पोल्ट्रीको आत्मनिर्भरलाई कायम राख्न वार्षिक १५ अर्ब लगानी आवश्यक

भरतपुर, कात्तिक १३ । पोल्ट्री व्यवसायीहरुले नेपालमा पोल्ट्री क्षेत्रमा लगानी नबढे आत्मनिर्भरतामा समस्या आउने बताएका छन् । नेपाल हालसम्म पोल्ट्री क्षेत्रमा आत्मनिर्भर छ । 

पोल्ट्रीमा बढिरहेको उपभोक्ताको मागलाई धान्न पनि पोल्ट्री क्षेत्रमा लगानी बढाउन आवश्यक भएको पोल्ट्री व्यवसायीहरुको भनाइ छ । 

नेपाल पोल्ट्री महासंघका अध्यक्ष गुणचन्द्र विष्टले आत्मनिर्भर भइरहेको पोल्ट्रीलाई त्यसमा टिकाइराख्न थप लगानी आवश्यक भएको बताए । उनले भने, ‘अहिलेसम्म आत्मनिर्भर भइरहेका छौँ तर अब पुग्दैन, ठूला उद्योगीहरु आउनुपर्छ । थप लगानी आवश्यक भइसकेको छ ।’ उनका अनुसार नेपालमा पोल्ट्रीको मागलाई धान्नका लागि वार्षिक १४/१५ अर्ब लगानी हुनुपर्छ । 

null

नेपाल पोल्ट्री महासंघका अध्यक्ष विष्टले भने, ‘माग बढिरहेको छ, त्यसअनुसार उत्पादन पनि हुनुपरर्यो, उत्पादन कम हुँदै गयो भने आत्मनिर्भरतामा समस्या पर्छ । त्यो कारणले ठूलो लगानी पोल्ट्रीमा भित्रिन आवश्यक छ । 

अध्यक्ष बिष्टले माग बढी उत्पादन कम हुने अवस्था सिर्जना नभइसकेको बताए । उनले थपे, ‘आज आत्मनिर्भरतामा समस्या छैन, भोलि समस्या आउने अवस्था देखिन थालेको छ, लगानी बढाउनुपर्छ ।’ उनले पोल्ट्री क्षेत्रमा सरकारले सही नीति अवलम्बन नगरेको आरोप लगाए । उनले भने, ‘सरकारले उद्योगमैत्री नीति बनाउनु परर्यो, उत्पादनमूलक बनाउनु परर्यो । व्यवसायलाई प्रोत्साहन गर्ने नीति ल्याउनु परर्यो, तबमात्र आत्मनिर्भरतामा कुनै चुनौती हुँदैन ।’ 

पोल्ट्री विज्ञ तथा उद्योगी डा. तिलचन्द्र भट्टराईले नेपालमा अहिलेको पोल्ट्रीको उत्पादनले मागलाई धान्न सकिरहेको बताए । उनले भने, ‘वार्षिक १३ देखि १५ प्रतिशत माग बढिरहेको छ, त्यति नै उत्पादन भइरहेको छ ।’ उनका अनुसार आत्मनिर्भरतामा हाल कुनै समस्या छैन । 

उनले पोल्ट्रीमा वैदेशिक लगानी आवश्यक नभएको बताए । उनले भने, ‘वैदेशिक लगानी आवश्यक छैन, साना व्यवसायीलाई असर पर्छ ।’ उनका अनुसार साना व्यवसायीलाई अपग्रेड गर्ने नीति सरकारले ल्याएर आत्मनिर्भरतालाई बचाइराख्नुपर्छ । 

नेपाल अण्डा उत्पादन संघका अध्यक्ष त्रिलोचन कँडेलले मागलाई पोल्ट्रीको हरेक उत्पादनले धानिरहेको बताए । उनले भने, ‘चल्ला, अण्डा र मासुको मागलाई यहाँको उत्पादनले धानिरहेको छ ।’ 

वैदेशिक लगानी आवश्यक नभएको उनले बताए । उनले सरकारले पोल्ट्रीमैत्री नीति ल्याए यहाँका व्यवसायीहरुले थप लगानी बढाउने बताए । उनले भने, ‘लगानीको सुरक्षित वातावरण बनाउन आवश्यक छ, सरकारले उचित नीति ल्याउन जरूरी छ ।’ 

पोल्ट्रीको राजधानी मानिने चितवनले कुल उत्पादनमध्ये ६० प्रतिशत हिस्सा ओगटेको छ । नेपालमा एक सातामा डेढ लाख लेयर्स चल्ला र ९ लाख ब्रोइलर चल्ला उत्पादन भइरहेको छ । नेपालमा ८० अर्बभन्दा बढी पोल्ट्री क्षेत्रमा लगानी भइरहेको छ । 

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *