नेकपाका प्रमुख सचेतक देवप्रसाद गुरुङले भने, ‘एनसेलबारे सर्वोच्चको आदेश गलत छ’

भदौ २२, काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रमुख सचेतक देवप्रसाद गुरुङले एनसेलको पुँजीगत लाभकरबारे सर्वोच्च अदालतको आदेश गलत भएको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन् ।   

आइतबारको प्रतिनिधि सभाको शून्य समयमा बोल्दै सचेतक गुरुङले एनसेलबारे सर्वोच्च अदालतले गरेको फैसलाले अर्बौँको कोषको घोटाला गराएको बताए ।   

उनले भने, ‘सर्वोच्च अदालतको पछिल्लो आदेशले ०७५ माघ २३ गते सर्वोच्चको वृहत इजलाशले गरेको आदेशको उल्लंघन गरेको छ । यो आदेशको विरुद्धमा सरकारका तर्फबाट तुरुन्तै पुनरावलोकन गर्न जरुरी छ ।   

एनसेलबारे सर्वोच्चको आदेशमाथि संसदमै उठाइयो प्रश्न, देव गुरुङले भने– सर्वोच्चको आदेश गलत

यसअघिको संसद बैठकमा नेकपाकै अर्का सांसद शेरबहादुर तामाङले पनि सर्वोच्चले एनसेलबारे गरेको फैसलामाथि सवाल उठाएका थिए ।   

उनले  ‘यो विषय संसदको ध्यानमा छ । संसदको आँखामा छ । यो कुनैपनि बेला सांसदले संसदको छानविनको विषय बनाउनु नपरोस् । त्यसैले छिटो भन्दा छिटो सम्बन्धित पक्षहरुले यो विषयमा ध्यानाकर्षण गरेर यो उठ्नुपर्ने कर छिटोभन्दा छिटो उठाउनका लागि ठूला करदाता कार्यालयले शतप्रतिशत जरिवाना लगाउनुपर्छ । नियम पालना नगरे नेपालको कानुन अनुसार दण्डित गर्नुपर्छ’, भनेका थिए ।   

भदौ ९ गतेको सर्वोच्चको बृहत पूर्ण इजलासले ठूला करदाता कार्यालयले आयकर ऐनको दफा १२० (क) अनुसार निर्धारण गरेको कर खारेज गर्ने फैसला गरेको थियो । सर्वोच्चको बृहत पूर्ण इजलासले एनसेललाई लाभकर ३९ अर्ब ६ करोड ६ लाख ८४ हजार ८ सय १५ रुपैयाँ निर्धारण गर्दै एक हप्ताभित्र बुझाउन पत्रचार गर्ने ठूला करदाता कार्यालयको पत्र खारेज गरेको हो । 

न्यायाधीशहरु तेजबहादुर केसी, पुरुषोत्तम भण्डारी, डम्बरबहादुर शाही, सुष्मालता माथेमा र मनोजकुमार शर्माको बृहत पूर्ण इजलासले ठूला करदाता कार्यालयले एनसेललाई आफ्नो कारोबार र सेयरको खरिद बिक्री कारोबारको विवरण एवं सवुद प्रमाण पेश गर्न पर्याप्त मौका नदिई लाभकर निर्धारण गरेको ठहर गरेको थियो ।   

गत शुक्रबार संघीय संसदको कानुन, न्याय तथा मानव अधिकार समितिको बैठकमा पनि एनसेलको आदेशबारे प्रश्न उठेको थियो । त्यसपछि समितिले सर्वोच्च अदालतको आदेशबारे समितिमा छलफल गर्न मिल्ने, नमिल्नेबारे संविधानविद्हरुसँग राय लिने निर्णय गरेको थियो । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *