मन्दिर छोएको भन्दै कुटिएका लिलाधरको निशुल्क उपचार हुने

सप्तरी, असार ३० । सप्तरीको वोदेवर्साइन नगरपालिका–६ का ४२ वर्षिय लिलाधर दास तत्माले निशुल्क उपचार सेवा पाउने हुनुभएको छ । राष्ट्रिय मानव अधिकार आयोगको क्षेत्रीय कार्यालय जनकपुरको पहलमा तत्माले निःशुल्क उपचार सुविधा पाउने हुनुभएको हो ।

डिहिवार थान मन्दिर छोएको भन्दै गएको असार १३ गते साँझ उहाँलाई स्थानीय केही व्यक्तिले कुटपिट गरेका थिए । कुटपीटबाट उहाँको हड्डीमा समस्या देखिएको छ । राजविराजस्थित गजेन्द्र नारायण सिंह सगरमाथा अञ्चल अस्पतालमा उपचार हुन नसकेपछि थप उपचारका लागि तत्मालाई धरानस्थित विपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान रेफर गरिएको थियो ।

त्यहाँ करिब एक लाख रुपैयाँ खर्च लाग्ने बताएपछि आर्थिक अभावमा उहाँ निराश भएर घर फर्किनु भएको थियो । राष्ट्रिय मानव अधिकार आयोगको क्षेत्रीय कार्यालय जनकपुरका प्रमुख दिपेन्द्र सिंह सहितको टोलीले सप्तरीका प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर कट्वालसँग भेटेर लिलाधरलाई उपचारको प्रबन्ध मिलाउने विषयमा छलफल गरेको थियो ।

प्रमुख जिल्ला अधिकारी कट्वाल समेतको आग्रहमा वि.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान आवश्यक कागजात सहितको सिफारिसको आधारमा निःशुल्क उपचार गर्न तयार भएको आयोगका क्षेत्रीय प्रमुख सिंहले जानकारी दिनुभयो । स्थानीय डिहिवार थानमा हुने ‘असारे पुजा’ गर्न पुगेका दासमाथि स्थानीय राजकुमार यादव, कासिन्द्र यादव, रामचन्द्र यादव, सकलदेव यादव, जितेन्द्र साह लगायतका व्यक्तिले आक्रमण गरेका पीडितको उजुरीमा उल्लेख छ । कुटपीटबाट उहाँको देव्रे हात भाँचिएको छ भने शरीरका अन्य विभिन्न भागमा चोट लागेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *