‘ओली–प्रचण्डको मात्रै हड्डी घोटेर खाँदैनौँ, अब हामी नयाँ पुस्ता सक्रिय हुन्छौँ’ (भिडियोसहित)

 

साउन ८, काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी समिति सदस्य तथा सांसद योगेश भट्टराईले अब युवा नेताहरुले पार्टीको नेतृत्व गर्ने बताएका छन् । 

सांसद भट्टराईले पार्टीका अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डको हड्डी घोटेर खाने दिन गएको र अब आफूहरुले पार्टीको नेतृत्व गर्ने बताएका हुन् । 

null

उनले भने, ‘हामी युवा नेताहरु एकिकृत पार्टीलाई कसरी बलियो बनाउने भन्नेतिर जुटेका छौँ । हामी यो पार्टीका भोलिका वैकल्पिक नेतृत्व हौँ । पार्टी एकता टुंगिसकेपछि हामी युवा नेताहरु एकजुट भएर एउटै धारणा बनाउँछौँ । नेताहरुलाई के के कुरामा सपोर्ट गर्ने, अब उहाँहरुले पार्टीमा के योगदान दिने भन्ने विषयमा पनि छलफल गर्छौँ । नयाँ पुस्ताले कसरी यो पार्टी लिएर जाने त्यो पनि हामी सल्लाह गरौँला । हामी यो पार्टीलाई अझै एकताबद्ध बनाउँछौँ र अर्को चुनावमा अझ राम्रो पोजिसनमा ल्याउँछौँ । अब जहिले पनि केपी, प्रचण्डजीको हड्डी घोटेर त्यसमा मोजमस्ती गर्ने कुरा बेकार हो । अब हामी पनि नेतृत्वमा आउँछौँ ।’ 

एक टेलिभिजन कार्यक्रममा अन्तर्वार्ता दिने क्रममा उनले पार्टीको स्कुल विभागको प्रमुखमा घनश्याम भुषाल हुनुपर्नेमा जोड दिए । 

भैँसेपाटीमा बन्दै गरेको मन्त्री क्वाटर, नेता–मन्त्रीका जीवनशैलीका विषयमा पनि यी सामान्य भएको बताए । 

‘अहिले राम्रो मन्त्री क्वाटर बनाउने आदी इत्यादी भन्ने कुरामा सायद जनमत नआउला । तर सरकार र सरकारका कार्यालयहरु सुविधा सम्पन्नै हुनुपर्छ । मन्त्रीले एउटा डेरामा बसेर कार्यसम्पादन गर्न सक्दैन । त्यसो भन्दा तँ सुविधासम्पन्न भइस् भन्ने आरोप लाग्न सक्छ । तर २०४७ सालमै, त्यो भन्दा अगाडी नै भैँसेपाटीमा संसद भवन र मन्त्रीहरुको क्वाटर बनाउने कुरा भएको थियो । पुल्चोकमा बनाइयो । त्यो बेलाको स्थितिमा हेर्ने हो भने त्यो संसद भवन पनि ज्यादै सुविधा भोगी कदम थियो । आज हेर्ने हो भने त्यो मन्त्री क्वाटर काम लाग्ने छैन । त्यहाँ कुनै सेवा सुविधा पनि छैन’, नेता भट्टराईले भने । 

मन्त्रीहरुलाई सेवा सुविधा थप्नुपर्ने पक्षमा आफू नभएको भन्दै उनले तर तुलनात्मक रुपमा सांसद तथा मन्त्रीहरुलाई हौस्याउने वातावरण छ या छैन त्यसमा भने विचार गर्नुपर्ने धारणा राखे । हामीसँग राम्रा होटलहरु, सेवा सुविधाहरु नभएर कतिपय गेष्टहरु नेपाल आउन हिच्किच्याउने गरेको पनि उनले सुनाए । 

उनले प्रधानमन्त्री केपी ओलीलाई सरकार सम्हालेको १८ महिनामा गरिएका कामहरु सही छन् कि छैनन्, पार्टीका वरिष्ठ नेताहरुलाई राखेर छलफल, समीक्षा गरी मुल्यांकन गरेर अघि बढ्न बारम्बार सचेत गराउँदै आएको पनि स्पष्ट पारे । 

प्रधानमन्त्री ओलीले उठाएका कदम निकै नै कम मात्रामा मात्रै गलत हुने गरेको उनको दाबी थियो । प्रधानमन्त्रीले जनअपेक्षा अनुसारको काम गर्नका लागि मन्त्री नेताहरुलाई सही ढंगबाट परिचालन गर्न लागि परेको पनि उनले बताए । प्रधानमन्त्रीमा ओली आएपछि अन्तर्राष्ट्रिय सम्बन्धको दायरा फराकिलो भएको उनको बुझाइ छ । 

मन्त्रीमण्डल पुनर्गठनका विषयमा बोल्दै उनले दुई–तीन महिना अघिदेखि नै यसबारे चर्चा गर्नु गलत भएको बताए । प्रधानमन्त्रीले चाहेमा एकैदिनमा हुने कामलाई २–३ महिनाअघिदेखि नै चर्चा गर्दा सम्बन्धित मन्त्रीलाई काम गर्न असहज हुने, काम गर्ने वातावरण अनुकुल नहुने उनको भनाइ छ । 

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *