प्रचण्ड भन्छन् ‘व्यक्तिको मुख हेरेर अब साध्य छैन, विधि र सिद्धान्त टेक्छौं’

वैशाख ९ गते नै पार्टीको सम्पूर्ण एकता प्रक्रिया टुंग्याइने नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ले जानकारी दिएका छन् । 

आज आइतबार राष्ट्रिय सभामा आयोजित ७० औं पार्टी स्थापना दिवस तथा सम्मान कार्यक्रममा बोल्दै उनले वैशाख ९ गते नै पार्टी पूर्णरुपमा एकता भएको घोषणा गर्ने तयारी भइरहेको जानकारी दिए ।  

‘पार्टी एकताको काम सकाउन आज दिनभरी बालुवाटारभित्रै दुईजना कमरेडलाई खटाएका छौं, बेलुका ५ बजे दुई अध्यक्ष बसेर त्यसलाई हेर्छौं’ अध्यक्ष प्रचण्डले भने, ‘पार्टी एकता विधि विधान र सिद्धान्तमा टेकेर गर्दैछौं । व्यक्तिको मुख हेरेर अब साध्य छैन ।’ अध्यक्ष प्रचण्डले आजै बेलुका ५ बजे पुनः दुई अध्यक्षको बैठक हुने र त्यसपछि ६ बजे पार्टी सचिवालयको बैठक बस्ने कार्यक्रम तय भएको बताए । 

null

 

एकता घोषणापछि तीन महिनामै पार्टीको सम्पूर्ण एकता प्रक्रिया टुंग्याउने सहमति भएपनि विविध कारणले एक वर्षसम्म लागेको बताउँदै भोली एकता टुँगिने बताए । ‘यो एक वर्ष सरकारको र पार्टीको समीक्षा गर्ने प्रक्रियामा छौं,’ प्रचण्डले भने, ‘जनताले निर्वाचनमार्फत दुई पार्टीको एकता अनुमोदन गरेका छन्, जनताको विस्वासलाई डग्न दिँदैनौं ।’ 

भोली सोमबार २२ अप्रिलको दिन कम्युनिस्ट पार्टी स्थापना दिवसको अवसर पारेर जिल्ला अध्यक्ष, सचिव र पोलिटव्यूरो सदस्यहरुको नाम सार्वजनिक गर्ने तयारी भएको छ । जिल्ला कमिटीका अध्यक्ष र सचिवका साथै पोलिटव्यूरो र उपत्यका विशेष प्रदेश कमिटीका पदाधिकारीहरुको नाम टुंगो लगाउन शीर्ष नेताबीच अहिले छलफल चलिरहेको छ । 

आज विहान बालुवाटारमा अध्यक्षद्वय दाहाल र ओली, वरिष्ठ नेता माधवकुमार नेपाल र महासचिव पौडेलबीच भएको पार्टी एकताको विषयमा छलफल भएको थियो । शुक्रबार दुवै अध्यक्षको परामर्शपछि महासचिव पौडेलले शनिवार बिहानै बरिष्ठ नेता माधवकुमार नेपालसँग छलफल गरेका थिए । उनले पार्टी एकताको बाँकी कामलाई टुंगो लगाउन अन्तिम चरणको छलफल भइरहेको बताए । सोमबार पार्टी स्थापना दिवसको अवसरमा विशेष कार्यक्रम हुने तथा पार्टी एकताका बाँकी सन्दर्भ पनि सार्वजनिक हुने सम्भावना रहेको बताए । 

माधव नेपाल पक्षले माग गरे बमोजिम नेकपाको पोलिटव्यूरो कमिटी पनि गठन हुने भएको छ । यसबीचमा केन्द्रीय कमिटी, स्थायी कमिटी र केन्द्रीय सचिवालयको संरचना बनिसकेकोमा अब पोलिटव्यूरो पनि गठन गर्न नेताहरु सहमत भएका छन् । केन्द्रीय कमिटीको एक तिहाई अर्थात १५० को हाराहारीमा पोलिटब्यूरो बन्नेछ । 

दुईपटक केन्द्रीय सदस्य भएको व्यक्तिमात्र पोलिटब्यूरो सदस्य बन्न पाउने नेकपाको बिधानमा छ । नेकपाले मजदूर, किसान लगायत पेशागत जिल्ला कमिटीहरुलाई समेटेर उपत्यका विशेष प्रदेश कमिटीसमेत गठन गर्ने भएको स्रोतको दावि छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *