सामाजिक दुरी कायम गर्दै धरानमा रक्तदान गर्दा २६५ पिन्ट रगत संकलन

बैशाख ५, धरान । कोरोना भाइरस संक्रमणको जोखिमपूर्ण अवस्थामा पनि सुनसरी उद्योग बाणिज्य संघले विहीवार वृहत रक्तदान कार्यक्रमको आयोजना गरि २६५ पिन्ट रगत संकलन गरेको छ । 

सामाजिक दुरी कायम गर्ने कार्यक्रमहरुमा सरकारले रोक लगाएपनि धरानमा रगतको अभाव सिर्जना भएपछि उवासंघले रक्तदान कार्यक्रम आयोजना गरेको हो । संघको सभा हलमा व्यक्ति–व्यक्ति विचको दुरी कायम राख्दै रक्तदान गरिएको थियो ।   

लकडाउनको बेला सभाहल भित्र रक्तदान आयोजना गरिएपनि रक्तदाताहरुको स्वस्फुर्त सहभागीता जनाई रगत दान गरेका थिए ।    रक्तदाताहरुले एक मिटरको दूरीमा राखिएको कुर्सीमा बसेर आफ्नो पालो कुरेका थिए ।   

रक्तदान स्थल प्रवेश गर्नुअघि सावुन पानीले हात धुने, सेनेटाइजर प्रयोग गर्ने व्यवस्था गरिएको थियो । रक्तदानका लागि नजिकबाट आउनेलाई पैदल आउन सक्ने ब्यवस्था गरिएको र टाढाबाट आउन चाहानेहरुलाई टेम्पु र २ वटा एम्बुलेन्सको व्यवस्था गरिएको थियो ।   

वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान स्थित नेपाल रेडक्रस सोसाइटी सुनसरीको रक्त सञ्चार सेवामा रगत अभाव भएकोले रगतको परिपूर्ति गर्न रक्तदान आयोजना गरिएको कार्यक्रम संयोजक प्रभाव खतिवडाले बताए ।   

कोरोना भाइरस संक्रमणको जोखिमपूर्ण अवस्थामा रक्तदान आयोजना गर्न सामाजिक दुरी, प्राविधिकहरु लाई सुरक्षीत सामग्री सहित पूर्व तयारी गरी रक्तदान गरिएको थियो । रक्तदानमा धरान १५ की २७ वर्षिय करिष्मा सापकोटाले शुरुमा रगत दिइन् ।   

संघका अध्यक्ष गिरिधारी सापकोटाले अहिलेको संकटकालिन अवस्थामा रगत अभावलाई थोरै भएपनि सहयोग मिलोस भन्ने उद्देश्यले कोरोना संक्रमण सुरक्षाको व्यवस्था गरी रक्तदान गरिएको बताए । विपतका समयमा सबै नेपाली एक आपसमा सहयोगी बन्नुपर्ने भएकोले पनि सर्वसाधारणको उपचारमा सहज होस् भनेरै रक्तदान गरिएको हो ।   

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *