राजधानीबासीलाई दशैंको पिडाः ‘टिकट उतैबाट काटिदिनुस्, नभए दशैँमा घरै आउँदिन’
असोज ६ काठमाडौं । दशैंका लागि अग्रिम टिकट बुकिङ खुलेको दोस्रो दिन अर्थात् सोमबार दिउँसो गोंगबुस्थित नयाँ बसपार्क पुग्दा अलि होलो थियो भिड पहिलो दिनको तुलनामा । भिडभाड अलि होलो भए पनि टिकट काट्ने यात्रुको समस्या भने होलो थिएन ।
कोही बाबा आमालाई घरमा फोन गरेर घुर्क्याउँदै थिए– ‘टिकट उतैबाट काटिदिनुस्, नभए दशैँमा घरै आउँदिन । यहाँबाट टिकट काट्न सकिन्नँ ।’ कोही फोनबाट गुनासो पोख्दै थिए परिवारसँग– ‘एक दुई दिन अघि आउने भनेको १९ गते भन्दा अगाडीको टिकट नै छैन रे । के गरौँ ?’
यात्रुहरुकै गुनासो सुनेर म प्रतिक्षालयको सिटमा बसिरहेकी थिएँ । हेर्दै थिएँ दशैँ अघिको गोंगबुको रमिता । मेरै छेउमा बसेको भाइ पनि यस्तै गरी भुत्भुताउँदै थियो– ‘ह्या कतिबेर फर्किने होला । लाइन बस्दा–बस्दा दिक्क लागिसक्यो ।’ उसको साथी लाइनमा बसेको रैछ । उनीहरु पालैपालो बसेका रे लाइनमा । थकाइ लाग्यो रे । घाम भयो रे । गाह्रो भयो रे ।
मैँले सोधेँ टिकट लिनुभयो ? ‘छैन, हामी साथी–साथी आएका हौँ । पालैपालो लाइन बसेका छौँ । टिकट पो पाइने हो कि होइन । चिन्ता लाइरा’छ । यहाँको ताल यस्तो छ । घरबाट फोन आकोआइ छ । खै के जवाफ दिनु’, तम्घास सिमलटारीका प्रकाश लम्साल निराश मुद्रामा भुन्भुनाए ।
उनका अर्का साथी नयन रिजालको घर चाहीँ पर्वत । उनको घर जानका लागि समस्या रहेनछ । जुन दिन जाने त्यही दिनको टिकट काटे हुने रे । मख्खिँदै सुनाए रिजालले । साथीका लागि साथी मात्र आएका हुन् रे उनी, तर टिकट नपाएको र दिनभरी लाइन बस्नुपरेको झोँक उनलाई पनि चलेको रहेछ । साथीलाई भन्दा ज्यादा । ‘हामी हिजो पनि आएर फर्केको । लाइन बस्दा–बस्दा पालै आएन हिजो । आज पनि उस्तै छ ताल ।’
साथी बोल्न अलि हिच्किचाए पनि उनी खुलेर बोले । गुनासाका पोका टन्नैँ उनका । तर, खोल्न अलि नजान्ने रहेछन् । सायद कलिलै भएर हुनुपर्छ, बोल्नै अक्मकाए । ‘अरु बेला त होलो नै हुन्छ यहाँ । दशैँ तिहारका बेलामा चाहीँ गाह्रो । घन्टौँ लाइन बस्नुपर्छ ।’ उनले भने–‘ हामी भन्दा पछि आएकाहरु, आउनेबित्तिकै काउन्टरभित्रै गएर टिकट लिन्छन् । दिदी तपाईँ आफैँले कारवाही गर्न मिल्दैन ? मान्छे ल्याएर थर्काउनुस् अनि कारवाही गर्नुस् न ! यसरी सोधेर लेखेर मात्रै त के हुन्छ र ? हामीले भोग्ने समस्या टर्दैन क्यारे ।’ उनले मलाई नै सहयोग मागें । म एकछिन त अकमकिएँ । ‘भाइ हाम्रो काम नै लेख्ने हो । तपाईँहरुको गुनासो, समस्या सम्बन्धित ठाउँमा पुर्याइदिने हो । बेथिति अन्त्यका लागि सरकारले नै कदम चलाउनु पर्छ, हामीलाई कारवाहीको अधिकार कहाँ छ र ?’ मेरो जवाफ सुनेपछि उनी नाजवाफ । म तिर हेर्दै फिस्स मुस्कुराउनुको विकल्प देखेनन् उनले । त्यतिबेलै उनीहरुका तेस्रो साथी पनि आइपुगे टिकट लिएर । १४ गतेको साइत जुरेछ घर जाने । तर खुशी भने देखिएनन् उनीहरु । उभिएर जानुपर्ने भएछ !
०००० ००००
घरमा बसे बेरोजगार हुन्छन् प्राय युवाहरु । काम र पढाइका शिलशिलामा हजारौँ सपना देख्दै काठमाडौं आएका हुन्छन् । घर नजिकै हुनेहरु त जान्छन् बेलाबखत परिवारको हालचाल बुझ्न । काठमाडौंका बेथिति र आफूले भोगेका समस्याहरु सुनाउन । गुनासो पोख्न । बाबा आमाको न्यास्रो मेट्न ।
घर टाढा हुनेहरु जाने भनेकै यही दशैँ तिहार । दशैँ तिहारको रमझमको कल्पना गरी मन फुरुङ्ग पार्न नपाउँदै एउटा टेन्सन आइलाग्छ उनीहरुलाई । घर जाने बसको टिकट । कार्यालय, स्कूल, कलेज चाँडै छुट्टी भएपनि भनेको समयमा जानै पाउँदैनन् उनीहरु ।
०००० ००००
टिकट काउन्टर यात्रुका चाप हेरेर बन्द हुने रहेछ । खुल्ने समय निश्चित छैन । बिहान ५ बजे, ६ बजे, कुनै ७ बजे खुल्दा रहेछन् । विराटनगर, गाईघाट, उदयपुर, अत्तरियातिरको काउन्टरमा लाइन थिएन । बस्नुपर्ने अवस्था पनि थिएन । खालीखाली नै थिए । समय समयमा मान्छे भुम्मिन्थे । उक्त काउन्टर बिहान ७ बजेदेखि ११ बजेसम्म र दिउँसो १ बजेदेखि ५ बजेसम्म चल्ने रहेछ । काउन्टरका एक ब्यक्तिले भने, ‘त्यतातिर जाने मान्छे अलि कमै छन् । हाम्रो काउन्टरमा त्यति प्याक हुँदैन । ११ र १ को बीचको समय हामीले खाना खान छुट्याएका हौँ । खाली खाली नै हुने भएर । अर्को काउन्टरतिर राति ८–१० बजेसम्म पनि लाइन हुन्छ ।’
दाङ, तुलसीपुरको काउन्टर पनि होलो नै थियो । लाइन खुकुलै थियो । सुनौली, लुम्बिनी, तौलिहवा, चाकलचौडा, परासी, चनौटा, महाराजगञ्ज, कृष्णनगर, पाल्पा, रामपुर, तम्घास, अर्घाखाँचीका टिकट काट्ने काउन्टर भने भरिभराउ नै देखिन्थे दिउँसोको समयमा पनि ।