विदेशबाट फर्किएका ६० जना होम क्वारेन्टाईनमा, पाँच सय सवारी साधन नियन्त्रणमा

चैत्र १३, महोत्तरी । महोत्तरीमा लकडाउनको अवज्ञा गर्ने ५०० बढी सवारी साधन प्रहरीले नियन्त्रणमा लिएको छ । लकडाउनको अवज्ञा गर्दै सवारी चलाउने ५०० सवारी साधन प्रहरीले नियन्त्रणमा लिएको प्रहरी उपरीक्षक श्यामकृष्ण अधिकारीले बताए । 

उनले नियन्त्रणमा लिएका सबै सवारी साधन एक सातापश्चात् सवारीधनीलाई बुझाउने बताए । साथै यदि सरकारले लकडाउनको म्याद थप गरेमा त्यसपछि मात्रै सवारी साधन धनीलाई बुझाउने प्रहरी उपरीक्षक अधिकारीले बताए । 

अवज्ञा गर्ने सवारी साधनमा सबैभन्दा बढी सदरमुकाम जलेश्वर, त्यसपछि बर्दिबास, गौशाला, मटिहानी, सम्सी, पिपरालगायत बजार रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।   

विदेशबाट फर्किएका ६० जना होम क्वारेन्टाईनमा 

स्याङजाको वालिङ नगरपालिकाभित्रका विभिन्न वडामा विदेशबाट आएका ६० जना होम क्वारेन्टाइनमा बसेका छन् । कोभिड–१९ को सचेतनास्वरुप नगरपालिकाले नगरभित्रका विभिन्न वडाका घर घरमा पुगेर ६० जनालाई होम क्वारेन्टाइनमा बस्न सुझाव दिइएको नगर प्रमुख दिलीपप्रताप खाँणले बताए । 

‘नगरभित्रका १४ वटै वडामा विदेशबाट फर्किएका व्यक्तिको तथ्याङ्क सङ्कलन गरिरहेका छौँ, नगरप्रमुख खाँणले भने, ‘विदेशबाट फर्किएका व्यक्तिलाई होम क्वारेन्टाइनमा बस्न सुझावसहित निगरानी तथा अनुगमन पनि अगाडि बढाएका छौँ ।’ विदेशबाट आफ्नो टोलमा कोही आएको खण्डमा वडा वा नगरपालिका कार्यालयमा खबर गरी सहयोग गर्न पनि नगर प्रमुख खाँणले टोलवासीलाई आग्रह गरेका छन् ।   

वालिङ नगरपालिकाको वडा नं। १मा तीन, २ मा सात, ३ मा दुई, ४ मा एक, ५ मा छ, ६ मा पाँच, ७ मा एक, ८ मा एक, ९ मा दुई, १० मा एक, ११ मा तीन, १२ मा पाँच र १४ मा एकजना विदेशबाट फर्किएकाहरु होम क्वारेन्टाइनमा बसेका नगर प्रमुख खाँणले बताए । 

नगरपालिकाले १४ वटै वडामा पुगेर विदेशबाट फर्केकाको तथ्याङ्क सङ्कलन गरिरहेको छ । स्थानीय टोलवासीले नगरपालिका कार्यालयमा खबर गरेसँगै नगरका विभिन्न वडाका घर घरमा पुगेर विदेशबाट आएकालाई १४ दिनसम्म होम क्वारेन्टाइनमा बस्न सुझावसहित आवश्यक परामर्श प्रदान गरिएको उपप्रमुख कल्पना तिवारीले बताए । ‘विदेशबाट आएकालाई १४ दिनसम्म घरमा छुट्टै बस्न लगाएका छौं” उपप्रमुख तिवारीले भने ‘बसे नबसेको नियमित अनुगमन गरिराखेका छौँ ।’ 

बुधबार साँझसम्ममा नगरभित्रका सबै वडाका टोलका घर घरमा पुगेर विदेशबाट आएका तर १४ दिन पूरा नभएका नागरिकलाई आफू सुरक्षित हुँदै घरपरिवारलाई सुरक्षित राख्न क्वारेन्टाइनमा बस्न सुझाव दिइएको नगरपालिका स्वास्थ्य शाखा प्रमुख कमलप्रसाद पाण्डेले बताए । 

दैनिक आफ्नो तापक्रम मापन गर्नका लागि थर्मोमिटर प्रदान गरिएको छ भने आवश्यक परामर्शसमेत दिइएको छ । नगरका १४ वटै वडामा विदेशबाट आएकाको खोजी गरी अभिलेख राख्ने कार्यलाई निरन्तरता दिइने स्वास्थ्य शाखा प्रमुख पाण्डेले बताए । रासस 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *