कोरोना त्रासः धरानमा पनि छैन होलीको रौनक

फागुन २७, धरान । कोरोना भाइरसको त्रासका कारण यो वर्ष धरानमा पनि होलीको रौनक घटेको छ । 

भीडभाडमा होली खेल्दा कोरोनाको संक्रमण हुन सक्ने भन्दै सरकार र चिकित्सकले सावधानी अपनाउन भनेसँगै होली खेल्नेको संख्या घटेको छ । सडकमा होली खेल्ने मानिस कमै मात्र छन् । होलीको चहलपहल पनि खासै देखिएकाे छैन ।   

विगतका वर्षमा होलीको दिन असाध्यै भिडभाड र चहलपहल हुने धरानको मुख्य चौक भानुचौक, लक्ष्मी सडक, छाताचौक, बुद्धचौक, वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, रत्नचोक, रेल्वे लगायतका क्षेत्र यसपटक सुनसान छ । 

केही ठाउँमा बालबालिकाले फाट्टफुट्ट रुपमा अबिर र पिचकारी खेलेको देखिए पनि अभिभावकहरुले घरमै बसेर रङ, अबिरसँग होलीको उमंग साटेका छन् । ‘पोहोर परार यी ठाउँहरुमा निकै रमझम हुन्थ्यो । अहिले त मान्छे नै छैनन् । धरान सुनसान देखिन्छ,’ धरानको छाताचौक निवासी प्रनोद दत्तले भने। 

धरानमा हरेक वर्ष फाुग पूणिमा अर्थात् होलीको दोस्रो दिन भानुचोकमा भव्य स्टेज बन्थ्यो र सांगीतिक कार्यक्रमसहित भव्य रुपमा होली हंगामा हुन्थ्यो । 

त्यहाँ धरानभरिका युवायुवतीहरु अविर मात्र होइन, कुखुराको अण्डा एकअर्काको टाउकोमा फुटाउन तछाडमछाड गर्थे । पसल बन्द हुन्थ्यो भने गाडीहरु पनि कमै मात्र चल्थे । प्रहरीलाई भिड नियन्त्रण गर्न हम्मे पथ्र्यो । 

भानुचोकमा मात्र कहाँ हो र ? करिब ३ सय मिटर परतिर माछा भौडीमा पनि स्टेजसहित होली कार्यक्रम भव्य हुन्थ्यो । अन्य चोकमा पनि नाचगानसहित होलीमा मस्त हुन्थे मानिसहरु । 

युवायुवतीहरु अनुहारमा अनेक रंग पोतेर, विभिन्न आकृतिको मास्क लगाएर हिँड्थे । तर, आज धरानमा यस्तो होली कार्यक्रम देखिएको छैन । भानुचोक अरु दिनजस्तै सामान्य छ भने अन्य चोकहरु र मानिसहरुको दैनिकी पनि सामान्य रुपमा चलिरहेको छ । 

यसैबीच कोरोना भाईरसककै कारण यो वर्ष होलीमा लगाइने टिसर्ट, अबिर र पिचकारीको व्यापारमा समेत निकै कमी आएको धरानका रेश्मा खैलौना पसलका व्यापारी पप्पु शाह हलुवाईले गुनासो गरे । 

उनले होलीको लागि पुसको सुरुमा भारत र चीनबाट सामान मगाएका व्यापारीले ती सामान बिक्री नभएर थन्किएको बताए । शाहका अनुसार अरुबेला २ दिनमा नै एकदेखि डेढ लाखको व्यापार हुने गरेको थियो । यो वर्ष भने कोरोनाका त्रासका कारण न होली, होलीजस्तो भयो न त व्यापार नै भयो । 

‘उता फुटपाथे तथा खुद्रा व्यापारी जुगर अन्सारीले पोहोरको तुलनामा यसपालि ५ प्रतिशत पनि व्यापार नभएको गुनासो गरे । 

त्यस्तै यसपटक धरानको सडकमा उच्छृङ्खल क्रियाकलाप पनि निकै कम भएको प्रहरीले जनाएको छ । अहिलेसम्म उच्छृङ्खल गतिविधि भएको कुनै जानकारी नआएको ईलाका प्रहरी कर्यालय धरानका डिएसपी ढुण्डीराज न्यौपानेले जानकारी दिए । 

‘यसपटकको होली अहिलेसम्म निकै सभ्य छ ।  सडकमा खासै भिडभाड छैन । होली खेल्दै हिँड्नेहरु कमै देखिएका छन्’, डिएसपी न्यौपानेले भने । 

सरकारसँगै जिल्ला सुरक्षा समितिले होलीलाई यस हर्ष उल्लासका साथ मनाउने भन्दा पनि सुरक्षित रुपमा मनाउने निर्णय भएको भन्दै सार्वजनिक स्थान र चोकहरुमा नमनाउन डिएसपी न्यौपानेले आग्रह गरेका थिए । ‘घरमा बसेर आफन्तहरुसँग खेल्नुपर्छ । रंग दल्नु, पानी छ्याप्नु भन्दा पनि घरपरिवार बसेर मनोरञ्जनको क्रियाकलाप गरेर होली मनाइदिन सबैमा अनुरोध गर्छु,’ डिएसपी न्यौपानेले भने । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *