अलपत्र यात्रुका लागि नि:शुल्क खाजा घर सञ्चालन

वैशाख ६, सप्तरी। सप्तरीको शम्भुनाथ नगरपालिका–३ का व्यवसायीले ‘निःशुल्क खाजा घर’ सञ्चालनमा ल्याएको छ। पूर्वपश्चिम राजमार्गमा अलपत्र परेका यात्रुलाई लक्षित गरी सप्तरीको शम्भुनाथमा व्यवसायीले ‘निःशुल्क खाजा घर’ सञ्चालन ल्याएको हो। राजमार्ग भएर हिँडने करिब ६०० पैदलयात्रीलाई शुक्रबार निःशुल्क खाजा खुवाएका छन्।  

बन्दाबन्दीका कारण सवारी साधन चल्न नसक्दा हिँडेरै घरतर्फ लागेका ती यात्रुलाई निःशुल्क खाजा खुवाउन पूर्वपश्चिम राजमार्ग छेउमै रहेको ट्राफिक चोकमा खाजा घर सञ्चालन गरिएको हो। लकडाउनले पसल बन्द रहँदा पश्चिमबाट काठमाडौँ, पोखरा, बुटवललगायतका स्थानबाट आफ्नो घरतर्फ हिँडेका यात्रुले खानेपानीसम्म नपाइरहेको अवस्थामा बजारवासीको पहलमा यात्रुका लागि निःशुल्क खाजाको व्यवस्था गरेको छ। स्थानीय वीरेन्द्रकुमार साहका अनुसार बन्दाबन्दीका कारण सवारी साधन नचलेपछि राजमार्गमा हिँडेर जाने यात्रुका लागि ‘बजारभरिका व्यवसायीले चिउरा, भुजा, दालमोट, चाउचाउ, विस्कुटलगायतका सामग्री उपलब्ध गराइरहेका छन्।  

खाजाबाहेक पनि बजारमा क्लिनिक तथा औषधि पसलसमेत सञ्चालन गरिरहेकाले समान्य खालका औषधिसमेत निःशुल्क वितरण गर्दै आएको उनले बताए। चार दिनअघि सञ्चालन गरेको खाजा घरमा शुक्रबार मात्र ६०० यात्रुलाई निःशुल्क खाजा खुवाइएको स्थानीयवासी नर्मदेव यादवले बताइन्। लकडाउनको अवधिभर खाजा घर सञ्चालनमा रहने स्थानीयवासीले बताएका छन्। 

हरियो सागसब्जीको उत्पादन र आपूर्तिमा जोड 

कोरोना भाइरस सङ्क्रमण रोकथाम तथा नियन्त्रणका लागि सरकारले गरेको लकडाउनका कारण हरियो सागसब्जी दैनिक आयात हुन नसक्दा स्थानीयस्तरमा उत्पादन गरिएको सागसाब्जी बिक्री गर्ने गरेको पाइएको छ। तरकारी खेतीले बन्दाबन्दीका बेला पनि स्थानीयस्तरमा उत्पादित हरियो सागसब्जी आपूर्ति व्यवस्थालाई सहज बनाएको छ। 

लकडाउनमा राजविराजसहित स्थानीयवासीले भोग्दै आएका समस्यालाई मध्यनजर गरी सप्तरीको दक्षिण भेगका करिब १५० कृषकले सहजताका लागि स्थानीयस्तरमा उत्पादन गरेको तरकारी गाउँगाउँ तथा शहरबजारसम्म बिक्री वितरण गर्ने कार्यमा अहिले व्यस्त देखिएको छ।   

सेभ द चिल्ड्रेन तथा सेभ द सप्तरीको सहयोगमा सञ्चालित समुन्ती कार्यक्रमअन्तर्गतको जीविकोपार्जन कार्यक्रमअन्तर्गत जिल्लाका दक्षिणी भेग तिलाठी कोइलाडी, छिन्नमस्ता र विष्णुपुर गाउँपालिका र राजविराज नगरपालिका–१४ का अतिविपन्न परिवारका महिला सदस्यले कृषक समूहमार्फत गर्दै आएको तरकारी खेतीले बन्दाबन्दीका बेला पनि स्थानीयस्तरमा हरियो सागसब्जी आपूर्ति व्यवस्थालाई सहज बनाएको कृषि प्राविधिक रामकुमार साहले बताए। 

अहिले उनीहरुले विभिन्न प्रकारका सागसब्जी, लौका, फर्सी, करेलालगायत हरियो तरकारी उत्पादन गरी ग्रामीण भेग तथा शहरमा समेत बिक्री वितरण गरिरहेको कृषि प्राविधिक साहले जानकारी दिए। 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *