यातायात व्यवसायी हैरान !

इलाम, ३१ असार । लगातारको अबिरल वर्षासँगै इलामका अधिकांश ग्रामीण सडक अवरूद्ध बनेका छन् ।

वर्षाले सडक हिलाम्मे हुनुका साथै ठाउँठाउँमा पहिरो जाँदा सडक अवरूद्ध बनेका हुन् । जिल्लामा खनिएका सयौँ ग्रामीण सडक हिलाम्मे भएपछि यातायात सञ्चालनमा कठिनाई भइ जनजीवन प्रभावित भएको छ ।

ग्रामीण सडकमा यातायातका सवारीसाधन चलाउन समस्या भएको र सवारीसाधन बिग्रिएर सडकमै रोकिने गरेकाले हैरान भएको यातायात व्यवसायीले बताएका छन् । जिल्लाका अधिकाश गाउँबाट सदरमुकाम जोड्ने सडक यतिखेर केही दिनदेखिको लगातारको वर्षाले हिलाम्मे बन्नुका साथै यातायात सञ्चालनमा अत्यन्तै कठिन बनेको छ ।

नामसालिङ–इलाम, नामसालिङ– फिक्कल, नयाँबजार–इलाम, नयाँबजार–फिक्कल, माबु– माइमझुवा–जमुना– सुलुबुङ– इलाम खण्डका साथै इभाङ–मङ्गलबारे, शान्तिडाँडा– मङ्गलबारे– इलाम सडक खण्डलगायतका अधिकांश ग्रामीण सडक हिलाम्मे भएपछि यातायात सञ्चालन र यात्रु आवातजावतमा समस्या भएको हो ।

आकाशबाट परेको पानी सडकमा जमेर सवारीसाधनको आवतजावतका कारण सडक हिलाम्मे हुने गरेको र यहाँबाट सार्वजनिक सवारीसाधन पार गर्न र गाउँमा खाद्यान्न लैजानसमेत कठिन भएको यातायात व्यवसायी पेम्वा शेर्पाले बताए ।

वर्षाका कारण सडकको ठाउँठाउँमा ठूल्ठूला खाल्डो परेकाले गाउँमा सञ्चालित एम्बुलेन्स सेवासमेत प्रभावित बनेको छ । ग्रामीण सडक तत्काल मर्मतसम्भार नभएमा सार्वजनिक सवारी साधन बन्दै गर्नुपर्ने अवस्था आउने यातायात व्यवसायी तथा मजदुर बताउँछन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *