नेपालमा पनि देखियाे ‘फानी’ को प्रभाव, हिमाली क्षेत्रमा सतर्कता अपनाउन आग्रह

बैशाख २०, काठमाडौँ । बंगालको खाडीको मध्य पश्चिमी भागबाट विकसित भएको चक्रवात ‘फानी’ को प्रभाव नेपालमा पनि देखिएकाे छ । 

 

शुक्रबार र शनिबार नेपालमा पनि यसको प्रभाव पर्ने देखिएकाले जल तथा मौसम विभागले उच्च सावधानी अपनाउन आग्रह गरेकाे छ । चक्रवात अर्थात् ‘फानी’ भारतको ओडिसा स्थित पुरी तटमा ठोक्किएको छ । त्यहाँ हावाको गति प्रतिघण्टा १७५ किलोमिटर रहेको जानकारी आएको छ । 

null

मौसम विभागका अनुसार यसको प्रभावले अहिले नेपालको पूर्वी तथा मध्य भागमा मौसम बदली भईरहेको छ । पूर्वी र मध्यका स्थानहरुमा मेघ गर्जन–चट्टयाङ तथा हावाहुरीसहित हल्का देखि मध्यम वर्षा भइरहेकाे छ । 

मौसमविद विभूति पोखरेलका अनुसार यसको प्रभावले हिमाली भूभागमा उच्च हिमपात हुने सम्भावना छ । त्यस क्षेत्रमा रहेका व्यक्तिलाई चाँडो तल झर्न तथा शुक्रबारदेखि आइतबारसम्म पर्वतारोहणमा नजान, विशेष सुरक्षा अपनाउन पनि आग्रह गरिएकाे छ ।  

मौसम विभागका अनुसार यो तूफान अब खुर्दा, कटक, जगतसिंहपुर, केन्द्रपाडा, जाजपुर, भद्रक र बालेश्वर जिल्लाको बाटो हुँदै पश्चिम बंगाल तर्फ बढ्नेछ । तटमा सम्पर्क भएपछि आँधिको तीव्रता कम हुनेछ । 

यो फानीको कारण ओडिसामा वर्षा भई सकिएको र झण्डै ११ लाख मानिसहरुलाई भारतको ओडिसाबाट सुरक्षित स्थानमा लगि सकिएको जानकारी आएको छ । यस फानीको कारण भारतमा बिहीबार रातिदेखि नै उडानहरु रद्द गरिएका छन् भने रेल सेवा समेत बन्द गरिएको छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *