साख जोगाउने कसरतमा नेपाल र कुइँकेल

मङ्सिर १२, काठमाडाैं । नेकपा एमालेका वरिष्ठ नेता एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल र काँग्रेसका निवर्तमान सांसद दीपक कुइँकेल काठमाडाैं क्षेत्र नम्बर २ बाट निर्वाचनमा दोस्रोपटक सँगै भिडदै छन् । यही क्षेत्रबाट दुवैले एक/एक पटक जितेका थिए । त्यो पनि एकै वर्ष ०७० को दोस्रो संविधान निर्वाचनमा नेपालले जिते । त्यो वर्ष उनी रौतहटबाट पनि विजयी थिए । दुईमध्ये एक छाड्नुपर्दा नेपालले काठमाडौँ–२ छाडेका थिए ।

त्यसपछिको उपनिर्वाचनमा एमालेका उम्मेदवार कृष्णगोपाल श्रेष्ठलाई हराउँदै कुइँकल विजयी भए । उनीहरू दुवै जना ०६४ को निर्वाचनमा काठमाडौँ २ मा माओवादीका झक्कुप्रसाद सुवेदीसित पराजित भएका थिए । यस पटक फेरि दुवै जना प्रतिस्पर्धी भएका हुन् । यस वर्ष दुवैलाई अघिल्लो निर्वाचनमा पाएको मत जोगाउनु छ ।उनीहरूलाई विवेकशील साझाका उम्मेदवार सूर्यराज आचार्यले समेत टक्कर दिएका छन् । आचार्य दुवै गठबन्धनको मत तान्ने कसरतमा छन् । जापानको टोकियो विश्वविद्यालयबाट ‘पूर्वाधार र क्षेत्रीय विकास’ विषयमा पीएचडी गरेका ५५ वर्षीय आचार्यले त्यहींबाट सहरी विकास, पूर्वाधार एवं यातायातको क्षेत्रमा दक्षता हासिल गरेका छन् । उनी पूर्वाधारविदका रूपमा पनि चिनिन्छन् । जापानमा रहँदा एसियाको पूर्वाधार विकासको नीति बारेमा अध्ययन समितिको नेतृत्व तहमा बसेका आचार्य स्वदेश फर्केपछि पुल्चोक इन्जिनियरिङ क्याम्पसमा अतिथि प्राध्यापक भए ।

गणितमा एमएस्सी गरेका ५० वर्षीय कुइँकेल अघिल्लो निर्वाचनमा जितेपछि आफ्नो क्षेत्रमा विकासको सुरुआत गरेका छन् । ६५ वर्षीय नेपालले वाणिज्यशास्त्रमा स्नातकसम्मको अध्ययन गरेका छन् । ०७० को निर्वाचनमा नेपालले काँग्रेसकी उम्मेदवार प्रतिमा गौतमभन्दा साढे नौ हजार बढी मतले जितेका थिए । नेपालले छाडे पछिको उपनिर्वाचनमा कुइँकलेले एमालेको भन्दा ४ हजार बढी मत ल्याएर विजयी भएका थिए । काठमाडौँ २ क्षेत्रमा मतदाताले हरेक चुनावमा फरक फरक उम्मेदवारलाई जिताएको देखिन्छ । ०६४ को निर्वाचनमा माओवादीका झक्कु सुवेदी एकाएक उदाए । सुवेदीले पाएको मतभन्दा नेपालको एक हजार मात्रै कम थियो । ११ हजार मत ल्याएर काँग्रेस तेस्रो स्थानमा थियो । ०७० को निर्वाचनमा नेपालले २१ हजार ७ सय ४७ मत पाएर जिते । नेपालले रौतहट रोजेपछि काठमाडौँ दुईमा भएको उपनिर्वाचनमा एमालेका कृष्णगोपाल श्रेष्ठले १४ हजार १ सय ५७ मतमै चित्त बुझाउनु परेकाे थियाे । नेपालको प्रतिस्पर्धी प्रतिमा गौतमले १२ हजार ४ सय ६९ मत मात्रै ल्याएकी थिइन् तर उपनिर्वाचनमा कुइँकेल १८ हजार मत ल्याएर विजयी भएका थिए ।

०६४ मा आफूले हार्नु अपवाद मात्रै भएको नेपालले बताए । उपनिर्वाचनमा आफूले काठमाडौँ छाडेकै कारण काँग्रेसले जितेको उनी स्विकार्छन् । ‘त्यो बेला मेरो पनि कमजोरी हो,’ उनले भने । उपनिर्वाचनबाट क्षेत्र नम्बर २ लाई काँग्रेसले पहिलोपटक आफ्नो पकडमा पारेको कुइँकल बताउँछन् । उनले पाएको मत स्थानीय निर्वाचनसम्म टिक्न सकेन । स्थानीय निर्वाचनमा एमाले अघि देखिएको छ । काठमाडौँ २ मा पर्ने महानगरका दुई वडा र अन्य दुई नगरपालिकाको मत अनुसार एमाले १८ हजार ९ सय ५९ मतसहित पहिलो स्थानमा छ । काँग्रेस १४ हजार ९ सय ८१ मतसहित दोस्रो र माओवादी ५ हजार ४ सय ५३ र राप्रपाको ४ हजार २ सय ९६ मत छ । वाम गठबन्धन एमाले र माओवादीको मत २४ हजार ४ सय १२ र लोकतान्त्रिक गठबन्धनको १९ हजार दुई सय ७७ मत । स्थानीय निर्वाचनमा काठमाडौँ महानगरपालिकामा एमाले र राप्रपाको गठबन्धन थियो । काँग्रेस एकल प्रतिस्पर्धामा उत्रिएको थियो । ‘एकल प्रतिस्पर्धा गर्दा मात्र काँग्रेस कमजोर देखिएको हो,’ कुइँकेल भन्छन्, ‘विकास देखेर पनि मतदाता मेरा पक्षमा छन् ।’ एमाले, काँग्रेस र अन्य दलबाट निराश भएका मतदाता आफ्नो पक्षमा रहेको आचार्यले बताए ।

काठमाडौँ क्षेत्र नम्बर २ मा काठमाडौँ महानगरपालिकाका ९ र ३२ वडा पर्छ । यी दुवै वडामा एमालेका उम्मेदवारले जितेका छन् । यी दुई वडामा ३० हजार दुई सय १० मतदाता छन् । यो क्षेत्रमा कागेश्वरी मनहरा नगरपालिकाको ४ देखि ९ वडा पनि पर्छन् । त्यसबाहेक शंकरापुर नगरपालिकाका सबै वडा यही क्षेत्रमा पर्छन् । कागेश्वरी मनहरामा २४ हजार ५ सय ३७ मतदाता छन् । शंकरापुर नगरपालिकाको १९ हजार ९ सय १ मतदाता छन् । मतदाता आफ्नो पक्षमा पार्न उम्मेदवारहरू घरदैलोमा सक्रिय छन् । नेपाल सोमबार साँखु र पालुवाबारी घरदैलो र काँग्रेसका उम्मेदवार कुइँकेल लेप्सीफेदीमा व्यस्त थिए ।

उनीहरूका प्रतिपस्पर्धी आचार्य भने कोटेश्वर र सिनामंगल क्षेत्रमा घरदैलो र अपराहन बत्तीसपुतलीका मतदातासँग अन्तरक्रियामा थिए । मतदातासँगको भेटमा सडक र पानीको व्यवस्था गरिदिनुपर्ने समान माग रहेको नेपाल बताउँछन् । उनी आफूलाई काठमाडौँ २ का दु:ख, सुखका उम्मेदवार भन्न रुचाउँछन् । भूकम्पको बेला होस् या यस क्षेत्रमा हुने कार्यक्रममा आफू सक्रिय सहभागी भएको नेपाल दाबी गर्छन् ।

रौतहटमा स्थानीय निर्वाचनको परिणाममा एमाले कमजोर भएपछि यो क्षेत्रबाट उम्मेदवारी दिएको उनीमाथि आरोप छ । रौतहटमा अरूलाई अवसर दिन र राष्ट्रिय राजनीतिमा पूरा समय दिन पनि काठमाडौँ रोजाइमा परेको उनी बताउँछन् । ‘मलाई काठमाडौँको मायाले तान्यो । मेरो घर पनि यही क्षेत्रमै छ,’ उनले भने, ‘मेरो दु:ख, सुख साट्ने ठाउँ नै काठमाडौँ हो ।’ निर्वाचनको माहोल आफ्नो पक्षमा रहेको उनले बताए । ‘काँग्रेस र राप्रपाका नेता कार्यकर्ता पनि खुलेर मलाई सहयोग गर्न लाग्नुभएको छ,’ उनले भने, ‘राष्ट्रपति बन्नलाई सांसद बन्न खोज्नुभएको हो भनेर मतदाताले सोध्छन् । राष्ट्रपति बन्न सांसद बन्नै पर्दैन । आफ्नो क्षेत्र र मुलुकको विकास गर्न मेरो उम्मेदवारी हो ।’ विगतमा एमाले मात्रै हुँदा पनि आफू अगाडि भएको र यसपालि माओवादीको मतसमेत थपिएपछि आफ्नो जित सुनिश्चित रहेको दाबी उनले गरे । काँग्रेसका कुइँकेल पनि आफ्नो जित सुनिश्चित रहेको दाबी गर्छन् । ‘जनताको माया र विश्वास मलाई नै छ । उपनिर्वाचनमा मलाई दिएको मतको सम्मान गरेको छु । अर्को आधार मैले काम पनि गरेको छु,’ उनी भन्छन्, ‘जनताको काममा अहोरात्र खटेको छु ।’ नेपालले प्रधानमन्त्री हुँदा पनि यो क्षेत्रमा विकास नगरेकै कारण आफूलाई मत दिने उनको दाबी छ ।

कुइँकेलले जितेपछि यो क्षेत्रमा केही नगरेकै कारण आफूलाई जनताले मत दिने नेपाल पनि दाबी गर्छन् । मनहरा कोरिडोर, स्मार्ट सिटी, मनोहरा जग्गा एकीकरण, साँखुलाई सम्पदा बस्ती बनाउने योजना, गोठाटार साँखु विस्तारित सडकलगायतको कामको जस कुइँकेलले लिँदै मत मागिरहेका छन् । तल्लो तहसम्म सङ्गठन नै नबनाई सिधै मतदाताको ढोका ढकढकाउन पुगेका विवेकशील साझाका उम्मेदवार आचार्य पनि जित्ने दाबी गर्छन् । ‘दुई साताको माहोलले जितको नजिक पुगेको छु,’ उनले भने, ‘पूर्वप्रधानमन्त्रीको क्षेत्रमा प्रतिस्पर्धा गर्न जाँदा माहोल के होला ? भन्ने लागेको थियो । सहरी र ग्रामीण क्षेत्रका मतदाता हाम्रो पक्षमा देखेपछि हामी पनि अचम्ममा परेका छौँ ।’ पुरानो दलप्रति आक्रोश रहेकाले पनि आफूले मत पाउने उनले बताए । पुराना दलले केही नगरेपछि यसपालि नयाँ हेरौं भन्ने सोचमा मतदाता रहेको उनी बताउँछन् । ‘पार्टीको सिपाहीलाई पठाउँदा बिग्रियो । अब विकास बुझेका उम्मेदवारलाई जिताउनुपर्छ भनेर गाउँगाउँमा समेत अभियान चलाएका छाै,’ उनले भने ।

युवा मतदाता बढी
क्षेत्र नम्बर २ मा युवा मतदाता बढी छन् । निर्वाचन आयोगका अनुसार यो क्षेत्रमा २५ देखि ४० वर्ष उमेर समूहका मतदाता ३६.८७ प्रतिशत छन् । ७४ हजार ७ सय ५६ मतदाता रहेको काठमाडौँ २ मा यो उमेर समूहका २७ हजार ५ सय ६९ जना छन् । १८ देखि २५ वर्ष उमेर समूहका ८ हजार ३ सय ९४, ४१ देखि ६० वर्ष उमेर समूहका २७ हजार ४ सय ४३ जना मतदाता छन् । ६१ वर्षभन्दा माथिका ११ हजार छन् । यो क्षेत्रमा पुरुषभन्दा महिला मतदाता बढी छन् । आयोगका अनुसार ३६ हजार पुरुष छन् भने ३८ हजार महिला मतदाता छन् । अाजकाे कान्तिपुरमा खबर छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *