यी उदाहरणीय नारीः जो संघर्षबाट खारिएर अगाडी बढे

 

फागुन २४, काठमाडौँ । आज मार्च ८, अर्थात् नारी दिवस । आजकै दिन महिलाहरुले राष्ट्रिय, जातीय, भाषिक, सांस्कृतिक, आर्थिक, सामाजिक, राजनैतिक क्षेत्रमा अधिकार प्राप्तिका लागि लडेका थिए । महिलाको हक अधिकार सुनिश्चित भएको दिन पनि हो आज । 

विश्वभरका देशहरुमा आज अन्तर्राष्ट्रिय नारी दिवस मनाईंदैछ । नेपालमा पनि विभिन्न कार्यक्रमहरु गरी नारी दिवस मनाईंदै छ । 

null

अन्तर्राष्ट्रिय महिला दिवस बीसौं शताब्दीतिर उत्तरी अमेरिका र युरोपमा श्रमिक आन्दोलनका क्रममा उत्पन्न भएको थियो । ती प्रारम्भिक वर्षदेखि नै महिलाहरुले केही हदसम्म पुरुषसमान हक अधिकारको उपभोग गर्न पाएका छन् । महिला आन्दोलनले विश्वमै राजनीतिक र आर्थिक क्षेत्रहरुमा महिलाको अधिकार र सहभागितालाई पहल गरेको छ, सहभागिता बढाएको पनि छ । 

विश्वका महिलाहरुमा जागरण ल्याउने उद्देश्यले संयुक्त राष्ट्रसंघको निर्णयअनुसार सन् १९०९ (वि.सं.१९६६) देखि अन्तर्राष्ट्रिय नारी दिवस मनाउन सुरु गरिएको हो । सन् १९०९ देखि नारी दिवस मनाउन थालिएपनि सुरुमा दिवस मनाउने खास दिन तोकिएको थिएन । फरक–फरक दिनमा मनाउँदै आएकामा सन् १९९४ देखिमात्र हरेक वर्षको अंग्रेजी महिनाको मार्च ८ तारिखमा मनाइने गरी यसको निश्चित मिति तोकिएको हो । यसरी संसारका विभिन्न देशले ५० औँ अन्तर्राष्ट्रिय नारी दिवस मनाइसकेपछि मात्र नेपालमा सन् १९५१ (वि.सं. २०१६) मा वीपी कोइरालाको पालादेखि नियमित रुपमा यो दिवस मनाउन थालिएको हो । 

विश्वले १०९ औँ अन्तराष्ट्रिय नारी दिवस मनाइरहँदा, नारी स्वतन्त्रताको आदर्श छाँटिरहँदा नेपाली समाज भने अझै पनि उही परम्परावादी सोच, अन्धविश्वास र रुढिवादीमा जेलिएको छ । पुरानो संस्कार र संस्कृतिले जकडिएको हाम्रो समाजमा परिवर्तन ल्याउने कुरा गर्न जति सजिलो भएपनि व्यवहारिक रुपमा प्रयोगमा ल्याउन त्यति सहज छैन । नारी उन्मुक्तिका लागि आन्दोलन भएपनि वास्तविकतामा खासै फेरबदल भएको पाईंदैन । नारीहरु स्वयम् पनि पितृसत्तात्मक सोचबाट माथि उठ्न सकेका छैनन् । प्राचिन कालदेखि नै नारीहरु पुरुस्वार्थको शिकार भएका छन् । 

हुन त पहिलेको तुलनामा नारी र पुरुषबीच केही समानता त छ, तर पनि न्यायोचित रुपमा कार्यनीति नै बनेको पाईंदैन। हाम्रो समाजमा यदी कुनै नारी आफ्नो क्षमता र संघर्षले कुनै माथिल्लो तहमा पुगिहाले पनि उनीहरुको मनोबल गिराउने काम गरिन्छ । यस्तो अवस्थामा पुरातनवादी सोचलाई परास्त गर्दै बडो संघर्षले, कसैको साथ र समर्थनविना पनि केही नारीहरु राज्यको माथिल्लो तहमा पुग्न सफल भएका छन् । समाजमा आफ्नो बेग्लै पहिचान बनाउन सफल भएका छन् । त्यसका केहि उदाहरण हाम्रा अगाडी छन् । 

 

१. विद्यादेवी भण्डारी 

जिन्दगीका उकाली ओरालीमा विभिन्न आरोह अवरोह झेल्दै देश र जनताका लागि राजनीतिमा होमिएकी नेपालको पहिलो महिला राष्ट्रपति, नेपाली सेनाको परमाधिपति तथा नेपाल कम्युनिस्ट पार्टीकी पूर्व उपाध्यक्ष हुन् विद्यादेवी भण्डारी । 

भोजपुर जिल्लामा आमा मिथिला पाण्डे तथा बाबु रामबहादुर पाण्डेको कोखबाट जन्म लिएकी भण्डारी आफ्ना पति मदन भण्डारीको षड्यन्त्रपूर्वक गरिएको हत्यापछि राजनीतिमा खरो रुपमा उत्रिएकी हुन् । उनका पति मदन भण्डारी एक कुशल राजनीतिज्ञ छँदै थिए । यसमा पनि उनी एमालेका मार्गदर्शक सिद्धान्त जनताको बहुदलीय जनवादका प्रवर्तक जननेता पनि थिए । 

नारीलाई घरधन्दामै सिमित राख्ने हाम्रो नेपाली समाजमा देश र जनताका लागि बलिदान दिन्छु भन्दै राजनीतिमा प्रवेश गर्नु आफैँमा एक चुनौति हो । ती अनगिन्ती चुनौतिका चाङलाई चिर्दै, पन्छाउँदै राष्ट्रपतिको पद चुम्नु भनेको सामान्य पक्कै होइन । 

राष्ट्रपति भण्डारीले राज्यको हरेक अंगमा ३३ प्रतिशत प्रतिनिधित्वका लागि महिला आन्दोलनको नेतृत्व गरेकी थिइन् । उनकै प्रस्तावमा २०६२–०६३ पछि पुर्नस्थापित संसदले ३३ प्रतिशत प्रतिनिधित्व सम्बन्धि प्रस्ताव सर्वसम्मतले पारित गरेको थियो । 

नेपालको नीति निर्माणमा सक्रिय भूमिका खेलेकी भण्डारीले २०६७ सालमा रक्षामन्त्रालय जस्तो चुनौतिपूर्ण जिम्मेवारी बहन गरेकी थिइन् । 

उनलाई विश्व प्रसिद्ध पत्रिका फोब्र्सले वर्ष २०१६ का शक्तिशाली महिलाहरुमध्ये ५२ औँ स्थानमा सूचिकृत समेत गरेको छ । 

 

२. शुशिला कार्की 

नेपालमा पहिलो पटक न्यायाधीश बनेकी नारी हुन् शुशिला कार्की । न्यायपरिषद्मा पुरुषले मात्र नेतृत्व सम्हाल्दै आइरहेका बेला उनले नयाँ आयाम थपिन् । २०६७ सालदेखि सर्वोच्चको स्थायी न्यायाधीश बनेकी कार्कीले सन् १९७२ मा महेन्द्रनगर मोरङ क्याम्पसबाट बि.ए. गरेकी थिइन् । 

यिनले बनारस हिन्दू विश्वविद्यालयबाट राजनीति विज्ञानमा एम.ए. गरेकी छिन् । १९७८ मा त्रिभुवन विश्वविद्यालयबाट विधि स्नातक उपाधि प्राप्त गरेकी यिनले २०३५ सालबाट वकालत सुरु गरेकी थिइन् । सन् २००९ मा सर्वोच्च अदालतमा न्यायाधीशको रुपमा प्रवेश गरेकी उनी न्याय क्षेत्रमा हकी स्वभाव र इमान्दार छविकी न्यायाधीशको रुपमा चिनिन्छिन् । 

पिताका सात सन्तानमध्ये ज्येष्ठ सन्तानका रुपमा जन्म लिएकी कार्कीको परिवार किसानी गर्दथे । सुशिलाका बुवाले उनलाई डाक्टर बनाउन चाहेका थिए तर, उनले अन्यायमा परेका दिन दुःखीलाई न्याय दिलाउन वकालत रोजिन् । 

उनी घर गृहस्थीमा समेत अगाडी थिइन् । पुरुषले मात्र आर्थिक जोहो गर्छ भन्ने भ्रमलाई यिनको परिवारले चिरेको छ । न्यापालिकामा भ्रष्टाचार विरुद्ध शून्य सहिष्णुताको लागि परिचित उनको घरमा उनी आर्थिक जोहो गर्न घरबाहिर काम गर्थिन् र उनका पति घरगृहस्थी हेर्ने गर्दथे । 

उनले आफू न्यायाधीश हुँदा थुप्रै चर्चित मुद्दाहरुमा फैसला गरेकी छन् । बहालवाला सूचना तथा सञ्चारमन्त्री जयप्रकाश गुप्ताको भ्रष्टाचार मुद्दामा दोषी ठहर गरेकी थिइन् । साधारण जीवनशैली रहेकी सुशीला कार्कीलाई भ्रष्टाचारमा शुन्य सहनशीलता अपनाउने इमान्दार न्यायाधीशको रुपमा पनि लिइन्छ । 

 

३. भगवती चौधरी 

राजनीतिक क्षेत्रमा हारेर पनि जितेकी नारी हुन् भगवती चौधरी । सुनसरीको औरावनीमा जन्मिएकी चौधरी २०६७ सालमा वन तथा भू संरक्षण राज्यमन्त्री बनेकी थिइन् । उनी २०६४ सालको चुनावमा मन्त्रीपरिषदबाट मनोनित हुँदै सभासद भएकी थिइन् । 

महेन्द्र मोरङ्ग बहुमुखी क्याम्पस विराटनगरबाट आइकम र बीकम पढेकी उनले समाजशास्त्रमा स्नातकोत्तर गरिन् । सुनसरी क्षेत्र नं ३ बाट राजनीति गर्दै आएकी भगवती चौधरी जनजिविका, परिवर्तन, नारी उत्थान महिला शशक्तिकरणमा अग्रसर छिन् । 

आर्थिक रुपमा महिलालाई अगाडी बढाउन माइक्रोफाइनान्स मार्फत गाउँघरमा पूँजी पुर्याएकी चौधरीलाई जनताका कामबाट कहिल्यै फुर्सद हुँदैन । २०७० सालको संविधानसभा निर्वाचनमा विजयकुमार गच्छादारको षड्यन्त्रको शिकार भएकी चौधरीका लागि गएको निर्वाचनमा पनि पुनः त्यही नियति दोहोरियो । प्रतिनिधिसभा निर्वाचनमा नेपाली काँग्रेसका प्रत्यासी उम्मेद्वार गच्छदारसँग षड्यन्त्रपूर्वक हार्दा समेत उनले महिला र जनताप्रतिको आफ्नो धर्म छोडिनन् । चोधरीलाई महिला शशक्तिकरणका लागि समाजसेवा गर्न कुनै पद चाहिएको छैन । एउटा नारीको रुपमा राष्ट्रको संमृद्धिका लागि शसक्त भूमिका निर्वाह गर्दै आएकी चौधरीको काम उदाहरणीय छ । 

क्याम्पस पढ्दादेखि नै थारु विकास समन्वय परिषदको सदस्य र पछि उपाध्यक्ष भएर काम गरेकी चौधरी २०४६ सालको आन्दोलनमा सक्रिए भएर काम गरिन् । त्यसैको उपाध्यक्ष पनि बनिन् । उनले २०४८ र ०४९ सालमा रेडियो नेपालको जिल्ला संवाददाता भएर समेत ६ महिना काम गरिन् । 

त्यस्तै २०५१ सालमा ग्रामिण महिला उत्सुकता विकास मञ्च गठन गरी २०५२ सालदेखि विधिवत सञ्चालन गरेकी भगवतीले २०५२ र ५३ सालमा दुई वर्ष समाजकल्याण परिषदमा सहायक निर्देशक भएर काम गरिन् । चौधरी २०५१ सालमा गैरसरकारी संस्था महासंघको केन्द्रिय सदस्य तथा २०६२ र ६३ मा कोषाध्यक्ष भइन् । गैरसरकारी संस्थामार्फत् क्रियाशिल चौधरी २०६३ सालमा नेकपा एमाले, सुनसरीको जिल्ला कमिटी सदस्यमा मनोनित भएकी थिइन् । 

सामाजिक कार्यमा सक्रिय चौधरी हाल फरवार्ड माइक्रोफाइनान्स मार्फत् महिला उत्थानमा अग्रसर छिन् । चौधरीद्वारा सञ्चालित फरवार्डले महिलामा रहेको सिप र क्षमता प्रस्फुटन गराउन विभिन्न सिपमुलक तालिम दिन्छ, महिला अधिकारका लागि शसक्तिकरण अभियान चलाउँछ । यसले सामुहिक जमानीमा महिलालाई आयमुलक व्यवसायका लागि ऋण प्रदान गरी आर्थिक क्षेत्रमा अगाडी बढ्न प्रेरित गर्दछ । 

