आधा सिलिण्डर ग्यास लिन उपभोक्ताहरु कोरोना संक्रमणको जोखिम मोलेरै लाइनमा (फाेटाे फिचर सहित)

चैत्र १४, काठमाडौं । सरकारले कोरोना भाइरस रोकथामका लागि मुलुकलाई लकडाउन गरेपनि राजधानीमा ग्याँसको लाइनमा बस्नेहरुले लकडाउनको पालना गर्न सकिरहेका छैनन् ।   

इन्धन अभाव हुन्छ की भन्ने त्रासमा रहेका राजधानीका उपभोक्ताहरु जोखिम मोलेरै लाइनमा बस्न बाध्य छन् । शनिबार अनामनगरस्थित नेपाल ग्यासको डिपोमा ग्यास आउँछ की भनेर रित्तो सिलिण्डर लिएर बस्नेहरु धेरै थिए ।   

उक्त लाइनमा अनामनगर वरपरका मात्र हैन मैतिदेवी, घट्टेकुलो, पुतलीसडक, पुरानोबानेश्वर, नयाँ बानेश्वरदेखि बौद्ध नयाँबस्तीबाट समेत उपभोक्ताहरु आएर असुरक्षित तवरले लाइन लागिरहेका थिए ।   

सरकारले यसअघि २५ जना भन्दा बढिको भेला, सभा समारोह नगर्न नागरिकलाई आग्रह गरेपनि इन्धन अभावमा उपभोक्ताहरुले सरकारको निर्देशन अवज्ञा गरेका थिए । गत ११ गतेदेखि लकडाउन सुरु भएको अवस्थामा राजधानीका सडक त सुनसान छन् तर, इन्धन, दैनिक उपभोग्य सामग्रीका पसल र डिपोहरुमा भने उपभोक्ताहरुको लाइन छ । ‘लकडाउन कहिलेसम्म हुने हो थाहा छैन, ग्यास भयो भने कमसेकम दालभात मात्रै भएपनि पकाएर खान त सकिन्छ कि भनेर ज्यानै जोखिममा पारेर लाइनमा बसेको हो ।’ घट्टेकुलो–२९ बस्ने शान्तिमाया तामाङले भनिन् ।   

बौद्ध नयाँ बस्तीका चेतराज बस्नेतको भएको एउटा सिलिण्डरमा विहान खाना पकाउँदा पकाउँदै ग्यास सकियो । सञ्चार उद्यमी समेत रहेका बस्नेत परीवारले आज भोली नै ग्यास सिलिण्डर सकिएला भन्ने अनुमान नै गरेका थिएनन् । ‘अर्को सिलिण्डर खाली थियो, चलेको सिलिण्डरले १०–१२ दिन थाम्ला भनेको थिएँ । विहान खाना पकाउँदै सकियो, चारतिर फोन गर्दा समेत ग्यास नपाइएपछि यहाँ लाइन बस्न आएको हुँ ।’ उनले भने ।   

उनलाई कोरोना रोकथामका लागि सरकारले लकडाउन गरेको थाहा त छ तर, जहान परिवारलाई काँचै खुवाउन नसक्ने भएर जोखिम मोलेरै लाइनमा बस्नु उनको बाध्यता हो । ‘कोरोना कहर विश्वब्यापी हुँदा सरकारले हाम्रै सुरक्षाका लागि लकडाउन गरेको थाहा भएपनि खानै नपाउने भएपछि लकडाउन तोडेको हुँ ।’ उनले भने ।   

दुई दिनअघि आयल निगमले आधा सिलिण्डर मात्रै ग्यास दिने भनेपनि ०७२ सालको भूकम्पपछिको अघोषित नाकावन्दीको स्मरण गर्दै उपभोक्ता थप त्रसित भएका छन् ।   

लकडाउनको फाइदा उठाउँदै ग्यास डिलरवाला 

सरकारले भरी सिलिण्डरको मुल्य तोकेको छ रु १३७५ । त्यसको आधा सिलिण्डरको मुल्य हुनुपर्ने हो ६८७.५० पैसा । तर, अनामनगरको नेपाल ग्यास डिलरमा भने ६९० रुपैंया खुलेआम लिइएको छ । ग्यास डिलरवालालाई किन बढि मुल्य लिइएको भनेर एक उपभोक्ताले प्रश्न गर्दा ती डिलरवालाको जवाफ आयो–‘ज्यानको जोखिम राखेर ग्यास पाउनु भएको छ, तीन रुपैंया बढि लिँदा तपाईलाई के घाटा भो ? मसँग खुद्रा छैन । खुद्रा लिएर आउनुस ।’ डिलरवालाको रुखो जवाफले उपभोक्ता केही भोल्न सक्दैनन् ।   

यो विषयमा ग्यास वितरण गर्दैगर्दा सुरक्षाका लागि आएका प्रहरीपनि डिलरवालाकै पक्षमा देखिए । ‘धन्न ग्यास पाउनुभाछ । थपक्क लैजानुस न के अढाइ तीन रुपैंयाको हिसाब खोजिरा ?’ प्रहरीकै ओठे जवाफ पाएपछि उपभोक्ताहरु थप विवाद गर्न चाहँदैनन् । थप अढाइ रुपैंया डिलरवालालाई थप नाफा दिएर हिँड्छन् ।   

अनामनगरमा आजमात्रै करिब पाँच सय सिलिण्डर आए । त्यस हिसाबले हेर्ने हो भो प्रति सिलिण्डर उपभोक्ताले अढाइ रुपैंया बढि तिर्नुपर्दा दैनिक १२५० रुपैंया उक्त डिलरवालाको अघोषित कमाइ भयो ।   

तपाई हामीलाई लाग्न सक्छ ‘जाबो अढाइ रुपैंयामा के मरिहत्ये गरेको ?’ तर हिसाब गरौं अढाइ रुपैया भनेर हामी सबैले वास्ता नगरेको पैसाले एकै दिनमा ती डिलरवालाले १२५० कमाए । त्यस हिसाबले उनले मासिक ३७५०० अतिरिक्त कमाइ गर्दा रहेछन् । यसलाई वर्षमा जोड्दा उनले वार्षिक ४ लाख ५० हजार त तपाई हामीले जाबो अढाइ रुपैंया भनेर छाडिदिएको पैसाले कमाउँदा रहेछन् । अचम्म त यहाँ छ की उनले त्यो ४ लाख ५० हजारको आयकर समेत सरकारलाई बुझाउनु पर्दैन ।   

आपुर्तिमन्त्रीको भनाई स्यालको कथा 

त्यसो त ‘न्याय नपाए गोर्खा जानू’ भन्ने उखान जस्तै ‘ग्यास नपाए सरकारलाई फोन गर्नु’ भन्ने उद्योग, वाणिज्य तथा आपुर्ति मन्त्री लेखराज भट्टको बयान ‘स्यालको कथा’ जस्तै भएको छ ।   

नेपाल आयल निगम तथा ग्यास उद्योगीहरुले पटक–पटक इन्धन अभाव हुन नदिने, नपाएर घरघरमा इन्धन पुर्याइदिने प्रतिबद्धता पनि ‘हावा गफ’ भएको छ । भने, लकडाउन सुरु हुनु अगाडी सरकारले ‘बढि खाद्यान्न र इन्धन जोहो नगर्नु, नपाए हामी आफैं ल्याइदिन्छौं’ भनेर दिएको अभिव्यक्ति पनि राजधानीबासीका लागि ‘हावा’ भएको छ ।  

तस्विरहरूः सागरबाबु भट्ट /मकालु खबर 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *