निर्भया हत्या काण्डः दोषीलाई फाँसी दिएपछि बलिउड सेलिब्रिटी दिए यस्तो प्रतिक्रिया
चैत्र ७, भारत । ८ वर्षपछि निर्भयाले न्याय पाएकी छिन् । निर्भयाका चारै दोषीलाई शुक्रबार बिहानै साढै ५ बजे तिहाड जेलमा मृत्युदण्ड दिइएको छ । यसका कारण भारतभरी खुसीको लहर छ र निर्भयाकी आमाले सन्तुष्टि पाएकी छिन् ।
निर्भयाका आन्दोलनका बेला बलिउडका थुप्रै हस्तीले आफ्नो आवाज उठाएका थिए । अब निर्भयाका दोषीले फाँसीको सजाय पाएपछि बलिउडमार्फत् पनि प्रतिक्रिया आइरहेको छ ।
सुष्मिता सेनको प्रतिक्रियाः
नायिका सुष्मिता सेनले ट्वीट गरेर निर्भयाकी आमा आशा देवीको तारिफ गरेकी छिन् । उनले यसलाई न्यायको जीत बताएकी छिन् । उनले ट्वीटरमार्फत् भनेकी छिन्, ‘आमाको धैर्य र सहनशीलताले न्याय पाएको छ । अन्तिममा न्याय पाइयो ।’
रितेश देशमुखको प्रतिक्रियाः
नायक रितेश देशमुखले आफ्नो खुसी व्यक्त गरेका छन् । उनले लेखे, ‘निर्भयाका आमाबुवा, उनका साथीहरुलाई यतिबेला सम्झन चाहन्छु । समय पक्कै लागेको छ तर न्याय भयो ।’
तापसी पन्नूको प्रतिक्रियाः
हरेक मुद्दामा निर्धक्क भएर बोल्ने तापसी पन्नूको पनि प्रतिक्रिया आएको छ । उनले लेखेकी छिन्, ‘अब निर्भयाकी आमा र उनको परिवारले आनन्दको निद्रा सुत्न पाउनेछन् । यो निकै लामो र संघर्षपूर्ण लडाईं रह्यो ।’
यस्तै प्रिति जिन्टाले पनि ट्वीटरमा लेखेकी छिन्, ‘यदि निर्भयाका बलात्कारीलाई सन् २०१२ मा मृत्युदण्ड दिएको भए देशमा आपराधिक क्रियाकलापमा निकै कमी आउँथ्यो । उपचारभन्दा रोकथाम नै राम्रो हो । ’ एजेन्सी