संसद्मा प्रतिपक्ष र सत्ता पक्षको जुहारीः गर्नेलाई भन्दा देख्नेलाई लाज
सरकार अहिले हिउँदे अधिवेशन सकेर बर्खे (बजेट) अधिवेशनमा घनिभूत छलफलमा छ । संसद यतिबेला बार्षिक नीति तथा कार्यक्रम बनाउने र बजेटका विषयमा दफावार छलफलमा जुटिरहेको छ । संसदबाट नीति तथा कार्यक्रम पास पनि भइसकेको छ ।
तथापि, मंगलबार संसदमा जुन प्रकारको दृश्य मञ्चन भयो, त्यो गर्नेलाई भन्दा हेर्नेलाई नै लाज भो । सिधा हिसाबले भनौं, हिजो संसदमा प्रधानमन्त्री र प्रतिपक्षी विचको नोकझोंकले नेपालको संसदको, लोकतान्त्रिक अध्यासको पुनः एक पटक बेइज्यत भयो । सम्मानीत संसद मात्रै हैन मुलकका कार्यकारी प्रमुख समेत नाङिगए । मुलुकको प्रमुख कार्यकारी आफ्नै शब्दबाँडबाट नाङिगए । आफ्नै अभिब्यक्तिबाट गिरे ।
null
हुनत यस अघि संविधानसभा बैठकमा कुर्सी फ्याँक्ने, एकले अर्कोलाई हिर्काउने, विपक्रेस फुटाइदिने, रोष्टम घेर्ने जस्ता हर्कत पनि नभएका हैनन् । तर, मुलुकले लोकतान्त्रिक प्रणालीको अध्यास गर्न थालेको नै तीन दशक भइसक्दा पनि लोकतन्त्रकै उपहास हुने गरी मर्यादा उलंघन हुनु भनेको कुरीकुरी नै हो ।
मंगलबार प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस र प्रधानमन्त्री केपी शर्मा ओली विचको जुहारीमा जुन शब्दहरु प्रयोग भयो त्यो संसदीय मर्यादाभित्रका शब्द पक्कै थिएनन् । प्रतिपक्ष सरकारसँग रुष्ट हुनु, सरकारको आलोचना गर्नु उसको स्वभाव हो, तर, प्रधानमन्त्री केपी शर्मा ओली त देशकै अभिभावक हुन नी । उनले प्रतिपक्षको प्रश्नको उत्तर दिन सुरु नगर्दै ‘आक्रोश, कुण्ठा र निम्छरा’ भनेर जसरी सुरुमै संवोधन गरे त्यो गलत नै भयो । उल्लेखित शब्दका शब्दार्थ केलाउँदा प्रतिपक्षसँग सरकारका विरुद्ध आक्रोश छ, प्रतिपक्षले कुण्ठा पालेर प्रश्न गर्दैछ र प्रतिपक्ष कमजोर भएरपनि आक्रोश ब्यक्त गर्दैछ भन्ने जनाउँछ । यसर्थ संसदमा प्रधानमन्त्रीले आफ्नो पदीय मर्यादा कायम राख्न सकेनन्, आफ्नो ओज स्थापीत गर्न सकेनन् । यसमा उनी नै बढि दोषि देखिन्छन् ।
हाम्रा प्रधानमन्त्रीको बोली अलिक छुच्चो पनि छ । बाक्यै पिच्छे उखान टुक्का मिसाउँदै आफ्ना विरोधीलाई कठोर शब्दबाँड हान्न खप्पिस छन् । त्यसमाथि, दुई तिहाईको सरकारका प्रमुख, शक्तिशाली पार्टीका अध्यक्ष भएपछी उनमा घमण्ड पनि बढेको हो । हिजोको संसदमा ओलीले प्रतिपक्षलाई त्यहि घमण्ड देखाइदिए ।
प्रधानमन्त्रीको कमजोरी केलाउँदा प्रतिपक्षी कांग्रेसका सांसदहरुको चर्तिकलाको बयान नगरी हुन्न । मंगलबार प्रतिपक्षीहरुले जसरी प्रधानमन्त्रीलाई प्रश्न गरे । ति प्रश्नहरु एउटा पुलिसले अपराधीलाई केरकार गरेजस्तै थियो । कांग्रेसका जुनजुन सांसदले प्रधानमन्त्रीलाई जे प्रश्नहरु सोधे तिनीहरु जायज नै हुन तथापि, जुन प्रकारले आक्रोश र दम्भ देखाएर सोधे त्यहाँ प्रतिशोधको भावना प्रष्टिएको छ ।
एउटा सामान्य नागरिकलाई जुन प्रकारले शिष्टता प्रयोग गर्न सकिन्छ, त्यो समेत नगरी प्रधानमन्त्रीलाई भ्रष्टाचारी भन्दै गरिएको सवाल जवाफले प्रधानमन्त्रीको कन्पारो तातिनु स्वभाविक पनि हो । संसदमा कांग्रेसका सांसदहरुले प्रधानमन्त्रीलाई प्रश्न गर्दा अहिलेसम्म कांग्रेसले मात्र देशका लागि गर्यो, ओली सरकारले भ्रष्टाचार वाहेक केहि गरेन भन्ने दावि गरे । जुन सरासर गलत हो ।
मुलुक संघिय गणतन्त्रमा गइसकेपछि त्यसको कार्यान्वयनमा बर्तमान सरकारको भूमिका उल्लेखनीय नै छ । तीन दशकपछी मुलुकले स्थायी सरकार पाएको छ । यस हिसाबमा बर्तमान सरकारले धेरै कुरा गर्न सक्छ र, पछिल्ला दिनहरुमा सरकारले गर्न खोजेको पनि छ । पुरानो संरचनाबाट मुलुकलाई नयाँ संरचनामा लैजाँदा, ब्यवस्था परिवर्तन गर्दा त्यसको कार्यान्वयनमा जटिलता पक्कै आउँछ र, त्यो जटिलताले देशको कार्यपालिका, न्यायपालिका लगायत सबैतिर ब्यवधान आउनु स्वभाविक हो ।
बर्तमान सरकारले सरकार गठनको दुई वर्ष संविधान कार्यान्वयनको वर्ष भनेकै थियो । साथमा, समृद्ध मुलुक सुखी नेपाली अभियानको फाउण्डेशन वर्ष पनि । सोहि अनुरुप कार्य नभएका पनि हैनन् । त्यस कारण बर्षौपछि आएको स्थायी सरकारलाई काम गर्ने वातावरण बनाइदिनु प्रतिपक्षको पनि भूमिका हुनुपर्छ । आफुले सरकारमा रहँदा गरेका सबै काम शुद्ध अरुले गर्दा अशुद्ध भन्ने भावना प्रतिपक्षले हटाउनु पर्छ ।
गायिका आनी छोइङले भनेकै छिन् नि, ‘फुलको आँखामा फुलै संसार काँडाको आँखामा काँडै संसार’ । सरकारको काम कारवाहीलाई फुलको आँखाले हेर्ने की काँडाको आँखाले हेर्ने हो, हेर्नेको नजरमा भर पर्छ । तर, सधैं नकरात्मक कुरा गरेर, विध्वंस मच्चाएर, आक्रोश पोखेर मात्र देश बन्दैन भन्ने इतिहासले चरितार्थ गरेको छ । यो कुरामा कांग्रेसले पनि ध्यान दिनुपर्छ ।
लोकतान्त्रिक पद्दतिमा पक्ष विपक्ष दुवैले आ–आफ्ना कुरा राख्न पाउँछन्, संसदभित्र सांसदहरुले पनि शिष्टाचार प्रयोग गर्दै आफ्ना भनाई राख्नुपर्छ । मंगलबारको संसद बैठकमा नत सांसदले शिष्टाचार प्रयोग गरे, नत प्रधानमन्त्रीले नै । त्यसकारण मंगलबारको संसद बैठक गर्नेलाई भन्दा हेर्नेलाई लाज जस्तै भो ।