नोबेलले थाल्यो नयाँ पद्धतिबाट उपचारः बिना चिरफार मुखबाट निकालियो पित्त नलीको ढुंगा (भिडियोसहित)

 

बिराटनगर, १५ पुस । नोबेल शिक्षण अस्पतालमा नयाँ प्रविधिको प्रयोग गरी बिना चिरफार पित्त नलीको पथरीया (ढुंगा) निकाल्न थालिएको छ । ईआरसीपी उपचार पद्धतिमार्फत मुखबाट ईण्डोस्कोप छिराएर पित्त नलिको ढुंगा मुखबाटै सहज रुपमा निकाल्न थालिएको हो । 

सामान्यतया पित्त नलीको ढुंगा पेट र पित्त नली दुबै चिरेर निकाल्ने गरिन्छ । ल्याप्रोस्कोपिक विधिबाट पनि पित्त नली चिर्नैपर्ने बाध्यता हुन्छ । तर, विना चिरफार मुखबाट ईण्डोस्कोप छिराएर मुखबाटै ढुंगा निकाल्न थालिएपछि बिरामीहरुलाई सहज भएको छ । 

null

यो प्रविधिबाट नेपालमा विरलै मात्र उपचार हुने गरेको पाईन्छ । नेपालका केहि अस्पतालहरुमा मात्र प्रयोगमा रहेको यो उपचार पद्धति पूर्वी नेपालमा पहिलो पटक भित्र्याईएको नोबेल अस्पतालका डा.रोहित प्रसाद यादवको दावी छ । ‘विदेशमा यो प्रविधिबाट उपचार हुने भएपनि नेपालका लागि ईआरसीपी नयाँ पद्धति हो ।’ उनले भने ‘पूर्वी नेपालमा भने पहिलो पटक नोबेलले बिना अप्रेशन मुखबाट ढुंगा निकाल्न थालेको हो ।’ 

 

यसअघि पित्त नलीको ढुंगा निकाल्न चिरफार वा ल्याप्रोस्कोपिक विधि प्रयोग गरिन्थ्यो । अप्रेशन गर्दा पेट र पित्त नली दुबै चिर्नुपर्छ । ल्याप्रोस्कोपिक विधिमा पनि पेटमा प्वाल पारेर पित्त नली चिरेर मात्र ढुंगा निकाल्न सकिन्छ । पित्त नली चिरेर ढुंगा निकाल्दा निको हुन बढी समय लाग्ने, चिरेको ठाउँमा सिलाउन गाह्रो हुने, संक्रमणको खतरा हुने लगायत समस्या हुनसक्ने चिकित्सकहरु बताउँछन् । 

तर, ईआरसीपी विधिमार्फत मुखबाट ईण्डोस्कोप छिराई ढुंगालाई तानेर मुखबाटै निकालिने हुनाले बिरामीलाई खासै असर पर्दैन । यसबाट घाउ नहुनाले बिरामी दुई दिनमै घर फर्कन सक्ने डा.यादव बताउँछन् । ‘बिरामी छिटै निको हुनाले अस्पतालको बसाई, बाह्य असर र खर्च पनि कम हुन्छ ।’ उनी भन्छन् ‘पित्त नलीको ढुंगा निकाल्न ईआरसीपी विधि एकदमै प्रभावकारी छ ।’ 

पित्त नलीमा क्यान्सर वा ढुंगा बसेर जण्डिस भएका बिरामीको उपचार र आन्द्राको क्यान्सर तथा प्यान्क्रियाजको क्यान्सर पत्ता लगाउन पनि यो विधि अत्यन्तै लाभदायी हुने डा.यादवले बताए । नोबेलमा ईआरसीपी पद्धतिबाट पित्त नलीको ढुंगा सजिलै निकालिएपछि बिरामी र बिरामीका आफन्त पनि खुशी छन् । 

ईआरसीपी विधिबाट पित्त नलीको ढुंगा निकालेकी मोरङको बिराटचौककी सोभा कुमालले भनिन् ‘पेट चिर्नुपर्छ भनेर धेरै डर लागेको थियो । तर, कतै नकाटी मुखबाटै ढुंगा निकाल्दा धेरै खुशी लाग्यो ।’ ईआरसीपी विधिबाट उपचार थालिएपछि पित्त नलिको ढुंगा निकाल्न आउनेको संख्या पनि बढ्दै गएको नोबेल अस्पतालले जनाएको छ । 

सहुलियत दरमा स्तरीय उपचार सेवा उपलब्ध गराउन नोबेलमा नयाँ–नयाँ प्रविधिको प्रयोग गरी गुणस्तरीयता बढाउँदै लगिएको नोबेल अस्पताल सञ्चालक डा.सुनिल शर्माको भनाई छ ।  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *