भारतीय विदेशमन्त्री जयशंकरको भ्रमणबाट नेपालले फाईदा लिन सक्नुपर्छ: पूर्वराजदुत डा. सिंह
भाद्र ३, काठमाडौं । भारतका लागि पूर्व नेपाली राजदुत डा. दुर्गेशमान सिंहले नेपाल–भारत संयुक्त आयोगको बैठकमा भाग लिन आउन लागेको भारतीय विदेशमन्त्री जयशंकरको भ्रमणबाट नेपालले फाईदा लिन सक्नुपर्ने बताएका छन् ।
मंगलबार रिपोर्टर्स क्लबमा बाेल्दै सिंहले भारतमा अहिले म्याण्डेट प्राप्त सरकार आएको र नेपाललाई असाध्यै माया गर्ने प्रधानमन्त्री मोदीले नेपाललाई विशेष महत्व दिएको सुनाए । ‘नेपाल–भारत सम्बन्धमा अब नयाँ गति कायम हुन्छ’–उनले थपे,‘वर्षौदेखि सम्झौता गरेर थन्किएका प्रोजेक्टहरुले अब गति लिन्छन् । ती सम्झौताहरु कार्यान्वयनमा जान्छन् । यो राम्रो कुरा हो ।’
सिंहले अहिले नेपाल–भारत द्धिपक्षीय सम्झौताहरु धमाधम कार्यान्वयनको दिशामा अघि बढिरहेको पनि सुनाए । उनले भने,‘हाईड्राेपावर, हुलाकी राजमार्ग, आईसिपीलगायतका प्रोजेक्टहरु धमाधम अघि बढिरहेका छन् । यो एकदमै सुखद पक्ष हो ।’ संयुक्त आयोगको बैठक दुवै देशको लागि उचित फोरम भएको सुनाउँदै सबै पक्षमा खुलेर कुराकानी गर्नुपर्ने उनले सुझाए । सिंहले अहिले नेपाल–भारतबीच कुनैपनि समस्या नरहेको जिकिर गरे ।