महोत्तरीको ‘धुर्मुस – सुन्तली बस्ती’ अब ‘नमुना बैज्ञानिक गाँउ’ बन्ने
असीम तिमल्सीना । महोत्तरी जिल्लाको बर्दिवास स्थित ‘धुर्मुस – सुन्तली फाउन्डेसन’ द्वारा निर्मीत मुसहर बस्ती अब ‘नमुना वैज्ञानिक गाँउ’ बन्ने भएको छ । नेपाल विज्ञान तथा प्रविधि प्रतिष्ठान (नास्ट) ले विभिन्न कार्यक्रम अघि सारी उक्त कार्य गर्न लागेको हो ।
प्रत्येक वर्ष एउटा मध्य पहाडी जिल्ला तथा एउटा तराईको जिल्लामा नमुना वैज्ञानिक गाउँ निर्माण गर्ने योजना सहित अघि बढेको नास्टले यस वर्ष महोत्तरीको मुसहर बस्ती रोजेको हो ।
नास्टका वैज्ञानिक अधिकृत डा तिर्थराज घिमिरेले यसलाई प्रविधि हस्तानतरण गर्ने नास्टको उदेश्यको एक कदम मान्नुहुन्छ । उहाँ भन्नुहुन्छ, “सामाजिक आर्थिक तथा राजनीतिक हिसाबले पछि परेका समुदाय एवम् ठाउँलाई विशेष प्राथमिकत्ता दिएर त्यहाँको उत्थानको निम्ति हामी लागिपरेका हौ ।”
मुसहर बस्तीमा रहेका ५० घरका ५० परिवारलाई रोजगारी दिने उदेश्यले यस कार्यक्रमलाई अघि सारिएको हो । त्यस अन्तर्गत बाँसबाट मुढा, नाङ्लो लगायतका बाँसजन्य उत्पादन बनाउन सिकाइसकिएको छ ।
यस अघि नास्टले काभ्रे जिल्लाको पोखरी नारायणस्थान गाउँपालिकामा नमुना वैज्ञानिक गाउँ कार्यक्रम कार्यान्वयन गरिसकेको छ । वर्षाको पानी जम्मा गरेर प्लास्टिक पोखरी निर्माण गरिनुका साथसाथै ४५ घरमा सोलार समेत जडान गरिसकिएको छ ।
आवश्यक बजेट विनियोजन हुने बित्तिकै उक्त कार्यक्रम पूर्ण रूपमा कार्यान्वयन गरिने अधिकृत डा घिमिरेले बताउनु भयो ।