आज पनि उठ्यो ‘गलबन्दी’ विवाद, सिरिन्ज आक्रमणको पनि ध्यानाकर्षण

 

असार १०, काठमाडौं । प्रतिनिधि सभाको मंगलबारको बैठकमा सांसदहरुले गायक प्रकाश सपूतको लोकगीत ‘गलबन्दी’ देखि अन्य समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराएका छन् । 

शून्य समयमा बोल्दै सांसद बिमला विकले गायक तथा सर्जक प्रकाश सपुत र शान्ति श्री परियारको लोक गीत ‘गलबन्दी’ विवादबारे सरकारको ध्यानाकर्षण गराइन् । 

null

उनले भनिन्, ‘गीत बाँझियो भनेर दाबी गर्ने शम्भू राईका समर्थकहरुले जातलाई लिएर अपमान गरेका छन् । तीनहरुलाई कानुनी दारामा ल्याएर अबिलम्ब कारवाही गर्न माग गर्दछु ।’ 

सांसद महेश्वरजंग गहतराज अथकले प्रकाश सपुत र शान्तिलाई अपमानित गर्नुका साथै सिंगो समुदायलाई नै अपमानित गर्ने गरी सामाजिक सञ्जालमा भइरहेका गतिविधि नियन्त्रणका लागि सरकारलाई गम्भीर कदम चाल्न माग गरे । 

सोमबारको संसदमा पनि यस विषयमा सांसदले सरकारको ध्यानाकर्षण गराएका थिए । कांग्रेस नेता एवम् सांसद मीनबहादुर विश्वकर्माले प्रकाशको समर्थन लिँदै ‘मेरो लय नक्कल गरिएको भनेर सत्तारुढ दलका समर्थक शम्भू राईले प्रकाशलाई मुद्दा हालेछन् । प्रकाश सपूतको गीत कुनै पनि भाकासँग मेल खाँदैन । शम्भू राईले सामान्य कलाकारले गरेको काममा चोरी गरेको भन्नु लज्जास्पद छ,’ भनेका थिए । 

यस्तै सांसद मिना सुब्बाले केही दिनदेखि राजधानीमा महिलामाथि सिरिञ्ज आक्रमणका घटना बढेको र यसले महिला जगतमा त्रास फैलिएको बताइन् । उनले यस घटनालाई गम्भीर रुपमा लिई सत्यतथ्य पत्ता लगाई दोषीलाई कारबाही गर्न माग गरिन् । 

त्यसैगरी सांसद बिमला नेपालीले नागरिकताको विषय उठाइन् । उनले गृह मन्त्रालयले एकपछि अर्को निर्देशन दिएर नागरिकता वितरणमा सधैं समस्या देखिने गरेकाले दीर्घकालिन समाधानका लागि नागरिकतासम्बन्धी विधेयक तत्काल सदनको छलफलमा ल्याउन सम्बन्धित निकायको ध्यानाकर्षण गराइन्। 

यस्तै सांसद मैना कुमारी भण्डारीले राजधानीका वीर अस्पताल र त्रिवी शिक्षण अस्पतालमा पनि सरकारले अघि सारेको स्वास्थ्य बिमाअन्तर्गतको उपचार हुने व्यवस्था गर्न माग गरिन्। 

सांसद यज्ञ बहादुर बोगटीले गएराति अछाम जिल्लाको पञ्चदेवल विनायक नगरपालिका–३ र ढकारी गाउपालिका–५ को वडा कार्यालयमा आगजनी गरेको विषयमा सरकारको ध्यानाकर्षण गराए । उनले दोषीमाथि कडा कारबाही गर्न माग गर्दै निजी घरमा भएको क्षतिको क्षतिपूर्ति उपलब्ध गराउन आग्रह गरे । 

सांसद यज्ञराज सुनुवार संघीय शिक्षा ऐन आउन ढिलाई हुनु र यस बीचमा तीनै तहको सरकारको समन्वयको अभाव हुँदा सिंगो शिक्षा क्षेत्र नै प्रभावित हुन सक्नेतर्फ सरकारलाई सचेत गराए । 

सांसद राजबहादुर बुढा क्षेत्रीले गत बैसाख २२ र २४ गतेको असिना र वर्षाले दैलेखमा अन्नबालीमा क्षति भएको र त्यसको अहिलेसम्म राहत उपलब्ध नगराइएको भन्दै त्यसतर्फ सरकारले चासो देखाउनुपर्नेमा जोड दिए । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *