बराहका कर्मचारी कोषको रकम आफैं चलाउँछन्

कात्तिक २९, धरान । धरान स्थित बराह बचत तथा ऋण सहकारी संस्थाले युवा तथा साना ब्यवसायी स्वरोजगार कोष मार्फतको रकमको चरम दुरुपयोग गरेको छ । युवा तथा खेलकूद मन्त्रालय अन्र्तगतको कोषले युवा तथा साना ब्यवसायीको आर्थिक स्थिति सुधार्न कम ब्याजदरमा सहकारी मार्फत पठाएको रकम बराहले आफैं मातहतका कर्मचारीलाई प्रयोग गर्न दिएर चरम दुरुपयोग गरेको हो । 

स्वरोजगार कोषले स्थानीय सहकारी मार्फत बेरोजगार युवाहरुलाई रोजगारी सृजना गर्न र उनीहरुलाई उद्यमशिल बनाउन गरेको लगानी बराहले आफ्ना कर्मचारी मार्फत सिनेमा हल बनाउन, बैदेशिक रोजगारमा जाने युवाहरु तथा सांसदहरुलाई समेत वितरण गरेको छ । 

 

null

बराह ज्वेलरी इन्डष्ट्रिजमा कार्यरत केहि कर्मचारीले समेत स्वरोजगार कोष मार्फतको रकम लिएर लगानी गर्ने गरेका छन् धरानका शोभराज खातीले गरगहना व्यवसाय सञ्चालनका नाममा कोषको दुई लाख रुपैंया सहकारीबाट निकालेका थिए । तर, उनले गरगहना ब्यवसाय नगरी उक्त पैसा बराह सपिङ कम्प्लेक्स भित्र रहेको थ्रीडी सिनेमामा लगानी गरेका छन् । उनी बराह ज्वेलरीका स्थायी कर्मचारी समेत हुन् । व्यवसाय कहाँ छ भनेर प्रश्न गर्दा उनले भने–‘कोषको पैसाले थ्रिडी हल सञ्चालन गरेको छु ।’ उनी बराहको इन्डष्ट्रिजको क्यासियर हुन् । 

बेरोजगार भएको भन्दै १० महिना अघि धरान १ का दिनेश निरौलाले बराह मार्फत कोषबाट दुई लाख ऋण निकाले । तर, उनले २ बर्षअघि नै ७ लाख लगानी गरेर पुस्तक पसल सञ्चालन गर्दै स्वरोजगार भइसकेका थिए । उनको मोर्डन बुक्स एण्ड स्टेशनरी पसल सञ्चालनमै रहेपनि स्वरोजगार कोषबाट पैसा पाए । उनले भने ‘अगाडी नै पसल सञ्चालन गरिरहेको थिए, त्यसलाई बढाउन बराह मार्फत कोषको दुई लाख लिएको हुँ ।’ 

बराहबाट स्वरोजगार कोषको पैसा चलाउने यी दुई ब्यक्ति उदाहरणका पात्र मात्रै हुन । यस्ता कयौं ब्यक्ति छन जसले पहुँचको भरमा बराहबाट स्वरोजगार कोषको रकम दुरुपयोग गरीरहेका छन् । पहुँच र हुनेखानेले कोषको रकम प्रयोग गर्दा स्वदेशमै स्वरोजगार भएर आत्मनिर्भर हुने सपना बोकेका कयौं बेरोजगार युवाहरु कोषको सेवाबाट बञ्चित हुनु परिरहेको छ । 

 

धरान–१ का शुक्र राईले स्वरोजगार कोषबाट ऋण लिएर ब्यवसाय गर्न तीन वर्ष अघि निवेदन दिए । उनको हकमा बराहले एक सुको लगानी गरिदिएन । ‘मैले बराहमार्फत कोषको रकम माग गरेको तीन वर्ष भयो, अहिलेसम्म दिने कुरा गरेको छैन । तर, राजनीतिक र आर्थिक पहुँच भएकालाई आँखा चिम्लेर लगानी गरेको रहेछ ।’ उनले भने । उनले तीन वर्ष अघिनै प्रक्रिया पुर्याएर बराहमा दिएको निवेदनमा धमिरा लागिसक्यो । ‘हामी गरिब तथा बेरोजगार युवाहरुका लागि होईन रहेछ यो कोष ।’ उनले दुखेसो पोखे । उनले बराहमा चिया पसल सञ्चालनका लागि २ लाख माग गरेका रहेछन् । ऋण पाउने आशामा राईले पटकपटक बराह सहकारीको ढोका चहारेपनि काम लागेन । 

 