४. अनुराधा कोइराला 

वि.सं. २००९ सालमा धरतीमा पाइला टेकेकी अनुराधा कोइरालाको १००० रुपियाँबाट सुरु हुन्छ समाजसेवाको यात्रा । बुबा प्रतापसिंह गुरुङ र आमा जरिना गुरुङसँग आसाममा हुर्किएकी उनी २०२१ सालमा नेपाल आइन् । काठमाडौँको बसाइका क्रममा उनको अन्तर्जातिय विवाह भयो दिनेशप्रसाद कोइरालासँग । 

अंग्रेजी भाषामा दख्खल भएकी अनुराधाको करियर सुरु हुन्छ, अंग्रेजी शिक्षणबाट । मन्टेश्वरी शिक्षण विधि जानेकी कोइराला मार्टियास, बुढानीलकण्ठ, ग्यालेक्सी, युनिभर्सल साइनजस्ता विद्यालयमा शिक्षिकाको भूमिका निर्वाह गरिन् । शिक्षण पेसा पनि समाजसेवा नै हो भन्ने कोइरालाले यसमै २० वर्ष बिताइन् । 

उनलाई पहिलेदेखि नै चासो थियो चेलिबेटी बेचविखन र यौनजन्य हिंसाप्रति । उनी सदैव महिला तथा बालबालिकालाई यौनहिंसाबाट कसरी मुक्त गर्ने भन्ने विषयमा नै बढी चिन्तन हुने गर्थिन् । एकदिन पशुपतिको सेरोफेरो नियाल्ने क्रममा उनको भेट हुन्छ यौनहिंसाबाट पीडित पशुपतिका माग्ने महिलासँग । त्यसपछि उनले त्यहीँबाट सुरु गरिन् आफ्नो समाजसेवा तथा महिलाहिंसाविरुद्धका कर्म । 

अनुराधा कोइरालाले पशुपति क्षेत्रमा भेटिएका नौ जना महिलालाई प्रतिव्यक्ति १००० रुपैयाँका दरले नाङ्गलो पसल खोलिदिइन् । र उनीहरुको बच्चालाई आफ्नै कोठामा आफ्नै निगरानी र हेरचाहमा राखिन् । त्यसको करिब आठ महिनापछि यूनिसेफ उनको समाजसेवाको चर्चा चल्यो र सहयोग गर्ने कुरा भयो ।सन् १९९३ मा सुरु भयो माइती नेपाल । 

जीवनमा विभिन्न आरोह अवरोह झेलेकी उनको वैवाहिक जीवन त्यति सुखद नभएपनि उनले संघर्षबाट कहिल्यै हार खाइनन् । मेहनत र दुःखले एकसाथ बढ्दा उनलाई क्षयरोगले पनि समात्यो । उपचारपछि उनी मुलुकको गम्भीर समस्याको रुपमा फैलिएको चेलीबेटी बेचबिखनविरुद्ध चेतना फैलाउन प्रहरीलाई साथमा लिई बेचबिखनका गढ मानिएका जिल्लाहरु घुम्न थालिन्, कयौँको उद्धार पनि गरिन् । यिनले सन् २०१० मा सिएनएन हिरोको उपाधि समेत हात पारिन् । २०१४ मा मदर टेरेसा सम्मान जितिन् भने पदमा श्री जस्तो उपाधि पनि उनले पाएकी छिन् । उनलाई नेपाल सरकारले प्रदेश ३ को प्रमुखमा नियुक्त गरेको छ । 

हाल मुलुकभर शाखा रहेको माइती नेपालले चेलीबेटी बेचबिखन रोकथाम, बेचबिखनमा परेकालाई संरक्षण गर्ने, तालिम दिने, रोजगारी दिने तथा परिवारमा पुनस्थापनामा सहयोग पुर्याउने लगायतका कामहरु गर्दै आइरहेको छ । 

 

५. पुतलीघरकि पुष्पा बस्नेत 

सिएनएन हिरोको रुपले परिचित छिन् पुष्पा बस्नेत । व्यापारिक पृष्ठभूमिका पूर्णबहादुर र सरिता बस्नेतका ३ सन्तानमध्ये यिनी माहिली हुन् । समाजसेवामै जीवन समर्पित गरी अविवाहित रहेकी बस्नेत कुमारी आमाको रुपमा चिनिन्छिन् । 

सन् २००५ मा अन्य ६ जना साथीसँग मिलेर पुष्पाले ४ जना बालबालिकाबाट शिशु स्याहार केन्द्रको सुरुवात गरिन् जसमा विशुद्ध सेवाभावका साथ जेलभित्रका बालबालिकालाई आश्रय दिइयो । नेपालमा कार्यरत समाजसेवी तथा प्रारम्भिक बाल विकास केन्द्र र पुतली घर नामक गैरनाफामुलक गैह्रसरकारी संस्थाकी संस्थापक यिनले यसै संस्थामार्फत् विभिन्न कारणले कैदमा परेका अभिभावकका छोराछोरीको अधिकारको सुरक्षा गर्दछिन् । 

४५ दिनदेखि २१ वर्षसम्मका सन्तानलाई न्यानो माया र ममता दिएर तिनको उज्जवल भविष्य कोर्न मद्दत गर्छिन् । उनले ती बालबालिकाहरुको शिक्षा, स्वास्थ्य, लालनपालन, सीप विकासजस्ता सम्पूर्ण कार्य त्यही संस्थामार्फत् नै गरिदिन्छिन् । 

यस गृहका बालबालिकाहरु काठमाडौंका एक से एक राम्रा विद्यालयहरुमा अध्ययनरत् छन् भने यही भित्रै तेक्वान्दो, चर्या–डान्स, कलासिकल गितार, योगा, आर्ट थेरापी आदी सिकाइन्छ । प्लस टु गरेपछि १ लाख, स्नातक सिध्याएपछि २ लाख तथा स्नाकोत्तर पछि अर्को थप २ लाख गरी जम्मा ५ लाख रुपैयाँ संस्थाले नै हरेक बालबालिकाको खातामा जम्मा गरिदिन्छ । 

कुनै दिन ७ हजार रुपैयाँ कोठभाडा तिर्न नसक्दा अब अगाडी बढ्न सकिँदैन भनेर निराश भएकी पुष्पा बस्नेतसँग आज १५ करोडभन्दा बढीको सम्पत्ति छ प्रारम्भिक बालविकास केन्द्रका नाममा । अभिभावकसँग कारागार जीवन बिताउन बाध्य बालबालिकालाई त्यहाँबाट छुटाइ आश्रय दिएकी उनलाई सिएनएनले २०१२ को सिएनएन हिरोको उपाधिले सम्मान गरेको थियो । 

 

६. वादी समुदायकी पहिलो सांसद उमादेवी 

वादी समुदायको हकहितका लागि संघर्षरत उमादेवी अहिले वादी समुदायकै पहिलो सांसद हुन् । उनले आजीवन वादी समुदायको उत्थान र विकासका लागि संघर्ष गरिन् । उनी प्रदेशसभा सदस्यका रुपमा नेपाली काँग्रेसबाट समानुपातिका चुनिएकी हुन् । 

२०२१ सालमा सल्यानको थापागाउँमा जन्मिएकी उनी वादी समुदायको अधिकार स्थापनाका लागि गाउँदेखि सिंहदरबारसम्म थालेको ४८ दिने लामो आन्दोलनकी कमाण्डर हुन् । जतिबेला नारीलाई एउटा निश्चित घेराबन्दीमा राखिन्थ्यो, हो ठिक त्यही बेला उनले अर्धनग्न अवस्थामा सिंहदरबार अगाडी सरकारविरुद्ध नाराबाजी गरिन् वादी समुदायकै निम्ति । 

सामाजिक परिवेशले नीति निर्माण र निर्णय दिने ठाउँमा पुग्न पुरुष भन्दा महिलालाई अतिरिक्त मेहनतको आवश्यक्ता पर्छ । हो त्यहि अतिरिक्त मेहनतसँगै वादी समुदायको गाँस वास र कपासका लागि अघि बढिन् उमादेवी । उमादेवी नेतृत्वको ४८ दिने आन्दोलनमा वादी समुदायले आमाको नाममा जन्मदर्ता र नागरिकता, स्थायी बसोबास, यौन पेशाको अन्त्य, निः शुल्क शिक्षा, एचआईभी एड्स परिक्षण, छुवाछुतको अन्त्य लगायतका मागहरु अघि सारेका थिए । 

