कोरोना भाइरसः वुहान न्युन जोखिम क्षेत्र घोषित, अमेरिका र क्यानाडाको सिमाना थप एक महिना बन्द
फाइल तस्विर
वैशाख ७, वेइजिङ । कोरोना भाइरसको उद्गमस्थल मानिने चीनको वुहानलाई कोरोना भाइरसको संक्रमणबाट न्युन जोखिमपूर्ण क्षेत्रको रुपमा घोषणा गरिएको छ । पछिल्लो १४ दिनमा कुनैपनि संक्रमित नभेटिए कोरोनाभाइरसबाट न्युन जोखिमपूर्ण क्षेत्र घोषणा गरिने व्यवस्था अनुसार वुहान क्षेत्रलाई न्युन जोखिमपूर्ण क्षेत्र घोषणा गरिएको हो ।
चीनमा कम्तीमा पनि पछिल्लो १४ दिनमा कोरोनाभाइरसबाट संक्रमित कुनैपनि व्यक्ति नभेटिएका राज्य, जिल्ला तथा शहरहरुलाई कोरोना न्युन जोखिमपूर्ण क्षेत्रको रुपमा घोषणा गरिने मापदण्ड राज्य सरकारले बनाएको छ ।
त्यसैगरी ५० वा सोभन्दा कम संक्रमित देखिएको ठाउँलाई मध्यम जोखिम र ५० भन्दा बढी संक्रमित भेटिएको ठाउँलाई उच्च जोखिमपूर्ण क्षेत्र मानिने मापदण्डमा उल्लेख गरिएको छ । चिनियाँ राष्ट्रिय स्वास्थ्य आयोगले दिएको पछिल्लो विवरण अनुसार आइतबार देशभरी १६ जना मात्रै नयाँ संक्रमित भेटिएका छन् ।
आइतबारसम्ममा कोरोना भाइरसका कारण चीनमा मृत्यु हुनेको संख्या चार हजार ६३२ पुगेको आयोगले जनाएको छ । त्यसैगरी कुल संक्रमितको संख्या ८२ हजार ७३५ पुगेको छ भने एक हजार ४१ जनाको मात्रै अहिले उपचार भइरहेको छ । बँकी ७७ हजार ६२ जना संक्रमणमुक्त भइसकेका छन् ।
त्यस्तै उता अमेरिका र क्यानाडाको सिमाना थप एक महिनालाई बन्द गर्न दुवै देश सहमत भएका छन् ।
क्यानाडाका प्रधानमन्त्री जस्टीन ट्रडोले थप ३० दिन दुई देशको सिमाना बन्द गर्न दुवै देश सहमत भएको जानकारी दिएका छन् । उनले सिमानाका बन्द गरिए पनि अत्यावश्यक सेवाका लागि कुनै अवरोध नहुने शनिबार स्पष्ट पारेका छन् ।
सिमाना बन्द गर्ने अवधि कति समयसम्म लम्बिन्छ भन्ने कुरा अहिले नै भन्न सकिने अवस्था रहेको पनि उनले बताए । ‘यस अगाडि भएको सम्झौतालाई अहिले थप ३० दिनका लागि लम्ब्याइएको छ, तर अत्यावश्यक सेवाको कामका लागि भने कुनै अवरोध हुने छैन,’ उनले भने ।
कोरोनाभाइरसको प्रभाव सबैभन्दा धेरै महाशक्ति राष्ट्र अमेरिकामै देखिएको छ । पछिल्लो विवरण अनुसार अमेरिकामा आइतबारसम्म सात लाख ३८ हजार ९२३ जना संक्रमित भएका छन् भने ३९ हजार १५ जनाको मृत्यु भएको छ ।
त्यसैगरी क्यानाडामा कोरोनाभाइरसबाट ३३ हजार ३८३ जना संक्रमित हुँदा एक हजार ४७० जनाको मृत्यु भएको छ । एजेन्सी