जापानमा १९ जना अशक्तको हत्या गर्नेलाई मृत्युदण्डको फैसला

चैत ३, एजेन्सी । जापानको एक केयर होममा १९ जना अशक्त व्यक्तिलाई छुरा प्रहार गरी हत्या गरेको अभियोगमा एक जापानी पुरुषलाई मृत्युदण्डको सजाय सुनाइएको छ । जापानको इतिहासमा यो निकै भयावह आमहत्या मानिएको छ ।   

तीस वर्षीय सातोशी उमाचु स्वयंले उक्त हत्याकाण्डको आरोपमा प्रतिवाद गरेका छैनन् तर उनका वकीलहरुले “मानसिक रोग”का कारण नशालु पदार्थको सेवन गरेका सातोशीले जानाजान व्यक्ति हत्या नगरेको दाबी गरेका थिए । 

उक्त घटना सन् २०१६ मा योकोहामा नगरमा भएको थियो । मुख्य न्यायाधीश कियोशी आउनुमाले अदालतको फैसला सुनाउँदै भने, “१९ जनाको जीवन समाप्त भयो । यो अति भयानक घटना हो ।” 

प्रमाणहरुले सातोशीले हत्याको योजना बनाएको र मार्ने नियत प्रस्टै राखेको देखाएको उनले बताए ।   

सरकारी अभियोजनकर्ताहरुले सातोशीलाई मृत्युदण्ड दिइनु पर्ने मागदाबी गरेका थिए । जापानमा झुण्ड्याएर मृत्युदण्ड दिइने प्रचलन छ । अदालतमा फैसला सुनाउँदा सातोशीमा कुनै आत्मग्लानी देखिएको थिएन, र उनी न्यायाधीशलाई एकोहोरो हेरिरहेका थिए । 

सातोशीले अदालतको फैसला आफूलाई स्वीकार्य हुने र कुनै अर्को अदालतमा अपिल नगर्ने बताउँदै आएका थिए । तैपनि उनले आफूलाई मृत्युदण्डको सजाय नहुने दाबी गरिरहेका थिए । उनले केयर होममा आक्रमण गर्दा सबै अशक्त व्यक्तिलाई समाप्त गर्न चाहेको बताउँदै अन्धाधुन्ध चक्कु प्रहार गरेका थिए । उनको आक्रमणबाट अरु २६ जना घाइते भएका थिए । 

उनीमाथि अदालतको फैसला सुन्न स्थानीय अदालतमा ठूलो भिड लागेको थियो ।   

रासस/एएफपी 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *