जनयुद्धको गीत बज्दा भावुक बने प्रचण्ड
फागुन २१, धरान । सुनसरीको एक कार्यक्रममा ‘यो शरीर ढल्यो साथी हो, लाल झण्डा ढल्न नदिनु बोलको’ बोलको जनयुद्धको गीत बज्दा नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ भावुक बनेका छन् ।
सुनसरीको तरहरामा रहेको शहीद स्मृति विद्यालयमा मंगलबार आयोजना गरिएको कार्यक्रममा सम्बोधन गर्न पुगेका प्रचण्ड जनयुद्धको गीत सुन्दा भावुक बनेका हुन् । साथै कार्यक्रममा उपस्थिति जनाएकी वन तथा वातावरण राज्यमन्त्री रामकुमारी चौधरीको आँशु नै खसेको थियो ।
null
जनयुद्धको झ–झल्को दिलाउने विद्यार्थी कलाकारहरुको प्रस्तुती देख्दा प्रचण्ड त भावुक भए नै कार्यक्रममा उपस्थित सम्पूर्ण अतिथिहरु मुख छोपेर रोएपनि । सँगै बसेकी मन्त्री चौधरीले भने आँशु थाम्न सकिनन् । उनले चस्मा खोलेर रुमालले आँशु पुछिन् ।
स्टेजमा भएका पूर्व माओवादीहरु सबैको आँखा भरी आँशु देखियो । जसले गर्दा कार्यक्रम स्थल एकैछिन भावविह्वल भयो । जनयुद्ध सम्झँदै अधिकांश माओवादीका नेताहरु मौन भए । कार्यक्रम स्थल आसपासमा बसेर रमिता हेर्न पुग्ने गाँउलेहरु समेत भावुक भएका थिए ।
कार्यक्रममा बोल्दै प्रचण्डले शहीदको सपनाकै लागी आफ्नो लडाईं जारी रहेको बताए । उनले माओवादी जनयुद्धका बेला शहीद भएका परिवार पढाउने भन्दै २०६६ सालमा स्थापना भएको शहीद स्मृति आवासिय विद्यालयमा करिब २ करोडको लागतमा भवन निर्माण गरिएको उनले स्मरण गराए ।
प्रचण्डले नेपालमा एमए पढेकाले पनि केही गर्न नसक्ने स्थितिको सिर्जना भएको प्रति दुःख व्यक्त गर्दै भने, ‘एमए पढेकाहरु पनि विदेश जानुपर्ने अवस्था छ, सामान्य शिक्षा पढेकाले पनि रोजगारीका लागि विदेश जानैपर्ने अवस्था छ । सरकार यस विषयमा गम्भीर छ । हामी आवश्यक कदम चाल्नेछौँ ।’
‘शिक्षा नीतिमा आमूल परिवर्तन नभएसम्म विदेश पलायन रोक्न असम्भव छ । हामी सबैको ध्यान शिक्षामा परिवर्तन गर्नुपर्छ भन्नेतर्फ छ, हामी शिक्षालाई रोजगारमुखी बनाउनमै केन्द्रीत रहेका छौँ । यसलाई अन्य कुरा जस्तो सामान्य रुपमा कसैलाई नसोच्न आग्रह गर्दछु’, अध्यक्ष प्रचण्डले भने ।
प्रचण्डले शहीदको महत्वपूर्ण योगदानकै कारण विश्व परिवर्तन भएको दाबी गर्दै भने, ‘विश्वमा जे जति ठूला परिवर्तन भएका छन्, त्यो शहीदकै कारण भएको हो । रुसको आन्दोलन होस् या अमेरिका र युरोपको, शहीदकै बलिदानीले त्यहाँ पनि परिवर्तन भएको हो, सबै सफलताका पछाडी शहीदको रगत जोडिएको छ ।’
सोही कार्यक्रममा प्रदेश नं १ का समाजिक विकास मन्त्री जीवन घिमिरेले अबको १० बर्ष भित्रमा एक नं प्रदेशबाट झोला र किताब विस्थापित गर्ने बताए ।
शहीद स्कुलले विद्यालय क्षेत्रमा गरेको कामको प्रशंसा गर्दै उनले उच्च स्तरोन्नतीका लािग ३ करोड विनियोजन गरेको बताए ।
कार्यक्रममा शहीद आवासीय स्मृति विद्यालयमा योगदान दिने विराटनगरका टंक गिरी, ईटहरीका टीका बहादुर बन र तरहराकै चुडामणी गिरीलाई सम्मान गरिएको थियो ।
शहीद स्मृति आवासीय उच्चमाविका ४ सय ४७ विद्यार्थीमध्ये २८ जिल्लाका ३ सय ३५ जना आवासीय रुपमा रहँदै आएका छन् । अधिकांश माओवादी सम्बद्ध पीडितका छोराछोरी हुन् । विद्यालयमा २० जना शिक्षक र कर्मचारी समेत आवासीय रुपमा रहेका छन ।