चितवनका सरकारी अस्पतालका डाक्टरले निजीमा विरामी रिफर गर्छन्

चितवन, २० माघ । सरकारी अस्पतालका डाक्टर तथा स्वास्थ्यकर्मीले बिरामीलाई निजी अस्पतालमा रिफर गर्ने प्रवृत्ति नौलो होइन । सरकारी अस्पतालका उपकरण बिगारेर, थन्क्याएर वा बिग्रिएको बहाना बनाएर बिरामीलाई निजी अस्पतालमा दौडाउने खेल चितवनमा ब्यापक रूपमा मौलाइरहेको छ ।  

यस्तै अस्पताल मध्ये एक हो रत्ननगर बकुलहर अस्पताल । यहाँको अस्पतालले प्रेस्क्रिप्सनमै निजी क्लिनिकमा अल्ट्रासाउन्डका लागि रिफर गर्ने गरेको छ ।  

१५ शैयाको यस अस्पतालमा विविध सेवासुविधाका कारण बिरामीको चाप बढेको छ । अस्पताल प्रशासनका अनुसार दैनिक तीन सयको हाराहारीमा बिरामी उपचारका लागि आउने गर्छन् । उपकरण लगायत स्तरीय उपचार सेवा हुँदाहुँदै पनि त्यहाँका कर्मचारीले निजीमा रिफर गर्ने गरेको प्रमाण भेटिएको छ ।  

null

 

भारत घर भई रत्ननगर ९ बस्दै आएकी एक गर्भवती महिला शुक्रबार उपचारका लागि रत्ननगर अस्पताल पुगेकी थिइन् । अस्पतालमा अल्ट्रासाउन्ड उपकरण भएपनि उनलाई भिडियो एक्स–रे का लागि टाँडी बजारको रत्ननगर पोलिक्लिनिकमा रिफर गरिएको थियो ।  

अस्पतालमा सुविधा नभए वा उपकरण बिग्रिए मौखिकरुपमा रिफर गर्नु स्वाभाविकै भए पनि एक स्वास्थ्यकर्मीले अस्पतालको प्रेस्क्रिप्सनमै निजी क्लिनिकको नाम उल्लेख गरेर सिफारिस गरेकी थिइन् । रत्ननगर अस्पतालमा भएको लापर्बाहीबारे अस्पताल व्यवस्थापन समितिका अध्यक्ष देवेन्द्रकुमार श्रेष्ठले गल्ती गर्ने कर्मचारीसँग स्पष्टीकरण लिइसकिएको र उनले नियतवश सिफारिस नगरेको जवाफ दिएको बताए ।  

अस्पतालमा उपकरण भएपनि एकदिनमा २५ जनाको मात्रै अल्ट्रासाउन्ड गर्न भ्याइने भएकाले समय अभावले अन्यत्र पठाइने गरिए पनि प्रेस्क्रिप्सनमै निजी क्लिनिकको नाम सिफारिस गरिनु लापर्बाही भएको श्रेष्ठले बताए ।  

२,३ महिना उपकरण बिग्रिएको थियो । पछि स्वीस डोनरले दुईवटा अल्ट्रासाउन्ड मेसिन सहयोग गरेपछि दुई साता यता अल्ट्रासाउन्ड सेवा सुचारू रहेको उनले बताए ।  

भर्खरै वामे सर्दै गरेको अस्पतालमा यस प्रकारका लापर्बाही हुनु दुःखद कुरा भएको बताउँदै उनले स्वास्थ्यकर्मीलाई मर्यादित भएर काम गर्न मेसु अजय न्यौपाने र आफूले सचेत गराइसकेको बताए । 

चितवनमा ल्याब सञ्चालकले ग्राहक पठाइदिएबापत् निश्चित कमिसन छुट्याउने गरेका हुन्छन् । एक ल्याब सञ्चालकका अनुसार यसरी रिफरमा आउने बिजनेसमा ३० प्रतिशतसम्म कमिसन दिइने गरिन्छ ।  

‘हामीले रिफर गर्ने डाक्टर र कर्मचारीलाई कमिसनको व्यवस्था गरेका छैनौँ । बिरामीको सहजताका लागि मात्र परामर्श गर्छौं,’ रत्न नगरका एक ल्याब सञ्चालक भन्छन् । तर, चितवनमा अधिकांश निजी क्षेत्रका ल्याव सञ्चालकले डाक्टर र अस्पतालका कर्मचारीलाई कमिसन दिने गरेका छन् ।  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *