सशस्त्र प्रहरीलाई प्रतिगोटा नेपाली १० रूपैयाँ र भारतीय सीमा सुरक्षा बललाई भारतीय १० रूपैयाँ

सर्लाही । केही दिनअघि नेपालगञ्जमा छाडा छोडिएका गाईहरू जम्मा गरी उपमहानगरपालिकाले दैलेख पुर्यायो । दैलेख पुर्याउने क्रममा लगिएका गाईहरू लडाएर मारेको समाचार अहिले पनि सेलाएको छैन । गौहत्यामा अहिले पनि प्रहरीले झण्डै आधा दर्जनलाई पक्राउ गरी कारवाही प्रक्रिया अघि बढाइरहेको छ । उक्त गौहत्याको सर्वत्र विरोध भइरहेको छ । उक्त गौहत्यामा उपमहानगरपालिकाका मेयर धवलसमशेर राणासमेत तानिए । 

तर, नेपालबाट गाई–गोरुहरू प्रहरीको संरक्षणमा बंगालसम्म तस्करी हुने गरेको कुरा नयाँ पक्कै होइन । दाङदेखि नेपालगञ्जमा संकलन गरिएका गाई–गोरुहरू कुनै सर्लाहीको नाकाबाट, कुनै झापाका नाकाहरूबाट त कुनै राजविराजका नाकाबाट भारत हुँदै बंगलादेशसम्म पुग्दै आएका छन् । गाई–गोरुको तस्करीमा संलग्न तस्करहरूले दाङ, झापादेखि तराईका जिल्लाका प्रहरीका घुमुवाहरूलाई मोटो रकम दिएर तस्करी गर्ने गर्दछन् । 

एकाध रूपमा सेटिङ नमिलेर पक्राउ गरिएका समाचार बाहिर आए पनि ठूलो संख्यामा गाई गोरुको तस्करी प्रहरी सेटिङमा नै भइरहेको छ । नेपाल प्रहरी र सशस्त्र प्रहरीका जिल्लाका घुमुवादेखि सीमा क्षेत्रका प्रमुखसमेतलाई मिलाएर नेपालबाट ठूलो संख्यामा गाई गोरुको तस्करी भारत हुँदै बंगलादेशसम्म पुग्ने गरेको छ । केही दिनअघिमात्रै नेपालबाट चीनतर्फ पनि गाईको तस्करी हुने गरेको पुष्टि भयो । नुवाकोटबाट रसुवाको केरुङ हुँदै चीनतर्फ गाई–गोरुको तस्करी हुने गरेको कुरा नुवाकोटमा गाई पक्राउ परेको घटनाले पुष्टि गरेको छ ।   

गाई–गोरुको मासु मुस्लिमलगायतले उपभोग गर्ने भएका कारण ठूलो मात्रामा गाई–गोरुको तस्करी बंगलादेश हुँदै आएकोमा अब चीन तर्फ पनि हुने गरेको देखिएको छ । चीनमा पनि ठूलो संख्यामा गाईको खपत हुने गरेको छ । तराईका जिल्लाहरूमा गाई–गोरुको तस्करीमा ठूलो संगठित तस्करहरूको समूह नै रहेको छ । जसले वर्षौंदेखि दुवै प्रहरी संगठनलाई मिलाएर आफ्नो तस्करीधन्दा चलाइरहेका छन् । ठूला ट्रकमा गाई–गोरुहरू लोड गरी आफूले सेटिङ गरेको नाका नजिकसम्म पुर्याएर झार्ने र रातको समयमा सीमा पार गराउने काम तस्करहरूले गर्दै आइरहेका छन् । काकडभिट्टामा सीमा सुरक्षाको जिम्मा पाएको सशस्त्र प्रहरीलाई प्रतिगोटा नेपाली १० रूपैयाँ र भारतीय सीमा सुरक्षा बल एसएसबीलाई भारतीय १० रूपैयाँ दिएपछि नेपालबाट गाईको तस्करी हुँदै आएको छ ।   

नेपालबाट मासुका लागि गाईको निकासी प्रतिबन्ध छ । गाईबाहेकका चौपाया निकासीका लागि सरकारले झापाका दुईवटा नाकालाई अख्तियारी दिएको छ । काकडभिट्टा र भद्रपुर नाकाबाट गाईबाहेकका चौपाया निकासी गर्न पाइन्छ । एउटा लगे पनि सयौँ लगे पनि एक पटकमा ११३ रूपैयाँ भन्सार बुझाएपछि नेपालबाट गाईबाहेकका चौपाया निकासी गर्न पाइने कानूनी व्यवस्था छ । अहिले धुलाबारी हुँदै ज्यामिरगढीको विचार्नी बजार र चौधरी टोलको नाकाबाट गाई–गोरुको तस्करी हुँदै आएको छ । खरिद गरेको गाई र गोरुको बिक्री तथा खरिदको रसिदमा चौपाया लेखिएको हुन्छ ।   

पशु क्वारेन्टाइन काकडभिट्टाका प्रमुख मुकेशकुमार सिंहले पशुको खरिद–बिक्री रसिदमा चौपायाको हुलिया उल्लेख हुनुपर्ने बताए । सिंहले तस्करको मिलिमतोमा गाईगोरुको तस्करी भइरहेको जानकारी आफूले पनि पाएको बताए । गाईलाई कागजमा गोरु उल्लेख गरी प्रहरीसँगको सेटिङमा भारततर्फ तस्करी हुँदै आएको छ । यस क्षेत्रबाट एक रातमा सरदर सय गाई–गोरुको अवैध तस्करी हुँदै आएको छ । तस्करहरूले झापाका नकलबन्दा, ज्यामिरगढी, पृथ्वीनगर, केचनाकवल, झापा बजार र गौरीगञ्ज नाकालाई समेत प्रयोग गर्ने गरेका छन् ।   

सरकारले गाई निकासीमा प्रतिबन्ध लगाए पनि थारा गाईलाई गोरुसँगै भारततर्फ लैजाने र भारतीय व्यापारीले खरिद बंगलादेशसम्म पुर्याउने गर्दछन् । खुला सीमाको फाइदा उठाउँदै भारततर्फ तस्करी गरिएको प्रतिबन्धित गाई प्रहरीले फाटफुट रूपमा बरामद गरे पनि ठूलो संख्यामा हुने निकासीतर्फ भने सेटिङ भएकै कारण पक्राउ गरिँदैन । सप्तरी जिल्लाका सहायक नाकाबाट ट्रकमै लोड गरेर गाई–गोरु निकासी गरिन्छ भने कतिपय अवस्थामा गाईलाई हिँडाएरै भारत पुर्याइन्छ । प्रहरीले कहिलेकाहीँ पक्राउ गरेका गाई गोरु भन्सारमा बुझाउने गरे पनि तस्करहरूले भन्सारमा सेटिङ मिलाई थोरै मूल्यमा डाक सकारेर पुनः भारत हुँदै बंगलादेशसम्म पुर्याउँछन् ।   

केही दिनअघि महोत्तरी प्रहरीले नेपालबाट भारततर्फ गाई तस्करी गर्न लागेका दुई जनालाई पक्राउ गरेको थियो । पक्राउ पर्नेमा महोत्तरीको सम्सी गाउँपालिका–२ बस्ने मुस्तकिम मोमिन र अबताक शेष रहेका थिए । उनीहरूले सम्सी गाउँपालिका– ७ स्थित वनको बाटो हुँदै नेपालबाट भारत लैजान लागेको अवस्थामा गाईसहित पक्राउ गरेको थियो । यसैगरी केरुङ हुँदै चीनतर्फ गाई गोरुको तस्करी हुने गरेको नयाँ घटनाले अहिले उत्तरी सीमाले पनि चर्चा पाएको छ । विभिन्न स्थानबाट गाई सङ्कलन गरी चीनको केरुङ लैजाने उद्देश्यले रसुवातर्फ लैजाँदै गर्दा गाईसहित दुई जना पक्राउ परेका थिए । बट्टारबाट किस्पाङ गाउँपालिका– ३ काउलेका राज तामाङ र आइत तामाङलाई प्रहरीले पक्राउ गरेको हो । ११ वटा गाईसहित उनीहरू पक्राउ परेका थिए । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *