फुटपाथे ब्यापारी र महानगरको लुकामारी कहिलेसम्म ?
भाद्र ११, काठमाडौँ । बामदेव गौतम गृहमन्त्री भएका बेला वि.स.२०७० को अन्तिम तिर ‘अब फुटपाथ व्यापारीहरुलाई कारवाही गर्छु, सडकबाट लखेट्छु’ मात्रै भनेनन्, उनले गृहमन्त्रालय मातहतका सुरक्षा निकायलाई ‘तत्काल फुटपाथ खाली गर्नु, सडक व्यापारीलाई हटाउनु ।’ भन्दै लिखित निर्देशन नै दिए ।
उनको निर्देशन बमोजिम प्रहरी, नगरपालिकाले सडक व्यापारीलाई सडकबाट हटाए । फुटपाथ पनि खाली गराए । कतिका सामान फ्याँकिए । जब नगर प्रहरी आउँथ्यो सडक व्यापारीहरुको भागाभाग नै हुन्थ्यो ।
सडक खाली भएसँगै यात्रुहरुलाई फुटपाथ छाडेर रोडबाट हिँड्नु पर्ने बाध्यता हट्यो भने यात्रुवाहक सावरीले ठक्कर देला की भन्ने चिन्ता पनि दुर भयो । पैदल यात्रुलाई फुटपाथमा ढुक्कका साथ हिँड्न सहज त भयो । तर, पैदल यात्रुको यो सहजता धेरै दिन टिक्न भने पाएन । किनकी व्यापारीहरु महानगरपालिकाको नियमविरुद्ध अझ भनौँ तेतिबेलाका गृहमन्त्री बामदेव गौतम विरुद्ध नै खनिए ।
थोरै लगानीमा सडकमा व्यापार गरिरहेका फुटपाथका ब्यापारीहरु रुष्ट हुनु स्वभाविक पनि थियो, कारण उनीहरुको रोजीरोटी जो खोसिएको थियो । नयाँ विकल्पका साथ फुटपाथको व्यापार व्यवस्थित गरी गरिखान दिनुपर्ने माग राख्दै उपत्यकाका फुटपाथ व्यापारीहरुले काठमाडौं महानगरपालिका समेत घेराउ गरे । एमालेको मुख्यालयसमेत पुग्न भ्याएका थिए । के–के सहमतिमा त्यो साम्य भयो । त्यसको केही वर्षपछि कतिपय नगरपालिकाले फुटपाथलाई करको दायरामासमेत ल्याए ।
केही समयपछि गृहमन्त्रीमा रामबहादुर थापाको इन्ट्रि भयो । उनको इन्ट्रि लगत्तै काठमाडौं महानगरपालिकाले महानगरभित्रका कलंकी, रत्नपार्क, गौशाला, चावहिल, न्यूरोड, बालाजु, कालिमाटी, सुन्धारा, कोटेश्वर, बानेश्वर लगायतका क्षेत्रमा फुटपाथमा बेच्न राखिएका व्यापारीको सामान जफत गर्ने नियम बनायो । पहिला फुटपाथमा व्यापार गर्नेलाई कारवाही स्वरुप १ देखि ५ हजार रुपैयाँसम्म जरिवाना तिराउँदै आएकोमा महानगरपालिकाले गत वर्षदेखि फुटपाथका व्यापारीको सामान जफत गरी लिलामीमा राख्ने नियम ल्याएको हो ।
यो नियम लागू भएपश्चात् व्यापारीहरु केही हदसम्म तर्सिए । सचेत भए । त्यसपछि सुरु भयो फुटपाथ व्यापारी र महानगर प्रहरीबीचको लुकामारी । महानगर लखेटिरहन्छ, उनीहरु पोकापन्तरामा सामान बोकेर भागिरहन्छन् । वर्षौ वितिसक्दा पनि महानगरपालिकाले फुटपाथ ब्यवस्थित गर्ने दिर्घकालिन योजना बनाउन सकेको छैन । न त फुटपाथे ब्यापारीले विकल्प खोज्न सके । अहिलेपनि महानगरपालिका पक्रने फुटपाथे ब्यापारी भाग्ने क्रमले निरन्तरता पाएको छ । फुटपाथे ब्यापारीमा डर छ सामान जफतका जसले गर्दा उनीहरुलाई घाटा हुन्छ । तर, पनि डरैडरमा व्यापार राख्छन्, फुटपाथ मिचेर । साँझपख त फुटपाथमा सामान किन्नेको भिड नै लाग्छ, जसले गर्दा अझै पनि पैदल यात्रु मर्कामा परेका छन् । पैदल यात्रुको अधिकार हनन् भएको छ भने मुख्य सडकमा हिँड्न बाध्य छन् ।
फुटपाथ मानिसहरु हिँड्ने स्थान भएतापनि व्यापारी र सवारी साधनले कब्जा गरेको पैदल यात्रुुहरु बताउँछन् । उनीहरु भन्छन्, ‘नगरपालिकाले फुटपाथ व्यवस्थापन गर्नै सकेको छैन । नाम मात्रको फुटपाथ हो । पार्किङ स्थल, बजार जस्तो छ । हामी आफ्नो बाटोमा हिँड्दा पनिउल्टो फुटपाथ व्यापारीको गाली सुन्नुपर्छ । उनीहरुको सामानमा झुक्किएर टेकियो भने रोड थर्कने गरी झपार्छन् । अनि मुख्य सडकमा हिँड्यो भने ट्राफिकले दुर्घटना बढ्छ भन्दै पाठ पढाउँछन् । यसमा हाम्रो गल्ती कि व्यापारीको ? हामी हिँड्ने बाटो खोइ त ? कहाँबाट हिँड्ने ?’
हो, मैँले पनि भोगेकी छु । कति पटक सडक व्यापारीका गाली पनि खाएकी छु । कति पटक त मेन रोडबाट पैदल पनि हिँडेकी छु, डराइ डराइ । साँझपख टेक्ने ठाउँ हुँदैन फुटपाथमा । कहिले कोसँग ठोक्किन पुगिन्छ त कहिले आफू अगाडी बढ्न ५–७ मिनेटनै कुर्नुपर्छ । एकातर्फबाट आएको आएै हुन्छन्, दोहोरो जाने ठाउँ भएपो ! अनि कहाँबाट हिँड्नु ।
आफूभन्दा अगाडीको मान्छे विस्तारै हिँड्ने पर्यो भने झन् तनाव हुने साँघुरो फुटपाथमा । उसकै तालमा अघि बढ्नुपर्ने बाध्यता आइपर्छ, हतारका बेला । व्यापारीले खाली ठाउँ देख्नै नहुने । सडक व्यापारीको त कुरै छाडौँ, सटरका व्यापारीले समेत आधा फुटपाथ कब्जा गरिरहेका छन् । होटल व्यवसायीको ग्राहक बस्ने कुर्सी, कपडा व्यवसायीको ट्रेलर मेशिन, पानी व्यवसायीको साइकल लगायतले फुटपाथको आधा भाग ओगट्छ । अनि बचेकुचेको फुटपाथमा पनि पार्किङ । त्यसबाट बाँकी रहेको बाटोमा पैदल हिँड्नुपर्ने समस्या । कोही त त्यही बाटोमा बाइक पनि कुदाउँछन् । अनि हामी डराउनुपर्छ, आफ्नो बाटोमा ।
यी समस्याबारे कुरा राख्दा ट्राफिक प्रहरीले फुटपाथ बजार नियन्त्रणको काम आफ्नो कार्यक्षेत्र नपरेका कारण केही गर्न नमिल्ने बताए । फुटपाथ बाहिरका पार्किङ, बजार लगायतलाई भने नियन्त्रणमा लिइएको उनले सुनाए ।
काठमाडौं महानगरपालिकाका प्रवक्ता ईश्वरमान डंगोलले भने फुटपाथ बजार पूर्ण रुपमा नियन्त्रणमा आएको दाबी गरे । उनले भने, ‘फुटपाथमा अहिले बजार छैनन् । हामीले हटाएका छौँ । पहिले जरिवाना लिने गरेका थियौँ । अहिले त नियम पनि कडा बनाएका छौँ । सामान जफत गर्छौँ । जति नै पैसा दिन्छु भने पनि फिर्ता गर्दैनौँ, लिलामीमा राख्छौँ ।’ उनी भन्छन्,‘हामीले धेरै आवतजावत हुने ठाउँमा बजार राख्न नदिन र राख्नेको सामान जफत गर्नका लागि नगर प्रहरीलाई खटाएका छौँ । कहिलेकाहीँ नगरप्रहरीको आँखा छलेर मानिसहरुले राखेको हुन सक्छ । यसबारे सूचना पाए तत्काल कारवाही गरिहाल्छौँ ।’
महानगरपालिकाका नगर प्रहरी प्रमुख धनपति सापकोटाको पनि उस्तै दाबी छ । फुटपाथ बजार नियन्त्रणको नीति प्रभावकारी रुपमा कार्यान्वयन भइरहेको उनी बताउँछन् । उनी भन्छन्, ‘हामीले अधिकांश ठाउँमा नगर प्रहरी खटाएका छौँ । जुनसुकै समयमा पनि उनीहरु छड्केमा गइरहेका हुन्छन् । फुटपाथमा बजार, पार्किङ गरेको देखेमा उठाइहाल्छन् । यसकारण पनि सडक व्यापारी घटेका छन् ।’
नगरपालिकाले जति नै दाबी गरे पनि दिउँसै कतिपय ठाउँमा जुत्ता पोलिस गर्ने, फलफुल, चटपटे बेच्ने व्यापारीहरु निर्धक्क फुटपाथ ओगटेर बसिरहेका छन् । साँझपखको त झन् के कुरा गर्नु ? नयाँ बानेश्वर, गौशाला, मैतीदेवी, बागबजार, रत्नपार्क जस्ता ब्यस्त सडक फुटपाथ ब्यापारीकै कब्जामा हुन्छ ।
यता फुटपाथ व्यापारीको पनि आफ्नै गुनासो छ । आर्थिक स्थिति कमजोर भएका कारण कम लगानीमा सडकमा बसेर व्यापार गर्नुपरेको उनीहरु सुनाउँछन् । ‘हामीलाई पनि यसरी सडकमा बसेर, धुलो खाएर व्यापार गर्ने रहर कहाँ छ र ? बाध्यता हो नि । हामी यहाँ डरमा बसिरहेका छौँ । नगरपालिकाको मान्छे आयो कि भागिहाल्छौँ । नत्र त सामान लैजान्छ, फिर्ता पनि दिँदैन,’ एक फुटपाथ व्यापारीले भने ।
फुटपाथमै नास्पाति बेचिरहेकी आमा त झन् नगरपालिकाको नाम सुन्नेबित्तिकै झर्किन थालिन् । उनले नगरपालिकाले सामान उठाएर दुःख दिने गरेको बताइन् । राख्न हुँदैन भन्ने थाहा हुँदाहुँदै किन यहाँ व्यापार गर्नुभएको त ? पैदल यात्रुलाई गाह्रो हुँदैन ? भन्ने प्रश्नमा उनले झोक्किँदै भनिन्, ‘मलाई के सोधेको, नगरपालिकालाई नै सोध्नु न !’