्धिलाई स्वभाविक मान्छन् । केही महिना अघिसम्म मूल्य नपाएर पलायनको अवस्थामा पुगेका किसानले थोरै भएपनि राहतको महसुस गरेको उनी बताउँछन् ।   

पोल्ट्रीजन्य बस्तु उत्पादनको केन्द्र चितवनमा मासुको मूल्यले आकास छुँदै गर्दा अण्डा उत्पादकहरु भने लागत मूल्य नपाएर निरास छन् । अण्डा उत्पादनको लागत प्रतिगोटा ११ रुपैयाँ भन्दा बढी छ । तर किसानहरुले प्रतिगोटा बढीमा १० रुपैयाँ मात्रै पाइरहेका छन् । बजारमा भने प्रतिगोटा २० रुपैयाँ सम्ममा बिक्री भइरहेको छ । अण्डा उत्पादक संघले गत पुस १९ गते अण्डाको बजार मूल्य निर्धारण गरेको थियो । त्यतिखेर अण्डाको मूल्य १३ रुपैयाँ तोकिएको थियो । तर बजारमा १३ रुपैयाँमा अण्डा पाइँदैन । पाँच वर्ष अघि ३ सय ७० रुपैयाँ सम्म पुगेको अण्डाको मूल्य अहिले प्रतिक्रेट ३ सय ५ रुपैयाँ छ । दानाको मूल्य पाँच वर्ष अघि ३५ रुपैयाँमा प्रतिकिलो रहेकोमा अहिले ५७ रुपैयाँ पुगेको छ । 

अण्डा उत्पादक  संघका अध्यक्ष शिवराम केसी नेपाल सरकारले आधिकारिकरुपमा मूल्य निर्धारण गरेर कार्यान्वयनको निगरानी गर्ने परिपाटि सुरु नहुँदासम्म बजारको अस्तव्यस्तता नहट्ने बताउँछन् । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *