प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे बस्दै, यस्ता छन् एजेन्डा

भदौ १८, काठमाडौँ । संघीय संसद, प्रतिनिधि सभाको बैठक बुधबार (आज) दिउँसो १ बजे बस्दै छ ।  संविधानसभा भवन नयाँबानेश्वरमा बस्ने आजको बैठकमा विभिन्न मन्त्रालयसँग सम्बन्धित विषयमा प्रश्नोत्तर, केही विधेयक टेबुल गर्ने र केही प्रस्तावहरु पारित गर्ने कार्यसूची रहेको संघीय संसद सचिवालयले जनाएको छ ।   

सचिवालयका अनुसार आजको बैठकको प्रश्नोत्तरका क्रममा कृषि तथा पशुपंक्षी विकास मन्त्रालय र वन तथा वातावरण मन्त्रालय सम्बन्धी सांसदहरुबाट उठेका प्रश्नहरुको संम्बन्धित पक्षले उत्तर दिने कार्यतालिका रहेको छ ।   

त्यसैगरी प्रतिनिधि सभाका सचिव गोपालनाथ योगीले ‘शिक्षा सम्बन्धी केही नेपाल ऐन संशोधन गर्ने विधेयक, २०७५’ का सम्बन्धमा राष्ट्रिय सभाबाट प्राप्त सन्देश टेबुल गर्नुहुने कार्यसूची रहेको छ ।   

त्यस्तै उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री मातृकाप्रसाद यादवले “उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको प्रतिवेदनसहितको औद्योगिक व्यवसाय विधेयक, २०७५ र ‘औद्योगिक व्यवसाय विधेयक, २०७६ लाई पारित गरियोस्’ भनी प्रस्ताव प्रस्तुत गर्नुहुने कार्यसूची रहेको संघीय संसदका महासचिव मनोहरप्रसाद भट्टराईले जानकारी दिए ।   

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *