पत्रकारलाई धम्की दिने मेयरलाई नेकपा नेताले दिए यस्तो सुझाव
जेठ २२, काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेताहरुले इटहरी उपमहानगरपालिकाका मेयर द्धारिकालाल चौधरीलाई आत्मलोचना गर्न सुझाव दिएका छन् ।
पत्रकारलाई सार्वजनिक रुपमै दुव्र्यवहार गरेको भन्दै मेयर चौधरीको चौतर्फी आलोचना भइरहँदा नेकपा स्थायी समिति सदस्यद्वय शंकर पोखरेल र योगेश भट्टराईले मेयर चौधरीलाई सामाजिक सञ्जालमार्फत् आत्मलोचना गर्न सुझाव दिएका हुन् ।
null
सामाजिक सञ्जालमा योगेशले लेखेका छन्, ‘इटहरी उपमहानगरपालिकाका मेयर द्वारिका चौधरीलाई अनुरोध ! म द्वारिकाजीको हकी स्वभाव, प्रष्ट वक्ता र इमान्दारिताको पहिलेदेखिकै प्रशंसक हुँ । तर केही दिन यता उहाँले पत्रकार र अन्य कतिपय व्यक्तिहरूका बारेमा सार्वजनिक भएका अभिव्यक्ति स्वयम् उहाँले धारण गर्नुभएको सार्वजनिक पद, उहाँले प्रतिनिधित्व गर्नुभएको पार्टी (नेकपा) र स्वयम् उहाँको राजनीतिक उचाइका लागि कदापी सुहाउँदैन । तसर्थ आफ्ना भनाईप्रति सार्वजनिक रुपमा आत्मालोचना गरी पदीय गरिमा र पार्टीको प्रतिष्ठाप्रति सचेत रहन मेयर द्वारिका चौधरीलाई म विनम्र अनुरोध गर्दछु ।’
यस्तै नेकपा नेता एवम् ५ नम्बर प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले पार्टीको मान्यताका बारेमा भने उनका बुझाईहरू पूर्णतः त्रुटिपूर्ण भएको बताए । उनले फेसबुकमा लेखेका छन्, ‘इटहरीका मेयर द्वारिका चौधरी हकी स्वभावको हुनुहुन्छ भन्ने कुरा त उहाँको अभिव्यक्तिबाटै थाह हुन्छ । तर पार्टीको मान्यताका बारेमा भने उहाँका बुझाईहरू भने पूर्णतः त्रुटिपूर्ण छन् । नेकपा विधिको शासन र लोकतान्त्रिक मुल्यमान्यताप्रति दृढ छ । जबजबाट दिक्षित कार्यकर्ताले त लोकतान्त्रिक मुल्य मान्यता र विधिको शासनप्रति झनै प्रतिवद्ध रहनुपर्ने हुन्छ । द्वारिकाजीको आक्रोश पीत पत्रकारिता र भ्रष्टाचारविरुद्ध भएपनि अभिव्यक्ति भने अस्वाभाविक र गलत छन् । तसर्थ उहाँले जनप्रतिनिधि र पार्टी कार्यकर्ता दुवै हिसाबले आफ्ना अभिव्यक्तिलाई सच्याउँदै आत्मआलोचना गर्नु उचित हुनेछ ।’
केही दिनअघि मात्रै वडा सचिवलाई कार्यकक्षमै बोलाएर कुटपिट गरेका मेयर चौधरीले इटहरीकै पत्रकार विराट अनुपमलाई फोनबाट ‘नाकको हड्डी भाँच्ने’ धम्की दिएको अडियो मंगलबार सार्वजनिक भएको थियो ।
उनले फोनमा अनुपमलाई ‘तिमीले के लेख्न बाँकी राख्या छौ रु तिम्रो नाकको हड्डी भाँच्नका लागि मात्रै मैँले १ करोड छुट्टयाएको छु । तिम्रो नाकको हड्डी भाँच्नलाई मैँले एउटा घडेरी छुट्टयाएको छु । तिम्रो नाकको हड्डी मात्र भाँच्न बाँकी छ कि, अब म गुण्डागर्दीमै उत्रिएँ । तेरो नाकको हड्डी भाँचेर मात्र अनि मलाई सन्तोष हुन्छ भाई’ भन्दै धम्की दिएका थिए ।
उनले पत्रकार अनुपमको फेसबुक स्टाटसमा ‘चाटुकार पत्रकार’, ‘अब तिम्रो पालो’ लेख्दै कमेन्ट गरेका थिए । त्यसपछि अनुपमले फोन गरी किन त्यस्तो कमेन्ट गर्नुभएको भन्दा मेयर चौधरीले उक्त धम्की दिएका हुन् ।