चितवनका चार नगरपालिका दमकल खरिद गर्न सकारात्मक

कात्तिक ९, रत्ननगर । पूर्वी चितवनमा चारवटा स्थानीय सरकार छन्, तर यहाँ रहेका चारवटै नगरपालिकामा अत्यावश्यक उपकरणको अभाव छ । विकास निर्माणमा प्रयोग हुने ठूला उपकरणलगायत आगलागी हुँदा नभई नहुने दमकल एउटा पनि छैन । 

विकास निर्माणमा वार्षिक करोडौँ रूपैयाँ खर्च गर्ने यहाँका नगरपालिकाले नभई नहुने दमकल खरिद गर्न सकेका छैनन् । पूर्वी चितवनका घर, कलकारखाना, पसल, उद्योग तथा प्रतिष्ठानहरुमा आगलागी हुँदा भरतपुर महानगरपालिकाको दमकल गुहार्नुपर्छ । आगलागी भएर खरानी भइसकेपछि दमकल आइपुग्ने बाध्यता यहाँ रहेको छ । 

गत वैशाख महिनामा भएको चारवटै नगरपालिकाका मेयरहरुको संयुक्त बैठकले पूर्वी चितवनमा एउटा सामूहिक दमकल ल्याउने लिखित सहमति गरेका थिए । 

null

तर, सहमति भएको ६ महिना हुँदा पनि दमकल ल्याउने प्रक्रिया सुरू हुन सकेको छैन । बैठकले स्थानीय विकास मन्त्रालय अर्थात् नेपाल सरकारमार्फत भारतीय दूतावासबाट दमकल सहयोग माग्ने मेयरहरुले निर्णयसमेत गरेका थिए । तर, त्यो प्रक्रिया अहिलेसम्म सुरू हुन नसकेको रत्ननगरका मेयर नारायण वनले बताए । 

‘दमकल ल्याउनु ठूलो विषय होइन’, उनले भने, ‘त्यसलाई सञ्चालन गर्न खर्चिलो हुने भएकाले चारवटा नगरपालिकाले एउटा संयुक्त दमकल ल्याउने योजना बनाएको हो ।’ 

एउटा दमकल सञ्चालनका लागि चालक, सहचालक र फायर म्यान गरी १२ जनाको जनशक्ति आवश्यक पर्ने र आर्थिक रुपमा एउटा नगरपालिकाले तीन जना कर्मचारीलाई मासिक तलब खुवाउने गरी दमकल सञ्चालन गर्ने सहमति भएको मेयर वनले बताए । 

दमकल ल्याउने विषयमा पछिल्लो समय कालिका नगरपालिका र राप्ती नगरपालिकाले उदासीनता देखाएकाले रत्ननगर र खैरहनीमा मात्र भए पनि दमकल खरिद गर्ने योजना बनाइएको उनले बताए । 

‘यस विषयमा खैरहनीका मेयर लालमणि चौधरीसँग मेरो निरन्तर कुराकानी भइरहेको छ’, मेयर वनले भने, ‘कालिका र राप्ती अग्रसर नभए रत्ननगर र खैरहनीले लगानी गरेर दमकल खरिद गरिने छ ।’ 

रत्ननगर र खैरहनी नगरपालिकाले कयर खोलामा गिट्टी–बालुवा निकासीमा लगाएको करबाट संकलन हुने रकमले दमकल खरिद गर्ने योजना बनाएका छन् । राज्यको सम्पत्तिको प्रयोग गर्दा नागरिकले तिरेको करबाटै नागरिकको भौतिक सम्पत्तिको सुरक्षा गर्न दमकल खरिद गर्ने मेयर वनको भनाइ छ । 

खैरहनीका मेयर चौधरीले स्थानीय विकास मन्त्रालयमा दमकल मागका लागि पत्र पठाइएको बताए । उनले खैरहनीलाई केन्द्र बनाएर दमकल सञ्चालन गर्ने र त्यसको खर्च चारवटै नगरपालिकाले व्यहोर्ने सहमति भएको बताए । 

यता, कालिका नगरपालिकाका मेयर गोपी श्रेष्ठले सामूहिकरुपमा दमकल खरिद गर्ने विषयमा आफू सकारात्मक रहेको बताए । ‘सकेसम्म सरकारी अनुदानमा दमकल ल्याउने हो’, उनले भने, ‘अनुदानमा नपाए हामी दमकल खरिद गर्न सक्षम छौँ ।’ 

वैशाखपछि मेयरहरुको दोस्रो बैठक बस्न नसकेका कारण दमकल खरिद गर्ने विषय ओझेलमा परेको उनको भनाइ छ । 

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *