दुर्घटनामा बाँचेका प्रहरी निरीक्षकले भावुक हुँदै भने, ‘हेर्दाहेर्दै साथीलाई विमानले किच्यो’

 

बैशाख २, सोलुखुम्बु । नयाँ वर्ष २०७६ को पहिलो दिन वैशाख १ गते बिहानैदेखि अधिकांशको मोबाइलमा शुभकामना आदनप्रदानको कार्यक्रम चलिरहेको थियो तर त्यही बेला पर्यटकीय क्षेत्र लुक्लामा समिट एयरको विमान दुर्घटको खबरले अधिकांश दुखित भए । 

पर्यटक आउने याम भएकाले तेञ्जिङ हिलारी विमानस्थल लुक्ला यति बेला निक्कै व्यस्त रहन्छ । आइतबार पनि बिहानैदेखि उडान तथा अवतरण चलिरहेका बेला ९ः२० मा समिट एयरकोे ९ एन–एएमएच विमान दुर्घटनामा पर्यो । प्रत्यक्षदर्शी प्रहरी निरीक्षक देउप्रसाद लिम्बूका अनुसार धावनमार्गको दायाँ भागमा रहेको हेलिकप्टर पार्किङस्थलमा मनाङ एयरको हेलिकोप्टर अवतरण भएको केही मिनेटमै एउटा विमान उडेको थियो । त्यतिबेलासम्म समिट एयर रनवेको बायाँपट्टि रहेको पार्किङस्थलमा नै उड्नका लागि तयार भएको थियो । लुक्लाबाट पर्यटक लिन रामेछापको मन्थली विमानस्थल उड्न लागेको विमान धावन मार्गको दुई सय मिटर पर पुगी एक्कासि दायाँतिर मोडियो र पार्किङ गरी राखिएको मनाङ र श्री एअरको हेलिकोप्टरमा ठोक्किन पुग्दा दुर्घटना भएको प्रहरी निरीक्षक लिम्बूले बताए । ‘बिहानैदेखि हामीसँगै थियौँ । प्रहरी नायब निरीक्षकद्वय रामबहादुर खड्का र रुद्र श्रेष्ठ केहीमिटर तल हुनुहुन्थ्यो, हामी पनि त्यतै जाँदै थियौं, विमानको आवाज अलि फरक खालको सुनियो र फर्केर हेर्दा हामीतिरै विमान आउँदै गरेकाले माथिल्लो कुनातिर लाग्यौँ,’ प्रहरी निरीक्षक लिम्बूले भने, ‘तर उहाँहरू पछाडि नफर्किएकाले हुनसक्छ दुबैलाई किच्दै हेलिप्याडमा पुगेर त्यहाँ रेहेको हेलिकप्टरलाई समेत क्षति पुर्‍यायो, हामी तत्काल उद्धारमा जुट्यौँ । दुई प्रहरी नायब निरीक्षकलाई हेर्दाहेर्दै विमानले किच्यो, खड्काको तत्काल मृत्यु भयो, श्रेष्ठ भने सख्त घाइते हुनुभयो ।’ सहकर्मी गुमाउँदा भावुक बनेका उनले भने, ‘केही मिटरको दूरीमा रहेका सहकर्मीको एकसेकेण्डमै मृत्यु भयो तत्काल खटियौँ, घाइतेलाई पाँच मिनेटमै काठमाण्डौ पठायौं, अनि मृतकलाई केही समयपछि ।’ 

null

दुर्घटनामा समिट एयरका सहचालक काठमाण्डौ चावहिलका ३४ वर्षीय सुजित ढुङगाना, दोलखा घर भई लुक्लास्थित पर्यटन प्रहरी कार्यालयमा कार्यरत प्रहरी सहायक निरीक्षक ३९ वर्षीय रामबहादुर खड्काको घटनास्थलमै मृत्यु भयो । 

भोजपुर जिल्ला घर भएका प्रहरी नायब निरीक्षक ४२ वर्षीय रुद्र श्रेष्ठको काठमाण्डौमा उपचारका क्रममा मृत्यु भएको प्रहरी निरीक्षक लिम्बूले बताए । प्रहरी सहायक निरीक्षक रामबहादुर खड्का पर्यटक प्रहरी कार्यालय लुक्लाका प्रमुख हुनुहुन्थ्यो भने रुद्र श्रेष्ठले विमानस्थल सुरक्षा गार्ड प्रमुख हुनुहुन्थ्यो । उनीहरु बिहानैदेखि विमानस्थलको सुरक्षाको लागि अन्य सहकर्मीसहित खटिएका प्रहरी निरीक्षक लिम्बूले बताए । आफू नाम्चे इलाका प्रहरी कार्यालयका प्रमुख भएपनि वसन्त ऋतुको यो याममा पर्यटकको चाप अत्याधिक हुनेभएपछि लुक्ला विमानस्थलमै खटिने गरेको उनको भनाइ थियो । विमानस्थलमा खटिएका प्रहरीले बिहानैदेखि खानासमेत नखाइकन दिउँसो उडान तथा अवतरण बन्द नभएसम्म बस्नुपर्ने हुन्छ त्यसैले आइतबार बिहान पनि सबैजना भोकै रहेको लिम्बूले सुनाउनुभयो । चियासमेत नखाइकन सुरक्षामा बसेको साथीको ज्यान गयो । उनले भने, ‘भाग्यले बाँचियो, मेरै आखाँ अगाडि केही मिटरको फरकमा दुई सहकर्मी गुमाउनुपर्दा ज्यादै दुःख लागेको छ । तत्काल उद्धारमा लागिएकाले त्यसबेला केही महसुस भएन तर अहले नयाँ जिन्दगी पाएछु जस्तो लागिरहेको छ । घाइतेले पनि नयाँ जीवन पाए भन्दा फरक पर्दैन ।’  

घाइते हुनेमा काठमाडौं कालिमाटी टोल घर भएका समिट एयरका चालक रविनाथ रोकाय, ललितपुर उपमहानगरपालिका भैंसेपाटी निवासी मनाङ एयरका चालक ४८ वर्षीय चेतबहादुर गुरुङ, मनाङ एयर लुक्लाका स्टेशन म्यानेजर खुम्बुपासाङ ल्हामु गाउँपालिका २ का ४३ वर्षीय लाक्पा छिरिङ शेर्पा र मनाङ एयरकै कर्मचारी खुम्बुपासाङ ल्हामु गाउँपालिका २ का ५५ वर्षीय स्याङबुचे कार्की रहेको प्रहरीले जनाएको छ । विश्वकै जोखिमपूर्ण विमानस्थलमध्ये एक मानिने लुक्ला विमानस्थलको रनवेको लम्बाइ सामान्य विमानस्थलको भन्दा निकै कम (५२७ मिटर) मात्र रहेको छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *