चितवनकाे अक्सफोर्ड सहकारीद्धारा किर्ते गरेर ठगी

माघ ८, चितवन । चितवनको खैरहनी ८ पर्सा बजारमा रहेको अक्सफोर्ड बहुदेश्यीय सहकारी संस्थाले ग्राहकलाई झुक्याएर ठगी गरेको पाईएको छ । ९ लाख ऋण लिएकोमा खाली भरपाईमा सही गर्न लगाई २० लाख ऋण दिएको भनेर सहकारीले सेवाग्राही ठगेको भेटिएको हो ।   

खैरहनी नगरपालिका ७ मझुईकी विमला चौधरीले ९ लाख ३० हजार रुपैया ऋण लिएकोमा सहकारीले भने ३ वटा भरपाईमा भिन्न भिन्न मितिमा २ लाख,२ लाख र १६ लाख लगेको भरपाई बनाएको छ । चौधरीले सहकारीले आफूलाई लाखौको ठगी गरेको दावी गरेकी छिन् ।   

आफूले सहकारीबाट दुईपटक गरि जम्मा ९ लाख ३० हजार ऋण लिएको तर सहकारीले २० लाख लिएको भन्दै किर्ते कागज गरि आफूबाट २१ लाख रुपैयाँ लिएको चौधरीले बताइन् । सहकारीबाट २०७४ मंसिरमा ५ लाख लिएको र चैतमा ४ लाख ३० हजार रुपैँया लिएको र सोको साँवा ब्याज बापत चैतको अन्तिमसम्ममा कुल २४ लाख ७५ हजार रुपैँया बुझाएको दावी गरिन् । 

यता सहकारीले भने चौधरीलाई केहि समयको लागि २० लाख रुपैँया सापटी स्वरुप दिएको जनाएको छ । कुनैपनि सहकारीले सापटी भनेर व्यक्ति बिशेषलाई रकम दिन नमिल्ने खैरहनी नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत पुरुषोत्तम शर्माले बताए ।   

सहकारीले सापटी भनी रहदाँ १८ प्रतिशत ब्याज भने लिएको सहकारीका पदाधिकारी बताउँछन् । चौधरीले २० लाख रुपैयाँ लगेको र सोको साँवा र ब्याज बापत चैतमा चौधरीसँग बैकमा गएर २१ लाख रुपैँया एकमुष्ट ल्याएको संस्थाका उपाध्यक्ष एवंम् ऋण समितिका संयोजक राजकुमार सुयलले बताए ।   

त्यसलगत्तै पुनः ८ लाख रुपैयाँ ऋण लिएको र सोको लागि जग्गा धितो राखेको चौधरीले बताइन् । सहकारीले समेत ८ लाख रुपैँया दिएको स्विकार गरेको छ । ८ लाख नगद दिँदा समेत भरपाई भने १४ लाखको फेला परेको छ । यसले सहकारीले आन्तरिक रुपमा कागजपत्र मिलाई ऋणीहरुलाई ठगी गरेको प्रष्ट देखिएको छ ।   

सहकारीले कार्यालयको कागजात समेत मिलाउन सुरु गरेको छ । २०७५ साल असारमा ऋण लिएको भनिएकी विमलाको खाता संस्थाको १६२ नम्बरमा राखिएको छ जब की २०७६ पुषमा ऋण लिएका एक ऋणीको चौधरीको भन्दा अगाडी १६१ नम्बरमा रहेको छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *