अमेरिकामा बढ्दो छ कोरोना मृत्युदर, ट्रम्पलाई भने लकडाउन खोल्नै हतार !
वैशाख ५, काठमाडौं । चीनको वुहानबाट फैलन सुरु भएको कोरोना भाइरस (कोभिड १९) को संक्रमण पछिल्ला दिनमा इपीसेन्टर बनेको छ अमेरिका । त्यहाँ गएको २४ घण्टामा २ हजार १५९ जनाले ज्यान गुमाएका छन् । योसँगै मृत्यु हुनेको संख्या ३४ हजार ६०२ पुगेको छ ।
अमेरिकामा एकैदिन २९ हजार १७७ बढीमा संक्रमण देखिएसँगै संक्रमित हुनेको संख्या ६ लाख ७७ हजार १८० पुगेको छ । अमेरिकामा संक्रमितमध्ये ५७ जार ५०८ जना उपचारपछि निको भएका छन् ।
यसरी दिनप्रतिदिन संक्रमितको संख्या बढिरहँदा पनि राष्ट्रपति डोनाल्ड ट्रम्प भने लकडाउन हटाउने सुरसारमा लागि परेका छन् । ट्रम्प स्वयमले पनि गत बुधबार अमेरिकामा कोरोना भाइरसको संक्रमण उच्चतम विन्दुमा पुगिसकेको दाबी गरेका थिए । यद्यपी उनले आजै मात्र उनले लकडाउन खोल्ने आफ्नो तीन योजना सार्वजनिक गरेका छन् ।
‘ओपनिङ अप अमेरिका’ नाम दिइएको उक्त निर्देशिकाका बारेमा राष्ट्रपति ट्रम्पले राज्यका गभर्नरहरूलाई जानकारी गराएका छन् जसमा अमेरिकी राज्यहरुमा जारी लकडाउन खोल्न तीन चरणको योजना अघि सारिएको छ ।
लकडाउन खुकुलो बनाउनुअघि कुनै पनि राज्य वा क्षेत्रमा कूल कोरोना संक्रमितको संख्यामा कमी आएको हुनुपर्ने पूर्वशर्त राखिएको छ ।
पहिलो र दोस्रो चरणमा, सार्वजनिक स्थानमा ‘सामाजिक दूरी’ को निरन्तरता कायम राख्ने तथा १० जना भन्दा बढी व्यक्ति भेला हुन नपाइने उल्लेख छ । साथै जोखिममा रहेका कमजोर व्यक्तिलाई घरबाहिर ननिस्कने प्रबन्ध गर्नु पर्नेछ । यसबाहेक ‘अत्यावश्यक बाहेक’ को अवस्थामा यात्रामाथिको प्रतिबन्ध कायम रहनेछ ।
तेस्रो चरण अन्तर्गत, सबै जनाले भीड र सार्वजनिक अन्तरक्रियामा व्यतित गर्ने समय कम गर्नुपर्ने उल्लेख छ । ठूला ठाउँहरू, बार र जिमहरूले कोभिड–१९ भन्दा पहिलेको तुलनामा ‘सबैभन्दा ठूला परिवर्तन’ सामना गर्नुपर्नेछ । यी स्थानबाट संक्रमण फैलिन नदिन सुनिश्चितता गर्नुपर्नेछ ।
ट्रम्पले केही दिनअघि मात्रै डब्लुएचओलाई गर्दै आएको सहयोग समेत रोक्ने चेतावनी दिएका थिए । उनको पटक पटकको यस्तो वक्तव्यका कारण उनी विवादमा आउने गरेका छन् । उनका कट्टर आलोचक अमेरिकी अर्थाशास्त्री तथा सार्वजनिक नीति विश्लेषक जेफरी डेविड साक्सले करिब एकहप्ता अघि राष्ट्रपति ट्रम्पले नागरिकलाई खतरामा पारेको आरोप लगाएका थिए ।
कोरोनाविरुद्धको प्रयास फितलो भएको उनको भनाइ थियो । उनले ट्रम्प अमेरिकाको इतिहासमै सबैभन्दा असक्षम राष्ट्रपति रहेको बताउँदै आएका छन्।
महामारीमा उनको प्रशासनले गरेको कामले त्यसलाई थप प्रमाणित गरेको उनले बताएका थिए । ट्रम्पले सुरूसुरूमा कोरोना भाइरसलाई चिनियाँ भाइरस भन्दै मजाग उडाउने गरेका थिए । उनले मास्क समेत लगाउँदैनन् ।