त्यो मध्ये आमाको नाममा जन्मदर्ता र नागरिकताले व्यापक चर्चा त पायो नै । यो सँगे उनको आन्दोलनले पनि सफलता प्राप्त गर्यो । उनको माग सम्बोधन भयो । राज्यले आमाको नामबाट सन्तानले जन्मदर्ता र नागरिकता पाउने कुरा संवैधानिक ग्यारेन्टी नै गर्यो । उनले थालेको यो अभियानले केवल वादी महिला मात्रै होइन सबै महिलाले अधिकार प्राप्त गरे । 

मन्त्रिपरिषद्ले २०६५ पुस २३ गते यौन पेशामा लागेका वादी महिलालाई आत्मसम्मानका साथ पुनर्सथापना गर्ने निर्णयो गर्यो । उनको अगुवाइमा २०५५ सालमा सामुदायिक सहयोग नामक गैरसरकारी संस्था स्थापना भयो, उनी संस्थापक उपाध्यक्ष भइन् । यस संस्थाले वादी समुदायका हकहितमा काम गर्दै आएको छ । 

 

७.आमाघरकी आमाः दिलशोभा श्रेष्ठ 

दिलशोभा श्रेष्ठ आमा, बुबा तथा बालबालिकाहरु सडकमा माग्दै हिँडेको देख्न सक्दिनन् । दीलशोभाले सन्तानबाट अपहेलित भई टुहुरा भएका आमाहरुको उद्धारका लागि आमाघर सञ्चालनमा ल्याएको २१ वर्ष भयो । सेवा नै धर्म हो भन्ने भावनाले पाँच वृद्ध आमा र दुई बालकलाई पालनपोषण गरी २०५४ सालमा समाज सेवाको थालनी गरेकी उनलाई पतिको साथ छैन । 

छोरा नपाएको भन्दै श्रीमानबाटै घरबाट निकालिएकी उनी यसैलाई नै आफ्नो अहोभाग्य ठान्छिन् । सडकमा बेवारिसे अवस्थामा रहेका वृद्धाहरुलाई आश्रय दिने दिलशोभाको संस्थामा बस्न कुनै सरकारी निकायको सिफारिस चाहिँदैन । दिलकी धनी दिलशोभाले वृद्धा आमाहरुको लालनपालन मात्रै गर्दिनन,मृत्यु हुँदा घाटमा समेत आफैँ जान्छिन्, दागवती दिन्छिन्, काजक्रिया समेत आफैँ गर्छिन् । उनलाई यस्ता कार्यमा कुनै झिँजो लाग्दैन । दिल लगाएर खट्छिन् वृद्धा आमाहरुको सेवामा । 

आफ्नै पीता हर्षनारायण गोपालीको प्रेरणाबाट गरीब, दीन–दुःखीहरुको सेवा गर्नुपर्छ भन्ने प्रेरणा पाएकी उनले श्रीमान् पुष्करलाल श्रेष्ठबाट धोका र हण्डर खाएकी थिइन् । श्रीमानले छोडेपछि समाजको अवहेलनाले दुई पटक सम्म विष पिउने निर्णयमा पुगेकी उनलाई सायद भगवानले बचाए, बेवारिसे आमाहरुको सुषुश्राका लागि । आमालाई मात्र होइन उनले कयौँ द्वन्द्वपीडित बालबालिकाको भविष्य पनि उज्जवल बनाइदिएकी छिन्, पालनपोषण गरेकी छिन् । उनले आमा र बालबालिकासँगै बुवाहरुलाई पनि आफ्नो आश्रयमा राखेकी छिन् । 

एउटी नारी, सम्झनुस् त पतिले छोडेपछि कति पीडामा हुन्छिन् । तै पनि उनले आफूलाई सम्हालिन् । पुरुषविना पनि अघि बढ्न सकिन्छ भन्ने नमुना बनिन् दिलशोभा । उनले विभिन्न राष्ट्रहरुबाट सम्मान समेत पाएकी छिन् । 

 

८. ‘शक्ति समूह’ की सुनीता दनुवार 

मानव बेचबिखनविरुद्ध सक्रिय रहेको संस्था शक्ति समूह, नाम त सबैले सुन्नुभएकै हुनुपर्छ । ‘शक्ति समूह’ कि शक्तिशाली सञ्चालक हुन् सुनीता दनुवार । २०५३ सालमा भारतको मुम्बईमा बेचिएर भागेकी सुनीता ०७३ मा एक पुस्तक निकालिन्, मुम्बईका कोठीमा बितेका काला दिनहरु समेटिएको ‘आँशुको शक्ति’ । आँशुको शक्तिमा उनले मेटेर मेट्न नसकिने कोठीका काला भोगाईहरुको इतिहास कोरेकी छिन । 

भारतको मुम्बई बेचिएकी उनी त्यहाँबाट भाग्न सफल भएपछि चेलिबेटी बेचबिखन तथा मानव बेचबिखनको विरुद्धमा संगठित रुपमा लागिन् । नेपालमा मानव बेचबिखनविरुद्धको संघर्षमा आफ्नो जीवन समर्पित गरेकी सुनीतालाई अमेरिकी विदेश मन्त्रालयले २०१८ को ‘टिप हिरो’ अवार्डबाट सम्मान गर्यो । शक्ति समूहले विपन्न तथा ग्रामीण नेपाली समुदायहरुमा मानव बेचबिखनबारे जनचेतना बढाउने, पीडितको संरक्षण गर्ने, दृष्टिकोण सकारात्मक बनाउने, दोषीलाई सजाय दिलाउने लगायतका कार्यहरु गर्दै आएको छ । नेपालमा मानव बेचबिखनमा मन्दी छाउनु तथा निष्किृय हुनुमा उनको महत्वपुर्ण योगदान छ । 

 

९. गायिका अन्जु पन्त 

गायिका अन्जु पन्तले सांगीतीक क्षेत्रमा छोटो समयमै आफ्नो बेग्लै पहिचान बनाएकी छिन् । सयौँ सांगीतिक एल्बममा आवाजको जादु छरिसकेकी अन्जु पन्त काठमाडौँ नजिक फर्फिङका विष्णु पन्त र पाँचथर अठराईकी मनु योञ्जनकी छोरी हुन् । 

एकल संघर्षबाट सांगितिक क्षेत्रमा आफ्नो बेग्लै छवि बनाएकी गायिका अन्जु पन्तले करिब १५ सय जति गीतमा आफ्नो स्वर भरिसकेकी छिन् । विवादमा आएर चर्चा कमाउनुभन्दा आफ्नो कला र गलाले चिनियोस् भन्ने धारणा राख्ने उनी धेरै पटक विवादमा आइन्, तर आफ्नो संघर्ष र सांगितिक यात्राबाट पछि हटिनन् । 

जुनसुकै क्षेत्रमा पनि महिलालाई अघि बढ्नका लागि निकै संघर्ष र मेहनतको आवश्यकता हुन्छ । ती संघर्ष, समस्याहरुसँग हिम्मत नहारी जुध्दै उनी अघि बढीन् । सुमधुर स्वरकी धनी पन्तको पहिलो गीत मनमा मनवा मन नै योगी नामको भजन हो । उनले यही भजनबाटै आफ्नो सांगितिक जीवनयात्रा शुरु गरेकी हुन् । उनकै संघर्ष, मेहनत र प्रयासले आज उनी संगीत प्रेमीहरुको मन मुटुमा बस्न सफल भएकी छिन्, सांगितिक दुनियाँमा आफ्नो बेग्लै पहिचान बनाउन सफल भइसकेकी छिन् । 

यी त केही प्रतिनिधि पात्र मात्रै हुन् । संघर्षलाई निरन्तरता दिएर आफ्नो मनोबल उच्च बनाई कमजोर मानसिकताबाट सधैँ टाढा रहेको खण्डमा पुरुषसरह सबै क्षेत्रमा नारी पनि अगाडी बढ्न सक्छन् भन्ने उदाहरण हो यो । अहिले नेपालमा धेरै महिलाहरु आफ्नै संघर्षले राष्ट्रको विभिन्न पदमा पुगेर पुरुषसरह आम जनताको सेवा गरिरहेका छन् । कला, साहित्य, समाज सेवा, मनोरञ्जन लगायतका क्षेत्रमा पनि महिला अग्रसरता बढेको छ । 

  

  

  

  

  

  

  

  

  

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *