१५ दिन पछी फर्किए सिंगापुरबाट प्रधानमन्त्री

भाद्र २०, काठमाडौं । स्वास्थ्योपचारका लागि सिंगापुर गएका प्रधानमन्त्री स्वदेश फर्किएका छन् । दुई साता लामो उपचार गरेपछि प्रधानमन्त्री केपी शर्मा ओली आज स्वदेश फर्किएका हुन् । 

स्वास्थ्यमा समस्या देखिएपछि प्रधानमन्त्री ओली मृगौलाको थप उपचारका लागि भदौ ५ गते सिङ्गापुर गएका थिए । 

प्रम ओलीलाई स्वागत गर्न त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा सभामुख कृष्णबहादुर महरा, उपप्रधानमन्त्री ईश्वर पोखरेल, गृहमन्त्री रामबहादुर थापा लगायत उपस्थित थिए । 

प्रधानमन्त्री ओलीको सिङ्गापुरस्थित नेसनल युनिभर्सिटी हस्पिटलमा ‘प्लाज्मा फेरेसिस’ प्रक्रियाबाट मिर्गौलामा देखिएको ‘एन्टिबडी’ निराकरणको उपचार गरिएको थियो । उनको बुधबार ‘प्लाज्मा फेरेसिस’को सातौँ चरण पूरा गरिएको थियो । 

उपचारकै क्रममा प्रधानमन्त्रीले दुई पटक टेलिप्रिजेन्स प्रविधिमार्फत मन्त्रिपरिषद्का सदस्यसँग सरकारका कामबारे छलफल गरेका थिए । 

प्रधानमन्त्रीको स्वास्थ्य स्थिति बुझ्न सिङ्गापुर गएका सत्तारुढ नेकपामा सचिवालय सदस्य वामदेव गौतम र महासचिव विष्णुप्रसाद पौडलले पनि फर्किएका छन् । 

प्रधानमन्त्रीसँगै उनकी श्रीमती राधिका शाक्य, स्वकीय सचिब राजेश बर्जाचार्य,  प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमाल र निजी चिकित्सक डा. दिव्यासिंह शाह पनी फर्किसकेका छन् । प्रधानमन्त्री ओली यसअघि सोही अस्पतालमा स्वास्थ्य परीक्षण गरी साउन २७ गते स्वदेश फर्किएका थिए । प्रधानमन्त्री ओलीले विमानस्थलमा पत्रकारसँग कुरा गरेनन् । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *