डोलेश्वरमा भक्तजनको भीड,पालो कुर्दै दिन बित्यो
“
नगरकोट, २ साउन । साउनको पहिलो सोमबार केदारनाथको शिर डोलेश्वर महादेवको मन्दिरमा भक्तजनको बाक्लो भीड लागेको छ ।
भगवान् शिवको आराधना, तीर्थ र व्रत गर्ने महिना भएकाले डोलेश्वर महादेव मन्दिरमा भक्तजनको भीड लागेको हो ।
मेलामा काठमाडौँ, ललितपुर, भक्तपुर र काभ्रेका विभिन्न ठाउँबाट भक्तजन दर्शन गर्न आएका छन् । मन्दिरमा बिहान ३ बजेदेखि भक्तजन पूजाआजा तथा मन्दिर दर्शनका लागि लाइनमा पालो कुरिरहेका थिए ।
विसं २०६६ भदौ ६ गते केदारनाथको शिर घोषणा गरेपछि हरेक वर्षको साउन महिनाभर मन्दिरमा पूजापाठका लागि भक्तजनको भीड लाग्ने गरेको छ ।
यसैबीच डोलेश्वर महादेव संरक्षण तथा विकास समितिको आयोजनमा आइतबारबाट ३८ दिने श्रावणी मेला सञ्चालन भइरहेको समितिका सचिव एवं प्रचारप्रसार समितिका संयोजक मोहन बल्लबले बताए ।
यो महिना पाँचैवटा सोमबार परेकाले शिवको आराधना अनि जल चढाउने कामनाका साथ अझ बढी भक्तजनले यहाँ दर्शन गर्ने उनले अपेक्षा गरे । यसैगरी भक्तपुरको दत्तात्रय मन्दिर, आशापुरी महादेव मन्दिर, नगरकोट महादेव पोखरी, कलमसी कल्पेश्वर महादेवलगायतका शिव मन्दिरमा भक्तजनको ठूलो भीड लागेको छ ।
“