पर्यटनले चिन्न नसकेको पात्रः दिनकर सुब्बा

 

चैत्र १३, धरान ।  ढक्…ढक्…ढक्…ढोका ढक्ढक्यायौं । एकजना महिलाले ढोका खोल्नु भयो । मुस्कानसहित स्वागत । हामी भित्र छिर्यौं । दुई स्टेप भर्याङ चढेर कोठाभित्र प्रवेश गर्यौं । दुइ स्टेप तल झरेर बैंठक कोठामा छिर्यौं । एकजना होचा कदका, हृष्टपुष्ट, राता पिरा अनुहार, अनुहारमा चमक । छोटा तर मिलेको कालो जुंङ्गा । हातमा सिगार लिएका । झट्ट हेर्दा हिन्दी चलचित्रको अभिनेता झै लाग्ने । बस्न आग्रह गर्नुभयो । मेरो लागि भिन्न शैलीका व्यक्तिसँगको भेट । थोरै असजिलो । थोरै कौतुहलता । कुराकानीका क्रममा चकित भए । सोचेभन्दा फरक । ओहो ! उहाँ त पर्यटनको पायनियर पो हुनुहुँदोरहेछ । 

आजकल भारतको बंगालमा बस्नु हुन्छ । दिनकर सुब्बा । जसले २५ वर्षअघि पूर्वमा विदेशी पर्यटक भित्र्याउनु भएको थियो । एकैछिनको कुराकानीबाट प्रभावित भए । सहकर्मी मित्र वासुदेव बरालसँगको पुरानो चिनजान रहेछ । उहाँकै सम्पर्कमा सुब्बासँग भेट्ने अवसर प्राप्त भयो । पर्यटन भिजनको भण्डार रहेछ सुब्बासँग । दुई जनाको यसअघि कयौं पटक भेट भएको थियो रे । सायद उहाँहरुबीच खुलेर पर्यटनको गफ नभएकाले होला । सुब्बालाई चिन्न नसकेको अभिव्यक्त गर्नुभयो । आजको भेट बरालजीको लागि पनि बेग्लैं महसुस भएछ । यसपटकको भेटको उद्देश्य बेग्लै थियो । पर्यटनसँगै जोडिएको । 

null

 

दिनकर सुब्बा 

धरानको चतरालाइनमा बंगलो जस्तो देखिने पुरानो घर । घरको गेट बाहिर स्विमिङ पुलको बोर्ड टाङ्गिएको छ । हाल त्यो बन्द छ । प्रायः बन्द देख्दथे । थुप्रै पटक ओहोरदोहोर गर्र्दा कसको होला । किन बन्द छ । प्रश्न उब्जिएका थिए । हेर्दा लाग्थ्यो कोही सौखिन व्यक्तिको हुनुपर्छ । लामो समय चतरालाईनमा बसोवास गर्नुभएका बरालजीलाई एकदिन उक्त घर अघिबाट हिँड्दा कस्को हो सोधे । चिनेको दाइको हो अहिले बाहिर हुनुहुन्छ । कहिलेकाही आउनुहुन्छ रे । धेरै समयदेखि बन्द भएकाले लथालिङ्ग थियो । यस घरमा रोयल होमस्टे चलाउनु कत्ति राम्रो हुन्छ । हामीले योजना बनायौं । दाइ आएपछि भेटाउला नी । वाचा गर्नुभएको थियो । सुब्बा आएकाले उक्त घर गएका थियौं । घरको विषयमा कुरा गर्न । तर, कुरा घरको होइन । कुरा पर्यटनको भयो । लाग्यो उहाँलाई धरानेले चिन्न सकेका रहेनछन् । पर्यटनमा सरोकार राख्छौं । उहाँको कुरो सुनिरहे । हामी त कति पछि रहेछौं । उहाँसँगकाे गफले काम गर्न हौसला प्राप्त भएको छ । 

‘टक टु मच, वर्क भेरी लेस । विकासको मुख्य बाधक यहि हो । प्लान र एक्सन सँगै हुनुपर्छ, अनि मात्र योजनाअनुरुप कार्य सम्पादन हुन्छ’, उहाँको कथन थियो । उहाँले पूर्वमा पर्यटन व्यवसायको फितलोपना देखेर व्याख्या गर्नुभएको । २०५१ सालमा इटहरीमा भिलेज रिजोर्ट नामक रिजोर्ट सञ्चालन गर्नुभएको रहेछ । विदेशी पर्यटकलाई लक्षित गरी । 

करिब ८ वर्ष याक एण्ड यति ट्राभल एजेन्सीमा टुर म्यानेजर भएर काम गर्नुभएको अनुभव एवम् लिंकलाई प्रयोग गर्ने मनसायले आफ्नै क्षेत्रमा रिजोर्ट सुरु गर्नुभएको रहेछ । करिब ५५ वर्षका सुब्बा आफ्नो विगत सुनाउनुहुन्छ, ‘जीवनमा निकै रमाइलो गरियो । जागीर गर्दा विदेशीसँग यात्रा गरिन्थ्यो । देश मजाले घुमियो । विदेशी पर्यटकको चाहना पनि बुझे । अनि आफ्नै क्षेत्रमा व्यवसाय सुरु गरेको थिए ।’ कुराकानी कै क्रममा । ‘नानी चिया र बिष्कुट लिनु होस्न’–मुस्कुराउदै सहमती जनाए । अघि स्वागत गर्ने आमा पो हुनुहुँदो रहेछ । चिनाजान गरियो । उहाँको माइती दार्जिलिङ । दार्जिलिङ शिक्षाका लागि नामी सहर । दिनकरका बाजे धरानको पहिलो मन्त्री । बाबु श्री सुब्बा पनि नामी कलाकार । भारतका इलाहावादबाट फाइन आर्टमा स्नातक गरेका । यसैले छोरालाई पनि शिक्षामा कन्ज्युस्याइ गरेनन् । भारतका विभिन्न स्थानहरुमा शिक्षा आर्जन गर्न पठाए । दिनकरले तत्कालीन नेपालका राजपरिवारले अध्ययन गरेको विद्यालय नर्थ पोइण्टबाट शिक्षा सुरु गरी बैगलोर युनिभर्सिटीबाट एमबिए गर्नुभएको रहेछ । 

पर्यटनप्रति तिव्र चासो रहेका उहाँले आफ्नै बोर्डिङ स्कूल छाडेर पर्यटनतर्फ लाग्नु भएको रहेछ । उहाँको सिद्धान्त सफल व्यवसायी बन्न अरुकोमा जागिर गरेर ज्ञान आर्जन गर्ने, अनि व्यवसाय गर्ने । वाह ! सफल व्यवसायी बन्ने सूत्र । जागीर छाडेर व्यवसाय सुरु गरेको रिजोर्टले सुरु कै वर्ष ८० प्रतिशत अकुपाइ गर्यो, मुस्कुराउँदै भन्नुभयो । उहाँ हौसलाका साथ पूर्वमा पर्यटक भित्र्याउने अभियानमा लागि पर्नुभएको थियो । तर, बिडम्बना समय बैगुनी बनिदियो । उहाँमा ठूलै बज्रपात पर्यो । आफ्नी अर्धाङ्गिनी गुमाउनुभयो । उहाँको उर्जा र जाँगर हरायो । बिरक्तिएर विदेशिनु भएको रहेछ । यसले पूर्वको पर्यटनमा क्षति पुगेको लाग्यो । सुब्बा भन्नुहुन्छ, ‘परिवारको साथले समयसँगै आफूलाई सम्हाले । अहिले निर्माण व्यवसायमा लागेको छु । छोराले साथ दिन्छ ।’ गहभरि आँसु बनाउँदै भन्नुभयो यस घरसँग मेरो बेग्लै याद छ । 

मानिसले आफ्ना सपनालाई हत्तपत्त भुल्न कहाँ सक्दा रहेछन् र । उहाँसँग भलाकुसारी गरेपछि थाहा हुन्छ । उहाँको पर्यटनप्रतिको लगाब । रत्तिभर पनि कम भएको रहेनछ । पर्यटनको कुरा गर्ने वित्तिकै कत्ति उर्जाशील हुनुभयो । लाग्थ्यो उहाँ त भर्खर २५ वर्षको युवा हो । विगतमा पर्यटकसँगको क्षण । समकालीन साथीहरुका नाम अझैं पनि प्रष्ट साथ बताउनु हुन्छ । साल र स्थान पनि लेखेरै वाचन गरे जस्तो भन्नुहुन्छ । उहाँको पर्यटनको गफ गर्ने शैली देखेर कायल भयौं । एकटकले हेरिरहे । उहाँको उर्जा । पर्यटन व्यवसायबाट पलायन भएपनि पर्यटनप्रतिको खोज र अध्ययन उहाँमा अथाह पाए । उमेरभन्दा निकै जोसिला उहाँ अझैं पनि एड्भेन्चरमा रमाउनु हुँदोरहेछ । बेला बेला फिसिङ्गमा रम्नु हुन्छ रे । गफ गर्दा गर्दै धरानमै र्याफ्टिङ चलाइरहेका दुइ युवा आइपुगे । सुब्बाले बोलाउनु भएको रहेछ । तमोर र सुनकोशीमा र्याफ्टिङ गर्न समय तय गरी बुक गर्नुभयो । सिलीगुढीबाट साथीहरु लिएर आउने मज्जाले दुइ चार दिन रमाउने, उहाँले हाँस्दै भन्नुभयो । 

पर्यटनको मुख्य पूर्वाधार के हो ? त्यसको तय गरेर सहायक सुबिधाहरु तयार गर्नुपर्छ । हाम्रो बलियो पक्ष हामीसँग हिमाल, पहाड र तराइ तीनवटै भू–भाग छ । मिश्रित जनजीवन छ । जनजीवनलाई पर्यटन प्रोडक्ट बनाऔं । ब्राण्डिङ गरौं । टार्गेट ग्रुप छानेर मार्केटिङ गरौं । प्रोडक्ट बिक्री गरौं । रेभिन्यु भित्रिन्छ । व्यवसायिकरण गरौं न पर्यटन विकास आफैं हुन्छ नी ।’ 

पर्यटनलाई व्यवसायिकरण गर्ने सन्दर्भमा उहाँ भन्नुहुन्छ, ‘व्यवसायिक पर्यटनको सपना साकार गर्ने हो भने नीजि क्षेत्र र सरकारी निकायको तालमेल हुनुपर्छ । पर्यटन विकास गर्नका लागि नीजि क्षेत्रले खोज, अनुसन्धान गरेर आवश्यकताको निक्र्याेल निकाल्ने । त्यसको सहायता सरकारी निकायले गर्नुपर्छ । उहाँका अनुसार, ‘नेपालको मुख्य आकर्षण नै भौगोलिक बनावट हो । हिमाल, पहाड र तराइ । नेपालमा बेग्लै पूर्वाधार छ । यसको मार्केटिङ गर्न किन हामीले सकेनौं । हामीसँग छ भनेर गमक्क पर्छाैं । तर, यसलाई कसरी बेच्ने सोचेका छैनौं । प्याकेज बनाएर मात्र हुदैन । यसको मार्केटिङ र सेल नगरेसम्म त्यो प्याकेज सफल भयो की भएन थाहा हुदैन । एक्लैले पर्यटन थाम्न सम्भव छैन । यसका लागि नेटवर्क आवश्यक पर्छ ।’ पूर्वमा पर्यटनको विकास कसरी गर्ने प्रश्न गर्दा उहाँ एकछिन गम्भीर हुनुभयो । अनि भन्नुभयो, ‘पूर्वेलीमा कलेक्टिभ ड्रिम नभएकाले पछि परेको छौं । व्यवसायिक पर्यटनको योजना नै छैन । दूरदर्शिता र पूर्वाधार एकरुपता हुनुपर्छ । पर्यटनको मुख्य पूर्वाधार के हो ? त्यसको तय गरेर सहायक सुबिधाहरु तयार गर्नुपर्छ । हाम्रो बलियो पक्ष हामीसँग हिमाल, पहाड र तराइ तीनवटै भू–भाग छ । मिश्रित जनजीवन छ । जनजीवनलाई पर्यटन प्रोडक्ट बनाऔं । ब्राण्डिङ गरौं । टार्गेट ग्रुप छानेर मार्केटिङ गरौं । प्रोडक्ट बिक्री गरौं । रेभिन्यु भित्रिन्छ । व्यवसायिकरण गरौं न पर्यटन विकास आफैं हुन्छ नी ।’ 

उहाँको जवाफले म नाजवाफ भए । लाग्यो ‘कुवाको भ्यागुतो जहाँको त्यहि’ उखान जस्तो । साँच्चै हामी त यहि मात्र पो उफ्रिरहेका रहेछौं । खोइ त हाम्रो लिंक ? सहकार्य गर्न हिच्किच्याउछौं । हामीसँग सम्भावनाको खानी छ । त्यसको प्याकेजिङ र ब्राण्डिङ शून्य छ । अनि पर्यटनको विकास भएन भनी चिच्याउछौं । बिना गुरुयोजना क्षणिक आवेसमा कार्य गर्छाैं । व्यवसायिकताको कमी नै पूर्वको पर्यटन विकासको कमजोरी रहेछ । 

लेखकः एलिना मगर पर्यटन ब्यवसायी हुनुहुन्छ । 

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *