५ महिने शिशुको मृत्युपछि विजयपुर अस्पतालमा तोडफोडको प्रयास

माघ, २९, धरान । ५ महिने शिशुको मृत्युपछि धरानको विजयपुर अस्पतालमा तोडफोडको प्रयास गरिएको छ । विजयपुर अस्पतालबाट विराटनगर रेफर गरिएकी ५ महिने शिशुको बाटोमा लाँदै गर्दा मृत्यु भएपछि अस्पतालमा तोडफोडको प्रयास गरिएको हो ।   

सुनसरी रामधुनी–७ पञ्चायनकी ५ महिने शिशु साहिरा कार्कीको विराटनगर लग्ने क्रममा बाटैमा मृत्यु भएको आफन्तले बताएका छन् । रेफर गर्नुपर्ने बिरामीलाई अस्पतालले ढिलाइ गरिदिँदा साहिराको मृत्यु भएको आफन्तको आरोप छ । 

मृतकका बुबा राजेन्द्र कार्कीले आस्पतालको ढिलाईका कारण छोरीको ज्यान गएको गुनासो गरे । ‘विजयपुरमा ११ बजे लगेको थिएँ, हेर्यो, त्यतिखेरसम्म राम्रै छ, बच्चाले आमाको दूध पनि खाइरहेकै थियो’ कार्कीले भने, ‘त्यसपछि वार्डमा लग्यो, डाक्टरले दबाइ लेखिदिएपछि नानी साह्रो भयो ।’ 

मृतकका मावलीपट्टीका हजुरबुबा श्रीबहादुर बस्नेतले उपचारमा ढिलासुस्ती गरिदिएका कारण ज्यान आरोप लगाए । ‘सक्दैनथ्यो भने सकिदैन भनेर चाँडै बिदा गरिदिएको भए हुन्थ्यो नि१’ उनले भने, ‘उसैको ढिलाइले बच्चीको ज्यान गयो ।’ 

यता अस्पताल प्रशासनले भने बच्चीलाई यसअघि पनि उपचारको लागि ल्याइएको र उालाई मुटुको समस्या देखिएको बताएका छ । मुटुको समस्या भएको नानीमा निमोनिया देखिएपछि जटिल बनेको अस्पताल प्रशासनको भनाई छ । उपचारका लागि बच्चीलाई ल्याएपछि जाँच गर्दा निमोनिया साथै मुटुमा पनि समस्या भएको पाइएपछि तत्काल पिआइसियुमा राख्न भन्दै रेफर गरिएको अस्पतालका सञ्चालक प्रभाव खतिवडाले बताए । 

उनका अनुसार आज बिहान ११ बजे छलफल गर्ने गरी अभिभावकलाई घर पठाइएको र बच्चाको शव बीपी प्रतिष्ठानको मर्चरीमा राखिएको छ । अस्पतालमा तनाव भएपछि प्रहरीले सुरक्षा दिएको छ ।  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *