टि ट्वान्टी क्रिकेटमा नेपालको दोस्रो जित, करण केसी भए नायक

असोज २०, काठमाडौं । ओमानमा जारी पाँच देश सम्मिलित टि ट्वान्टी क्रिकेट सिरिजमा नेपालले सोमबार नेदरल्यान्ड्समाथि ४ विकेट जित निकालेको छ । यो जितमा नेपालका लागि करण केसी नायक बने । टि ट्वान्टीमा नेदरल्यान्ड्माथि यो पहिलो जित हो ।   

१ सय ३४ रनको लक्ष्य पछ्याएको नेपालले १९.५ ओभरमा ६ विकेट गुमाउँदै महत्वपुर्ण जित निकालेको हो । विस्फोटिक ब्याटिङ गरेका करणले १४ बलमा तीन छक्का र १ चौकाको मद्दतमा अविजित ३१ रन बनाए । कप्तान पारस खड्काले टोलीका लािग सर्वाधिक ३३ रन बनाउँदा अघिल्लो दिन अर्धशतक पुरा गरेका विनोद भण्डारीले २६ रन जोडे । नेदरल्यान्ड्सका लागि भान डेर मर्वीले २ विकेट लिए । 

अन्तिम ओभरमा नेपाललाई जितका लागि १७ रनको आवश्यकता थियो । जहाँ करणले उत्कृष्ठ प्रदर्शन गरे । उनलाई सोमपाल कामीले साथ दिएका थिए । करणले पहिलो बलमा छक्का प्रहार गरे । दोस्रो बलमा रन जोड्न सकेनन् । तेस्रो बलमा ४ रन लिएका करणले चौथौ बलमा छक्का प्रहार गर्दै स्कोललाई बराबरी बनाए । पाँचौं बलमा १ रन जोड्दै उनले नेपाललाई शानदार जित दिलाए । 

नेपालले पहिलो विकेटका लागि पवन सर्राफ र पारसले २५ रनको साझेदारी गरेका थिए । पवन ९ रनमा आउट भए । त्यसपछि आएका आरिफ शेखपनि लामो समय टिक्न सकेनन् । उनी २ रनमा आउट भए । त्यतिबेला नेपालको खातामा २ विकेटको क्षतिमा २९ रन थियो । त्यसपछि आएका उप कप्तान दीपेन्द्र सिंह ऐरी ८ रनमा आउट भए । पारसले टोलीकालागि ३३ रन जोडे । पारस आउट हुँदा नेपाल ७४÷४ को अवस्थामा थियो । त्यस पछि आएका रोहित कुमार पौडेल ५ रनमा आउट भए । अघिल्लो दिन अर्धशतक बनाएका विनोद भण्डारी २६ रन जोडेर आउट भए ।  

त्यसअघि नेपालले टस जितेर नेदरल्यान्ड्सलाई ब्याटिङको लागि निम्तो दियो । नेदरल्यान्ड्सले २० ओभरमा ८ विकेट गुमाउँदै १ सय ३३ रन जोडेको थियो । टोलीका लागि प्याट्रिक ओडिडले सर्वाधिक ४३, कोलिन एकेर्मानले २९ र एन्टोनिउस स्कलले २१ रन जोडे । नेपालका लागि सन्दीप लामिछानले ४ विकेट लिए । 

ब्याटिङमा चम्कनु अघि करणले ४ विकेट लिए भने ललित नारायण राजवंशीले १ विकेट लिए । सिरिजमा नेपालले लगातार दुई खेलमा दुई जित निकालेको छ । यस अघि आइतबार नेपालले हङकङलाई ४ विकेटले हराएको थियो । 

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *