‘हनिमुन र पिकनिक मनाउन होइन, भोकबाट बच्न हिँडेका हुन्’
वैशाख ५, काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले जनतालाई भोकमरीबाट जोगाउन सरकारलाई आग्रह गरेका छन् ।
शुक्रबार भर्चुअल पत्रकार सम्मेलन गर्दै प्रवक्ता शर्माले नागरिकलाई भोकमरीबाट जोगाउनका लागि पर्याप्त राहतको व्यवस्था मिलाउन सरकारलाई आग्रह गरेका हुन् ।
उनले भने, ‘भोकमरीबाट बच्न श्रमिकहरु लकडाउनमा पनि पैदल हिँडिरहेका छन् । उनीहरु हनिमुन, पिकनिक मनाउन हिँडेका होइनन् । भोकबाट बच्न हिँडेका हुन् ।’ पैदल गाउँ गइरहेका श्रमिकको यो देशमा सरकार छ कि छैन ? भन्दै उनले प्रश्न समेत गरे ।
त्यस्तै उनले सरकारले जिम्मेवारी एवं जवाफदेहिताको गति बढाउन नसक्ने हो भने मुलुकमा भयावह स्थिति उत्पन्न हुन सक्ने चेतावनी समेत दिएका छन् ।
अहिले भावनामा बगेर बोल्ने समय नभए पनि कोठाभित्र छट्पटिएर र सडकमा तड्पिएर नागरिकको मृत्यु भएको दृश्य मौनतापूर्वक प्रतीक्षा गर्ने समय पनि नभएको बताउँदै प्रवक्ता शर्माले अप्ठ्यारोमा रहेका नागरिकलाई सुरक्षित ढंगले गन्तव्यमा पुर्याउने प्रबन्ध मिलाउन सरकार समक्ष आग्रह पनि गरे ।
हिजोमात्रै प्रवक्ता शर्माले कोरोना महामारीको जोखिमबाट बच्न सरकारसमक्ष ५ सुझाव राखेका थिए । परीक्षणको दायरा अब निश्चित केन्द्रबाट ‘घुम्ती स्वास्थ शिविर’ को शैलीमा समुदाय समक्ष पुर्याउन अनिवार्य भएको उनको भनाइ थियो । त्यस्तै उनले गाउँ तहसम्म ‘घुम्ती परिक्षण शिविर’ चलाउने तयारी तत्काल शुरु गर्न तिनै तहको सरकारलाई युद्धस्तरमा समन्वय साथ कार्य गर्न अपील समेत गरेका थिए ।