बराहमा काम गर्ने कुमार विकले पनि भोजपुरको बैकुन्ठे ठेगानाबाट दुई लाख र धरान ११ ठेगाना लेखेर २ लाख लिएको अभिलेखमा उल्लेख छ । उनी बराहका लेखापाल हुन । बराहका एक कर्मचारीका अनुसार दुवै ठेगाना भएका कुमार एउटै व्यक्ति भएको बताए । यस्तै ज्वेलरी विभागमा काम गर्ने सन्देश विश्वकर्मा, राजकुमार कामी, मोनिका दियाली लगायतले २/२ लाख ऋण लिएका छन् । दलित समुदायका प्रायः ऋण लिने सबै बराहकै कर्मचारीहरु भएको स्रोतको दावि छ । स्रोतले दिएको जानकारी अनुसार बराहबाट कोषको रकम दुरुपयोग गर्नेहरुमा सांसदहरु समेत रहेका छन् । 

बराह सहकारीले २०६९ फागुनदेखि दुई चरण गरेर १३४ जनालाई एक करोड २५ लाख लगानी गरेको दावी गरेको छ । उक्त लगानी मध्ये अधिकाशं आफनै संस्थाका कर्मचारी र राजनीतिक पहुँच भएकालाई मात्र लगानी गरेको पाइएको छ । 

बराहमा काम गर्ने अधिकांश कर्मचारीले गरगहना, छिलाई कटाई कारखाना, चमेना गृह, बंगुर पालन, कुखुरा पालन, बाख्रा पालन, व्युटि पार्लर, सिलाईकटाई आदी गर्न भनेर कोषको पैसा लिएपनि त्यो भन्दा फरक क्षेत्रमा लगानी गरेका छन् । 

बराहमा जागिरे भएकाले ऋण रकम उठाउन पनि सहकारीलाई सकस नहुने भएपछि बराहले निम्नस्तर आय भएका युवालाई भन्दा आफ्नै कर्मचारीलाई ऋण दिन सहज ठानेको छ । सहकारीका व्यवस्थापक आङखेवाका अनुसार सहकारी मार्फत ऋण लिएकाले नियमित ऋण बुझाएका छन् । 

उनले विपन्न बेरोजगार युवाहरुलाई लगानी गरेको दावी गरेपनि बराहले कोषको उद्देश्य अनुसार लगानी भने गरेको देखिएको छैन । आफ्नै कर्मचारीलाई ऋण दिएको विषयमा ब्यवस्थापकले पहिले ऋण लिएर पछि कर्मचारी भएको जवाफ दिए । ‘उहाँहरुले पहिले ऋण लिनुभयो, त्यसपछि यहाँ काम गर्न थाल्नुभयो ।’ उनले भने । 

स्वरोजगार कोषको ऐनमा औपचारिक शिक्षा आर्जन लगायत कुनैपनि पेशा व्यवसायमा संलग्न नरहेको बेरोजगार व्यक्तिलाई लक्षित समूहको रुपमा परिभाषित गरिएको छ । त्यही मापदण्ड अनुसार ऋण प्रवाहगर्न कोषले सहकारीहरुलाई निर्देशन दिएको छ । तर, बराह सहकारीले ऋण उठाउन सजिलोका लागि एउटा व्यवसाय गर्ने अर्को शिर्षकमा लगानी गरिरहेको पाईएको छ । 

 

स्वरोजगार कोषका सुनसरी संयोजक चिरञ्जिवी नेपालका अनुसार सुनसरीमा चार चरण गरि ५४ वटा सहकारीहरुले कोषबाट रकम लिएका छन् । जस मध्ये ४३ वटाले लगानी गरेका छन् । २५ सहकारीले लगानीका लागि निवेदन दिएका छन् । स्वरोजगार कोषले २०७३ माघ अघि ७ प्रतिशत व्याजमा सहकारीलाई ऋण दिएको थियो । उक्त रकम १२ प्रतिशत व्याजमा बेरोजगार युवाहरुलाई लगानी गर्नुपर्ने थियो । तर २०७३ माघपछि सरकारले कोषबाट सहकारीलाई ५ प्रतिशत र सहकारीले युवाहरुलाई १० प्रतिशत व्याजमा ऋण प्रवाह गर्नुपर्ने निति ल्याएको छ । 

बराहले कोषको उक्त निती समेत उलंघन गरेर चर्को ब्याजदरमा ऋण प्रवाह गरेको स्रोतको दावि छ । यस विषयमा संस्थाका अध्यक्ष मानबहादुर दियालीसँग कुरा गर्न खोज्दा उनको मोवाइलमा सम्पर्क हुन सकेन । बराहमै काम गरेर काेषकाे रकम चलाएका कर्मचारीहरूकाे नाम मकालु खबरसँग सुरक्षित रहेकाे छ ।  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *