‘समृद्धि दलालको कि माफियाको ? सार्वजनिक संस्थान डुबाउनेलाई मृत्युदण्ड दिऔं’

 

जेठ ६, काठमाडौं । नेपाल मजदुर किसान पार्टी (नेमकिपा) का सांसद प्रेम सुवालले सार्वजनिक संस्थान डुबाउनेलाई मृत्युदण्ड दिनुपर्ने बताएका छन् । 

सोमबार प्रतिनिधिसभाको बैठकमा औद्योगिक व्यवसाय विधेयकमाथि आफूले दर्ता गरेको विरोधको सूचनाबारे धारणा राख्ने क्रममा सांसद सुवालले यस्तो बताएका हुन् । उनले भने, ‘सार्वजनिक संस्थान डुबाउनेको अपराध हेरेर मृत्यदण्डको सजायसमेत दिनुपर्छ ।’ 

null

लघु, घरेलु र साना उद्योग निजी क्षेत्र र मझौला तथा ठूला उद्योग राज्यले सञ्चालन गर्नुपर्ने स्पष्ट पार्दै सांसद सुवालले एक अर्ब भन्दा माथिको उद्योगलाई आयकर छुट, लिजमा जग्गा उपलब्ध गराउने लगायतका छुट दिने व्यवस्थाको विरोध गरे । 

यस्तै सांसद अमरेशकुमार सिंहले अहिलेको सरकारले जनताको पक्षमा काम गर्न नसकेको आरोप लगाए । उनले सरकारले जति समृद्धिको नारा रटेपनि देशमा कृषिको विकास नभइ समृद्धिको सम्भावना नरहेको जिकिर गरे । 

‘यो सरकारको नारा छ, समृद्धि, सुशासन । कसको समृद्धि ? बिचौलियाको समृद्धि कि, दलालको समृद्धि कि माफियाको समृद्धि ? सरकारले यसमा प्रष्ट गरिदिएन । मैँले किन भन्न खोजेको भने किसान उखु बेच्छ । सरकारको मिलेमतोमा किसानलाई पेमेन्ट हुँदैन । सर्लाहीमा ३ वटा चिनी मिल छ । ३ वटै कम्पनीले गत वर्षको पनि पेमेन्ट गरेन । अहिले पनि गरेको छैन । चिनी सबै बेचिसक्यो’, सांसद सिंहले भने, ‘यसमा कुन मन्त्रालयको मिलेमतो छ ? जानकारी पाउँ । बिचौलिया, उद्योगी मोटाउने । किसान गरिब हुने । किसानको उठिबास लाग्ने । सरकारको यस्तो नीतिले सरकारको समृद्धि आउँछ होला जस्तो मलाई लाग्दैन ।’ 

त्यसैगरी राजपा सांसद अनिल कुमार झाले अस्थायी शिक्षकका मागबारे ध्यानाकर्षण गराए । 

संसदको शुन्य समयमा बोल्दै उनले भने, ‘अस्थायी शिक्षकहरुले विभिन्न मागहरु राखि लामो समयदेखि विरोधका कार्यक्रमहरु गर्दै अहिले अनशनरत अवस्थामा छन् । लामो समयदेखि उहाँहरुको अनशन चलिरहेको छ । सरकारले अस्थायी शिक्षकहरुको माग सम्बोधन गर्न कुनै पनि सुनुवाई गरेको छैन । राहत कोटाका शिक्षकहरु पनि अहिले समस्यामा छन् । उनीहरु पनि विचल्लीमा छन् । राहत र अस्थायी शिक्षकहरुको माग अबिलम्ब सम्बोधन गर्न माग गर्दछु ।’ 

  

  

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *