दलबीच सहमति भए निःशुल्क टिकटको व्यवस्था हुन्छ: प्रधानमन्त्री
“काठमाडौँ, ३० असार । प्रधानमन्त्री शेरबहादुर देउवाले दलबीच सहमति भएमात्र ‘निःशुल्क प्रवेशाज्ञा र टिकट’को व्यवस्था पुनरावलोकन हुने बताएका छन् ।
नेपाल वैदेशिक रोजगार व्यवसायी सङ्घको २५औँ साधारणसभाको यहाँ आज उद्घाटन गर्दै उनले व्यवसायीबाट निःशुल्क प्रवेशाज्ञाको व्यवस्था पुनरावलोकनको माग आएकाले सो विषयमा सहमतिका लागि आफूले पहल गर्ने जानकारी दिए ।
प्रधानमन्त्री देउवाले वैदेशिक रोजगारीमा गएका नेपालीको मृत्युदर बढिरहेकामा चिन्ता व्यक्त गर्दै यसलाई घटाउन सबै पक्ष सचेत हुनुपर्नेमा जोड दिए ।
उनले भने – तपार्इंहरु विदेशमा कामदार पठाउने मात्रै होइन, उनीहरुको आर्थिक, भौतिक सुरक्षामा समेत ध्यान दिनुहोस् ।
प्रधानमन्त्री देउवाले नेपालको अर्थतन्त्रमा वैदेशिक रोजगारीले गरेको योगदान महत्वपूर्ण रहेको पनि बताए ।
श्रम तथा रोजगारमन्त्री फर्मुल्लाह मंसुरले ‘निःशल्क प्रवेशाज्ञा र टिकट’को व्यवस्था आकर्षक र प्रभावकारी भए पनि कार्यान्वयन हुन नसकेको स्वीकार गरे ।
निःशुल्क व्यवस्थाको उचित लाभ कामदारले पाउन नसकेको उल्लेख गर्दै राजनीतिक दल, मजदुर संगठन र व्यवसायीसँगको छलफलबाट यो व्यवस्था पुनरवलोकनका लागि पहल गरिने बताए ।
राष्ट्रिय मानवअधिकार आयोगका सदस्य सुदीप पाठकले अबको १० वर्षमा नेपालको मानवअधिकारको प्रमुख विषय वैदेशिक रोजगारी हुने टिप्पणी गरे ।
सङ्घको नयाँ नेतृत्वका लागि आज हुने मतदानका लागि विमल ढकाल र रोहन गुरुङ नेतृत्वका दुई समूहको उम्मेदवारी परेको छ ।
नेपाली काँग्रेस निकट लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी फोरम र मधेस केन्द्रित दल निकट तराई वैदेशिक रोजगार फोरमबाट विमल ढकाल नेतृत्वको संयुक्त व्यवसायी समूह तथा नेकपा (एमाले) निकट प्रगतिशील वैदेशिक रोजगार व्यवसायी मञ्च र नेकपा (माओवादी केन्द्र) निकट वैदेशिक रोजगार व्यवसायी गणतान्त्रिक मञ्चबाट रोहन गुरुङ नेतृत्वको संयुक्त व्यावसायिक समूहले निर्वाचनमा भाग लिँदैछन् ।”