नेकपाको सचिवालय बैठक चल्दाचल्दै अध्यादेश प्रमाणित भएपछि…
बैशाख ८, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) केन्द्रीय सचिवालयको बैठकमा आज जारी अध्यादेशहरुमा छलफल भएको पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठले बताएका छन् ।
नेकपाले विज्ञप्ति जारी गर्दै प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) को संयुक्त अध्यक्षतामा बसेको बैठकमा आज जारी गर्न मन्त्रिपरिषदले निर्णय गरी अघि बढाएका अध्यादेशहरूको बारेमा छलफल भएको जनाएको छ ।
बैठकमा अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले अध्यादेशहरू जारी गर्न निर्णय गर्नुको औचित्यबारे बैठकलाई जानकारी गराएको प्रवक्ता श्रेष्ठले जनाएका छन् ।
‘बैठकमा अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले अध्यादेशहरू जारी गर्न निर्णय गर्नुको औचित्यबारे बैठकलाई जानकारी गराए पश्चात् अरू कमरेडहरूले यससम्बन्धी विधि, प्रक्रिया र समय सन्दर्भलगायतमा आआफ्नो धारणा राख्नुभयो ।’ उनले भनेका छन् ।
उनले छलफलकै बीचमा राष्ट्रपति विद्यादेवी भण्डारीबाट अध्यादेश जारी भएको सूचना प्राप्त भएकोले बैठकले पार्टीलाई अझ एकताबद्ध बनाउन तथा कोरोना संक्रमणविरूद्द जारी लडाइमा सिङ्गो मुलुक एक ढिक्का भई अघि बढ्नुपर्ने आवश्यकतामा विशेष जोड दिएको जनाएका छन् ।
यता बालुवाटार स्रोतका अनुसार राष्ट्रपति भण्डारीले अध्यादेश प्रमाणित गर्ने वित्तिकै सचिवालय भित्र अब के गर्ने भन्ने अन्यौलता छाएको बताएको छ । श्रोतका अनुसार अध्यादेशका बारेमा घनिभूत छलफल हुन नपाउँदै अध्यादेश जारी भइसकेकाले बैठक कोरोना सम्बन्धि निर्णय गरेर टुंगिएको हो ।