पोल्ट्रि क्षेत्रमा दैनिक २२ करोडको नोक्सानी, व्यसायीहरुले अघि सारे पाँच सूत्रीय माग
चैत्र २८, चितवन । कोरोना संक्रमण नियन्त्रणका लागि गरिएको लकडाउनका कारण धराशायी बनेको पोल्ट्री क्षेत्रलाई जोगाउन व्यवसायीहरूले विभिन्न माग अघि सारेका छन् ।
लकडाउनका कारण नेपालको पोल्ट्री क्षेत्रमा दैनिक २२ करोड रुपैयाँको नोक्सानी भइरहेको भन्दै व्यवसायीहरूले यसलाई बचाउन पाँच सूत्रीय माग अघि सारेका हुन् । व्यवसायीहरूले बैंकको ब्याज मिनाहादेखि कुखुरापालक किसानहरूलाई क्षतिपूर्तिसम्म सरकारले दिनुपर्ने माग गरेको नेपाल ह्याचरी उद्योग संघ बागमती प्रदेश समितिका अध्यक्ष ज्ञानबहादुर विसुरालले बताए ।
व्यवसायीहरूले एक वर्ष ऋणको ब्याज मिनाहा गर्नुपर्ने, सावाँ तिर्नुपर्ने समय एक वर्ष सार्नुपर्ने, पुनर्कर्जा कम्तीमा ५० प्रतिशत लगानी गर्नुपर्ने, लेयर्स र ब्रोइलर पालक साना व्यवसायी किसानहरूको खोरको स्थलगत अनुगमन गरी उनीहरूलाई विस्थापित हुन नदिन क्षतिपूर्ति दिनुपर्ने र दानाका लागि प्रयोग हुने कच्चा पदार्थ मकै, भटमास र पिना आयात गर्दा भन्सारमा लाग्दै आएको कृषि शुल्क हटाउनुपर्ने माग गरेका छन् ।
लकडाउनले कुखुरापालक किसानहरूलाई उठ्नै नसक्ने बनाएको भन्दै अध्यक्ष विसुरालले पोल्ट्री क्षेत्रलाई जोगाउन अघि सारिएका माग सरकारले पूरा गर्नैपर्ने बताए । आत्मनिर्भरतातर्फ उन्मुख भइरहेको पोल्ट्री क्षेत्रमा अरबौँको लगानी रहेको छ । किसान तथा व्यवसायीहरूले बैंकबाट ऋण लिएर पोल्ट्री क्षेत्रमा लगानी गरिरहेका छन् ।
उत्पादन गरिएको अण्डा, कुखुरा र चल्लाको बिक्रीवितरणमा समस्या भएपछि व्यवसायीहरूले दैनिक घाटा व्यहोर्दै आएका छन् । लकडाउनले कुखुरापालक किसानदेखि ठूला व्यवसायीहरूलाई समेत असर गरेको छ ।साना किसान र ठूला कुखुरापालक व्यवसायीहरूलाई जोगाउने गरी सरकारले राहत प्याकेज ल्याउनुपर्ने व्यवसायीहरूको माग छ ।
पोल्ट्री क्षेत्रमा नयाँ उत्पादन हुने चल्लामा दैनिक ३ करोड ४५ लाख, ब्रोइलर तयारी कुखुरामा १५ करोड, अण्डामा ३ करोड र पोल्ट्रीका लागि चाहिने दाना र कच्चा पदार्थमा ५० लाख गरी दैनिक २१ करोड ९५ लाखको नोक्सानी भइरहेको अध्यक्ष विसुरालले बताए ।