एनआरएनएका कोषाध्यक्ष र सचिवका उम्मेद्धवारले उठाए दोहोरो नागरिकताको माग

काठमाडौं, २३ असोज । गैरआवासीय नेपाली संघ (एनआरएनए) का अभियन्ताहरुले दोहोरो नागरिकता पाउनुपर्ने मागलाई उठाएका छन् । संघको नवौं महाधिवेशनमा भाग लिन विश्वभरिबाट गैरआवासीय नेपालीहरु काठमाडौं आईसकेका छन् । कतिपयले उम्मेद्धवारी समेत घोषणा गरिसकेका छन् । नवौं महाधिवेशनमा अध्यक्षका लागि कुमार पन्त र कुल आचार्यको भीडन्त हुने निश्चित् भैसकेको छ ।   

नवौं महाधिवेशनमा कोषाध्यक्षका लागि उम्मेद्धवारी घोषणा गरेका सोम सापकोटा, महेश कुमार श्रेष्ठ र सुदन थापाले पनि गैरआवासीय नेपालहरुले दोहोरो नागरिकता पाउनुपर्ने कुरा उठाएका छन् । बुधबार नवौं महाधिवेशनको पूर्व सन्ध्यामा आयोजना गरेको विशेष साक्षात्कारमा बोल्दै कोषाध्यक्षका उम्मेद्धवार सोम सापकोटाले आफू कोषाध्यक्षमा निर्वाचित भए संघको कोषलाई पारदर्शी रुपमा चलाउने विश्वास दिलाए ।   

त्यस्तै, सापकोटाले स्वरोजगार कल्याणकारी कोषलाई चलायमान बनाउँदै गैरआवासीय नेपालीहरुको समस्या समाधान गर्नको लागि उपयोग गर्ने बताए । आफूले विश्वभरि रहेका गैरआवासीय नेपालीहरुसँग साक्षात्कार गरेको र उनीहरुको सल्लाह र सुझावकै आधारमा कोषाध्यक्षको उम्मेद्धवार बनेको सुनाउँदै आफ्नो जीत सुनिश्चित् रहेको पनि सापकोटाको दाबी छ ।   

उनले प्यानल बनाएर चुनाव लड्नुभन्दा संस्था बलियो हुनुपर्छ भन्ने पक्षमा रहेको सुनाए । यद्धपी प्यानलबाटै चुनाव लड्नुपर्ने अवस्था आए अध्यक्षका उम्मेद्धवारी कुल आचार्यसँग आफू नजिक रहेकोले सोहीअनुसार निर्णय लिने पनि उनले स्पष्ट पारे । सापकोटा अहिले संघका सह–कोषाध्यक्ष हुन् । संघलाई कसरी आर्थिक रुपमा बलियो बनाउन सकिन्छ भन्नेबारे आफूसँग विगत १३ वर्ष लामो अनुभव रहेकोले अब उक्त अनुभवलाई व्यवहारमा उतार्ने बेला आएको सुनाउँदै कोषाध्यक्षमा उम्मेद्धवारी दिने निर्णय गरेको सापकोटाको भनाई छ ।   

संघमा आवद्ध भएदेखिको १३ वर्षको अवधिमा आफू संसारभरि रहेका राष्ट्रिय समन्वय परिषदमा आफू पुगेको पनि उनले सुनाए । वैदेशिक रोजगारीका समस्यालाई हल गर्नको लागि पनि आफूले पहलकदमी लिने उनले सुनाए । ‘म कल्याणकारी समितिको सदस्य पनि हुँ, आगामी दिनमा वैदेशिक रोजगारीको समस्या जो छन्, ती सबै हल गर्नको लागि पनि म पहल गर्नेछु ।’–उनले भने ।   

उनले २ करोड रहेको वैदेशिक रोजगार कल्याणकारी कोषलाई कम्तिमा पनि पाँच करोडको कोष बनाउने जनाए । विभिन्न कालखण्डमा आफूहरुले गरेका सञ्चालनमा रहेका परियोजनाहरुको लेखाजोखा गर्नुपर्ने बताए । राष्ट्रिय समन्वय परिषदलाई पनि आर्थिक रुपमा पारदर्शी बनाउनुपर्ने उनको धारणा छ । उनले आफू निर्विरोध कोषाध्यक्ष हुने सम्भावना भएको साथै चुनावी प्रतिष्पर्धा भएपनि आफू नै विजयी हुने उनले सुनाए ।   

कोषाध्यक्षका अर्का उम्मेद्धवार महेशकुमार श्रेष्ठले आफ्नो फाइनान्सियल अनुभवलाई संघमा उपयोग गर्ने सोचका आधारमा नै कोषाध्यक्षमा उम्मेद्धवारी दिने घोषणा गरेको सुनाए । ‘मैले संघको विधान र लगानी समितिमा बसेर काम गरिसकेको छु । संघमा मैले लामो योगदान गरेको छु ।’ श्रेष्ठले भने ।   

त्यस्तै, उनले सरकारले गठन गरेको ईन्भेष्टमेन्ट कमिटीमा पनि आफूले लामो समय काम गरेको बताए । संघको कोषलाई कसरी सवलीकरण गर्न सकिन्छ भन्नेबारे आफूसँग ठोस योजना रहेको पनि उनले सुनाए । उनले भने,‘हाम्रो संघको कोष सेफ सन्टेनेवल हुन आवश्यक छ । त्यो अहिले भैरहेको छैन, हुनुपर्छ भन्ने मेरो मान्यता हो ।’ उनले कोषलाई सवलीकरण गर्नेबारे आफ्नो तत्काल, अल्पकालिन र दिर्घकालिन योजना पनि सुनाए । उनकाअनुसार तत्काल गर्न सकिने योजनामा ८ करोड जम्मा गर्न सकिने योजना सुनाए ।   

उनले भने,‘म रेमिट्यान्स सेक्टरमा काम गरेको व्यक्ति हुँ, मलाई के थाहा छ भने विश्वभरिबाट अहिले ८ खर्ब रेमिट्यान्स नेपाल भित्रिन्छ । रेमिट्यान्स भित्र्याएबापत राष्ट्र बैंकले ३० पैसा इनसेन्टिभ गर्छ । त्यसको एक पैसामात्रै श्रमिकहरुको लागि कलेक्सन गर्न सकियो भने ८ करोड हुन जान्छ ।’ यसबारेमा आफूले राष्ट्र बैंकका अधिकारीसँग छलफल अघि बढाईएको पनि उनले सुनाए ।   

संघको वार्षिक आर्थिक नीति बनाउनुपर्ने आफ्नो धारणा रहेको पनि उनले स्पष्ट पारे । आगामी दिनमा संघका परियोजना र घोषणाहरु आर्थिक योजनामा आधारित हुनेपनि आफूले विश्वास लिएको उनको भनाई छ । संगठनमा हुने खर्चहरु पारदर्शी हुनुपर्ने आफ्नो मान्यता रहेको श्रेष्ठको भनाई छ ।   

उनले कोषलाई अनुशासित, मर्यादित र पारदर्शी रुपमा चलाउने प्रतिबद्धता व्यक्त गरे । संघको सांगठानिक संरचनालाई मजबुद बनाउँदै अघि बढाउने पनि उनले विश्वास दिलाए । संघभित्र पार्टीको राजनीति हावी हुन नदिने पनि उनले स्पष्ट पारे ।   

कोषाध्यक्षका अर्का उम्मेद्धवार सुदन थापाले संस्थालाई आर्थिक रुपमा बलियो र सशक्त बनाउनको लागि आर्थिक पाटो स्पष्ट हुनुपर्ने बताए । उनले भने,‘नेपालमा विदेशी लगानी भित्र्याउनको लागि पनि मेरो उम्मेद्धवारी हो । सन् २००८ देखि कार्यसमितिमा रहेर कार्यरत छु । लाखौं नेपालीहरुको लागि कल्याणकारी कोषको आवश्कत्ता छ ।’ उनले आफू जापानको अध्यक्ष बन्दै गर्दा नेपालीहरुको ठूलो समस्यालाई मध्यनजर गर्दै कल्याणकारी कोष खडा गरेको सुनाए । उनले आफ्नो समग्र उम्मेद्धवारी देशसँग जोड्नको लागि पनि भएको जिकिर गरे ।   

आईसिसीको युवा संयोजक भएर काम गरेको सुनाउँदै थापाले गैरआवासीय नेपाली युवाहरुको वृद्धिविकासमा पनि आफूले ध्यान दिने बताए । उनले भने,‘नेपालमा हालै सम्पन्न भएको आठौं राष्ट्रिय खेलकुद प्रतियोगितामा हाम्रा साथीहरुले भाग लिनुभएको थियो । उहाँहरुलाई खेल्ने वातावरण सिर्जना गरेका थियौं ।’ उनले सबैलाई समेटेर जाने पनि प्रतिबद्धता व्यक्त गरे । सचिवका उम्मेद्धवार अभिमान सिंह बस्नेतले नेपालको सुनौलो भविष्य भनेको नै पर्यटन क्षेत्र रहेको सुनाए । उनले अहिले संघ झण्डैझण्डै चेम्बर अफ कमर्स हुन गैरहेको पनि टिप्पणी गरे ।   

उनले भने,‘टुरिष्ट आउने भनेको मनोरञ्जन गर्न आउने हो । सरकारसँग कुरा गर्नुपर्छ, उनीहरुलाई दिने सेवा तथा सुविधाको लागि ध्यान दिनुपर्छ ।’ उनले एनआरएनए बिल्डिङ सरकारीकरण हुने खतरा रहेको पनि सुनाए । उनले भने,‘यो कुरा उठाउने नेतृत्वमा डिस्कसन गर्न सक्ने क्षमता हुनुपर्छ । संस्थालाई सामूहिक रुपमा अघि बढाउन आफ्नो उम्मेद्धवारी रहेको बताए । उनले आफूलाई अध्यधिक बहुमतले सचिवमा जिताउने पनि विश्वास व्यक्त गरे । गैरआवासी नेपालीहरुले दोहोरो नागरिकता पाउनुपर्ने आफ्नो पनि अडान रहेको बस्नेतको भनाई छ । उनले भने,‘नेपालमा प्लेन चढ्दा दुई गुण तीन गुणा भाडा बुझाउनुपर्छ । यहाँको अधिकार पाउनको लागि पनि हामीले दोहोरो नागरिकता पाउनुपर्छ ।’   

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *