बाग्लुङकी ६५ वर्षीया महिलाले जितिन् कोरोना, तीन सातामा फर्किइन् घर

वैशाख ७, काठमाडौं । बाग्लुङकी ६५ वर्षीया महिला कोरोना भाइरस (कोभिड-१९) मुक्त भएर घर फर्किएकी छन् । पीसीआर परीक्षणमा लगातार दुई रिपोर्ट नेगेटिभ आएपछि उनलाई धौलागिरी अञ्चल अस्पतालबाट डिस्चार्ज गरिएको हो । 

शनिबारै साँझ डिस्चार्ज भएकी उनी अब दुई हप्ता घरमै क्वारेन्टाइनमा बस्नेछन् । तेस्रो र चौथोपटकको स्वाब परीक्षणमा रिपोर्ट नेगेटिभ आएपछि उनी निको भएको अस्पतालले जनाएको हो । बेल्जियमबाट ४ चैतमा आएकी उनी चैत १९ गते धौलागिरी अञ्चल अस्पतालमा भर्ना भएकी थिइन् ।   

र वृद्धावस्थामा पनि उच्च मनोबल भए सहजै कोरोनालाई जित्न सकिन्छ भन्ने सन्देश दिएर उनी घर फर्किएकी छन् । डिस्चार्जपछि अस्पतालबाट बाहिरिँदा अस्पतालमा आफूले धेरै स्याहार पाएको भन्दै उनले खुसी व्यक्त गरिन् । 

उनले भनिन्, ‘सबैको माया र मेरो आत्मबिश्वासले रोगलाई जितेर घर फर्किन पाएँ ।’ आफूलाई अस्पताल नआइकनै ठीक हुन्छ जस्तो लागेको उल्लेख गर्दै उनले भनिन्, ‘डाक्टर र नर्सहरुले मेरो धेरै सेवा गर्नुभयो ।’ 

धौलागिरी अञ्चल अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. शैलेन्द्र बिक पोखरेलले १७ दिनको उपचारपछि निको बनाएर ती महिलालाई डिस्चार्ज गरेको  जानकारी दिए । यसअघि हिजै काठमाडौंको टेकु अस्पतालबाट काठमाडौंकी १९ वर्षीया युवती पनि कोरोनामुक्त भएर घर फर्किएकी छन् ।  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *